‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत सशस्त्र प्रहरी बल नेपालले २४ सै घण्टा सीमा क्षेत्रमा गस्ती परिचालनको लागि ‘सीमा पैदल गस्ती परिचालन सम्बन्धी अवधारणा पत्र, २०८०’ तयार गरी लागू गरेको छ।
अन्तर्राष्ट्रिय सीमा इलाकामा एक प्लटुन सशस्त्र प्रहरी बल नेपालको फौज परिचालन मार्फत सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो अवधारणा पत्र तयार गरी लागू गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
यो लागु भएसँगै अब प्रत्येक प्रदेशमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा एक प्लटुन टोली २४ सै घण्टा सीमा गस्तीमा तैनाथ रहनेछ।
सीमासँग जोडिएका जिल्लाहरूका सीमा स्तम्भ तथा दशगजा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजश्व चुहावट नियन्त्रण तथा गैह्रकानूनी गतिविधि नियन्त्रण गर्न थप प्रभावकारी बनाउने उद्देश्यले यो अवधारणा पत्रसहित फौज परिचालन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।
यसले गर्दा सशस्त्र प्रहरी बल र छिमेकी मित्रराष्ट्रसँग समन्वय र सहकार्यमा समेत सहयोग पुग्ने आशा रहेको छ।
सीमा गस्ती अन्तर्गत प्रत्येक बाहिनीले गण, गुल्म, प्रस्तावित सीमा सुरक्षा गुल्म, बिओपी र बेशहरू समेतको जनशक्ति समावेश गरी सीमा क्षेत्रको दशगजा ईलाकामा बन्दोवस्तीका सामग्रीसहित परिचालन हुनेछ।
एक जिल्लाबाट अर्को जिल्लामा क्रस गस्ती संचालन गर्ने तथा सीमा पैदल गस्तीले अर्को गस्तीसँग लिंंकअप गरी गस्तीलाई चक्रको रूपमा निरन्तरता दिनेछ।
आवश्यकता बमोजिम स्थानीयवासी, जनप्रतिनिधि, अन्य निकाय तथा समकक्षीहरूसँग भेटभाट, अन्तरक्रिया, विपद् जोखिम न्यूनिकरण, मानव बेचविखन तथा सीमा अपराध सम्बन्धी सचेतनामुलक कार्यक्रम गर्नुकासाथै तराईका जिल्लाहरूमा मात्र नभई समयको अनुकूलता हेरी अन्य सीमावर्ती जिल्लाहरूमा समेत सीमा पैदल गस्ती गरिने छ।
सीमा पैदल गस्ती सम्बन्धी अवधारणा तयार पारे लगत्तै मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले यसको सुरूवात गरेको छ।
जसअनुसार नं. १३ गण पर्साले सीमा सुरक्षाको संवेदनशिलतालाई मध्यनजर गर्दै पैदल गस्तीको सुरूवात गरेको छ। अन्य सुरक्षा निकाय, स्थानीय प्रतिनिधि, सीमावासी नागरिक तथा भारतीय समकक्षीको उपस्थितिमा सो गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्यले पैदल गस्तीको सुरूवात गरेका हुन्।
गस्तीमा तैनाथ कमाण्डरसँग स्थायी रूपमा ९७६७७२१४१५ नम्बरमा सम्पर्क गर्न सकिने छ। कमाण्डर बदलीपश्चात पनि सोही नम्बर उपलब्ध हुनेछ। यसले सीमावासीहरूलाई सम्पर्क र समन्वयमा सहयोग पुग्ने विश्वास गरिएको छ।