काठमाडौं महानगरपालिकाले चक्रपथ सुधार आयोजनाबारे राखेको सूचनापाटी काठमाडौं चक्रपथ सुधार आयोजनाले हटाएको छ।
सडकमा राखेको सूचनापाटी हटाउन दिएको समय अवधि सकिएपछि आफैंले चैत ६ गते उक्त सूचनापाटी हटाएको काठमाडौं चक्रपथ सुधार आयोजना प्रमुख कृष्णनाथ ओझाले जानकारी दिए।
उनका अनुसार चैत २ गते सडकमा राखेको होर्डिङ बोर्ड तीन दिनभित्र हटाउन महानगरलाई निर्देशन दिइएको थियो।
'उहाँहरूले अल्टिमेटम सकिएपछि पनि सूचनापाटी नहटाएपछि हामीले भोलिपल्ट हटाएका हौं,' उनले भने, 'हामीले छ वटा सूचनापाटी हटाएका छौं।'
मंगलबार उक्त नोटिस बोर्ड चोरी भएको भन्दै काठमाडौं जिल्ला प्रहरी परिसरमा महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले निवेदन दर्ता गराएका थिए।
काठमाडौं महानगर क्षेत्रभित्र समेत रहेको कलंकीदेखि महाराजगञ्जसम्मको चक्रपथ सुधार आयोजना समयमै सम्पन्न नभएको महानगरमा जनगुनासो आएकाले सूचनापाटी राखिएको महानगरले जनाएको थियो।
‘उक्त चक्रपथ सुधार आयोजना अस्तव्यस्त भएबाट महानगरवासीलाई पर्न गएको असुविधा समेतलाई सम्बोधन गर्ने उद्देश्यले कलंकीदेखि बसुन्धरासम्मका नौ स्थानहरूमा काठमाडौं महानगरपालिकाले जनतालाई सु–सूचित गर्ने उद्देश्यले सूचना बोर्ड राखिएको थियो। उक्त सूचना बोर्डमा आयोजनाः चक्रपथ सुधार आयोजनाको दोस्रो फेज (कलंकी–महाराजगञ्ज), चक्रपथ सुधार आयोजनाको निर्माण जिम्मेवार नेपाल सरकार र साङ्घाई कन्स्ट्रक्सन कम्पनी समेत उल्लेखित रहेको थियो, सो बोर्डहरू हाल उक्त स्थानहरूमा नरहेकोले चोरी भएको सम्बन्धमा आवश्यक छानबिन/अनुसन्धान गरी दोषी उपर हदैसम्मको कारबाही गरी दिनुहुनु निर्देशानुसार अनुरोध गरिन्छ,’ पत्रमा भनिएको थियो।
यसअघि चैत २ गते काठमाडौं चक्रपथ सुधार आयोजनाले तीन दिनभित्र सडकमा राखेको होर्डिङ बोर्ड हटाउन निर्देशन दिएको थियो। स्वीकृतिबिना सडक सीमाभित्र होर्डिङ बोर्ड राखिएको भेटिएको भन्दै उसले हटाउन भनेको थियो।
चिनियाँ कम्पनी ‘सांघाई कन्स्ट्रक्सन’ले २०७० सालदेखि काठमाडौंको चक्रपथ विस्तारको काम अघि बढाएको हो।
पहिलो चरणअन्तर्गत कलंकी–कोटेश्वर खण्डको साढे १० किलोमिटर सडक विस्तार भइसकेको छ।
तर दोस्रो फेजको काम सुरू नै हुन सकेको छैन।
सरकारी पक्षले प्रभावकारी समन्वय नगरेको निर्माण कम्पनीले बताउँदै आएको छ।
यो पनि:
काठमाडौं चक्रपथ सुधार आयोजनाले भन्यो- तीन दिनभित्र होर्डिङ बोर्ड हटाउनू
चक्रपथ सुधार आयोजनाबारे राखिएको सूचनापाटी चोरी भएको भन्दै काठमाडौं महानगरले दियो उजुरी