आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कर्णाली प्रदेशबाट सहभागी हुने विद्यार्थीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा घटेको छ।
यस वर्ष ३५ हजार ८०८ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुने भएका छन् ।
गत वर्ष ३८ हजार ९७० जना विद्यार्थीले एसइई दिएका थिए । गत वर्षको तुलनामा यो वर्ष तीन हजार १६२ जनाले घटेको हो ।
प्रदेश शिक्षा विकास निर्देशनालयका अनुसार यो वर्ष एसइईमा सहभागी हुने परीक्षार्थीमध्ये १७ हजार ६२३ छात्र र १८ हजार १५८ छात्रा छन् । परीक्षाका लागि प्रदेशभर १८६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
जिल्लागत विवरणअनुसार सबैभन्दा धेरै सुर्खेतबाट ८ हजार ३४८ विद्यार्थीले एसइई दिँदैछन् । यहाँ ३३ वटा परीक्षा केन्द्र तोकिएको छ । रुकुम पश्चिममा २३ वटा परीक्षा केन्द्र छन् भने तीन हजार ५९३ परीक्षार्थी छन् ।
चार हजार ५८२ परीक्षार्थी रहेको सल्यानमा २५ वटा परीक्षा केन्द्र तोकिएको छ ।
हिमाली जिल्लामा विद्यार्थीको सङ्ख्या निकै न्यून रहेको छ । सबैभन्दा कम डोल्पामा जम्मा ७३३ विद्यार्थीले एसइई दिँदैछन् । यहाँ चार वटा मात्रै परीक्षा केन्द्र तोकिएको छ ।
जाजरकोटमा २२ परीक्षा केन्द्रमा चार हजार ६९४ परीक्षार्थी, दैलेखमा २५ परीक्षा केन्द्रमा पाँच हजार २५७ परीक्षार्थीले एसइई दिँदैछन् ।
हुम्लामा ६ वटा परीक्षा केन्द्र छन् ।
परीक्षार्थी एक हजार १९५ छन् ।
मुगुमा ८ वटा परीक्षा केन्द्र र एक हजार ११३ परीक्षार्थी छन् । यस्तै, २४ वटा परीक्षा केन्द्र रहेको कालीकोटमा तीन हजार ७३६ परीक्षार्थी छन् ।
जुम्लामा दुई हजार ५५७ परीक्षार्थीका लागि १६ परीक्षा केन्द्र तोकिएको छ।
शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले कर्णालीमा एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए।