काभ्रेमा होलीदेखि हराएका एक बालक झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
काभ्रेको नमोबुद्ध नगरपालिका-५ डाँडागाउँका १३ वर्षीय सुनिप तामाङ घरदेखि ४ किलोमिटर परको जंगलमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी राजकुमार श्रेष्ठका अनुसार सुनिप गत आइतबारदेखि घरबाट हराएका थिए।
उनका परिवारहरू प्रहरीले उजुरी नदिई आफैं खोजी गरिरहेकोमा हिजो राति घरबाट केही पर भण्डारखोला नजिक पाखामा उनकै ठूलाबाले देखेपछि प्रहरीलाई खबर भएको डिएसपी श्रेष्ठले जानकारी दिए।
उनको शव सड्न सुरू भइसकेको अवस्थामा भेटिएको उनले बताए।
शव परीक्षणपश्चात मात्रै घटना शंकास्पद हो होइन थाहा हुने उनको भनाइ छ।
मृतकको शव पोस्टमर्टमका लागि अहिले धुलिखेल अस्पतालमा राखिएको डिएसपी श्रेष्ठले जानकारी दिए।