विनाशकारी बाढीका कारण पढाइ प्रभावित भएका रसुवाको स्याफ्रुबेँसीका ५८ जना विद्यार्थीलाई काठमाडौंको डल्लुस्थित श्री गीता माता माध्यमिक विद्यालयमा अस्थायी भर्ना गरिएको छ।
कक्षा १ देखि १० सम्म भर्ना भएका विद्यार्थीमध्ये २१ जना छात्र र ३७ जना छात्रा छन्।
बाढीका कारण प्रभावित विद्यार्थीको शिक्षालाई निरन्तरता दिन तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले विभिन्न निकायको सहकार्यमा उनीहरूलाई विद्यालयमा अस्थायी रूपमा भर्ना गरिएको हो।
विद्यालयले विद्यार्थीलाई आत्मीय स्वागत गर्दै विद्यालय झोला, शैक्षिक सामग्री, जुत्ता, मोजा तथा भित्री पोसाक उपलब्ध गराएको छ।
विद्यार्थीको शैक्षिक खर्च काठमाडौं महानगरपालिकाले व्यहोर्नेछ भने आश्रयस्थलबाट विद्यालयसम्म आउजाउका लागि एलआरआई विद्यालयले यातायात सहयोग गरेको छ। विद्यार्थीको पुनर्स्थापना तथा पढाइ निरन्तरताका लागि आवश्यक अन्य सहयोग करुणा फाउन्डेसन नेपालले उपलब्ध गराएको जनाएको छ।
विपद्का कारण लामो समय पढाइबाट टाढा भएका बालबालिकालाई पुनःविद्यालयमा फर्काउनुले उनीहरूको दैनिक जीवनलाई सामान्य अवस्थामा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नियमित पढाइसँगै खेलकुद, साथीभाइ तथा विद्यालयका गतिविधिमा सहभागी हुने अवसरले नयाँ वातावरणमा घुलमिल हुन पनि सहयोग पुग्ने जनाइएको छ।
बाढी प्रभावित भएकै कारण कुनै पनि बालबालिका शिक्षाको अवसरबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले स्थानीय सरकार, शैक्षिक संस्था र करुणा फाउन्डेसन नेपालबीच सहकार्य गरिएको हो।