दाङमा करेन्ट लागेर एकै परिवारका तीन जनाको मृत्यु भएको घटनामा पीडित परिवारलाई जनही ८ लाख रुपैयाँ राहत दिने सहमति भएको छ।
राहत दिने सहमति भएसँगै पीडित पक्षले बन्द गरेको पूर्व-पश्चिम राजमार्ग खुलेको छ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका–३ मसुरियामा पीडित पक्षले आइतबार मध्यान्हदेखि राजमार्ग बन्द गरेका थिए।
इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक उज्वलबहादुर सिंहका अनुसार बीमा बापत जनही पाँच-पाँच लाख, जिल्ला विपदबाट जनही दुई-दुई लाख र प्रदेश विपदबाट जनही एक–एक लाख रुपैयाँ दिने सहमति भएको हो।
शनिबार दिउँसो ११ केभीको हाइटेन्सन लाइनको तार एकाएक चुडिएर शरिरमाथि खस्दा राप्ती गाउँपालिका–३ का ६० वर्षीय गोरखबहादुर केसी, उनकी ५५ वर्षीया श्रीमती दिलसरा केसी र ३ वर्षीय नाति कृष्ण केसीको मृत्यु भएको थियो।
दिलसरा र कृष्णको घटनास्थलमा मृत्यु भएको थियो। गोरखबहादुरको उपचारको क्रममा मृत्यु भएको थियो।