भारतका विभिन्न स्थानबाट उद्धार गरी नेपाल ल्याइएका १० जना बालबालिकालाई परिवारको जिम्मा लगाइएको छ।
प्रहरीले भारतमा जोखिमपूर्ण क्षेत्रमा काम गर्न लगिएका १५ जना बालबालिकालाई उद्धार गरी नेपाल ल्याइएको थियो। तिनैमध्ये १० जनालाई बुधबार भैरहवामा अभिभावकको जिम्मा लगाइएको हो।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार भारतस्थित नेपाली राजदुतावास र भारतीय प्रहरीसँगको सहकार्यमा मानव बेचबिखन तथा ओसारपसारविरूद्ध भारतको दिल्लीमा कार्यरत संस्था ‘किन इन्डिया’को पहलमा भारतका विभिन्न स्थानबाट उनीहरूलाई उद्धार गरिएको थियो।
उद्धार गरिएकामध्ये १० जना बालक र पाँच जना बालिका छन्।
‘किन इन्डिया’ का निर्देशक नवीन जोशीका अनुसार मदरसामा पढाउन लैजाने, पारिवारिक विग्रह, घरेलु झैझगडा तथा पारिवारिक यौन हिंसा लगायत कारणले ती बालबालिकालाई अवैध रूपमा भारत पुर्याइएको थियो।
जोशीले केही बालिका दिल्लीको रेलवे स्टेशनमा अलपत्र अवस्थामा फेला परेको बताए।
यसरी ल्याइएका कतिपय बालबालिका घरमा हुने झैझगडा, पारिवारिक विग्रह तथा घरेलु हिंसाका कारण अभिभावकको घर फर्कन इच्छुक नदेखिएकोले उनीहरूको सुरक्षा र आवश्यकताअनुसार वैकल्पिक व्यवस्थापन गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ।
उद्धार गरी अभिभावकको जिम्मा लगाइएका बालबालिकामध्ये महोत्तरीको सम्सी गाउँपालिकाका मात्र ६ जना बालक छन्। मदरसामा पढाउने भन्दै महाराष्ट्रको जलान जिल्लामा पुर्याइएका ती बालकलाई त्यहास्थित एक मदरसामा जोखिमपूर्ण अवस्थामा रहेको जानकारी पाएपछि महाराष्ट्र प्रहरीको समन्वयमा छापा हानेर उद्धार गरिएको थियो।
त्यस्तै पश्चिम नवलपरासीको प्रतापपुर, रौतहट, झापा र पर्साका एक–एक जना बालिकालाई पनि अभिभावकको जिम्मा लगाइएको छ।
भारतबाट उद्धार गरी नेपाल ल्याइएका अन्य बालबालिकामा पाल्पाका दुई जना बालक, अछाम र कञ्चनपुरका एक–एक जना बालक तथा सिराहाकी एक बालिका छन्।
भारतस्थित नेपाली राजदूतावास र भारतीय प्रहरीसँगको समन्वयमा महाराष्ट्र, दिल्ली, झारखण्ड र बिहारबाट उनीहरूको उद्धार गरिएको हो।
उद्धारपछि स्वदेश फिर्ती, मानसिक परामर्श, आवास सुविधा, अभिभावकको खोजी तथा पारिवारिक पुनस्र्थापनाका लागि ‘किन इन्डिया’सँग शुभअवसर ग्राम नेपाल र गुड सेफर्ड इन्टरनेशनल फाउण्डेशन नेपालले सहकार्य गर्दै आएका छन्।