उदयपुरको सुनकोशी नदीमा पौडी खेल्नेक्रममा बेपत्ता भएका तीन जना बालबालिकालाई खोज्न गोताखोर परिचालन गरिएको छ।
आइतबार होली खेलेर त्रियुगा नगरपालिका वडा नम्बर १४ ढाप्लाङस्थित नदीमा पौडी खेल्न गएका तीन जना बालबालिका बेपत्ता भएपछि सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
त्रियुगा-१४ साउनेकी १२ वर्षीया रेखा मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीय लोकबहादुर मगर बेपत्ता छन्।
आइतबार साँझ अबेरसम्म सशस्त्र प्रहरी बल नम्बर ५ त्रियुगा गण उदयपुरबाट उनीहरूको खोजी गरिएको थियो। तर फेला पर्न सकेनन्।
सोमबार बिहान कोशी प्रदेशस्थित नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमान्डमा ९ जना गोताखोर सहितको टोली परिचालन भएको छ।