पर्सामा अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ स्थित एक घरमा डेरामा प्रहरीले शनिबार छापा मारेर तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमारबिक्रम थापाले जानकारी दिए।
पक्राउ पर्नेमा हुनान प्रान्तका ३३ वर्षीय लुई गुई काई, हुबेइका २६ वर्षीय वाङ बोहान र २६ वर्षीय सियाङ सिओ छन्।
अनलाइन लटरी, अनलाइन सपिङ जस्ता विभिन्न प्रकारको प्रलोभन देखाएर नेपाली तथा विदेशीहरूबाट रकम ठगी गरिरहेको भन्ने सूचना प्रहरीलाई थियो।
सूचनापछि प्रहरीको इन्टिलिजेन्स टोलीले यसको थप अनुसन्धान गरेको थियो। चिनियाँ नागरिकहरूमाथि निगरानी गरी प्रहरीको टोली उनीहरू बस्ने डेरामा पुगेको थियो।
उनीहरूबाट १२० वटा सिपियू, ११८ वटा मनिटर, तीन वटा पासपोर्ट, ३५ वटा मोबाइल, १३ वटा भारतीय जियो सिम, चार वटा ल्यापटप, प्रिन्टर, २६ वटा किबोर्ड लगायत बरामद भएको छ।
त्यस्तै मलेसियन रिंगिट, नेपाली गरी ४३ हजार रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ।
उनीहरूले कसरी ठगी गरे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। भारतीय बैंकमार्फत कारोबार गरेको देखिएको डिएसपी थापाले बताए।
प्रहरीले भारतमा पनि सम्पर्क गरी अनुसन्धान गर्ने तयारी गरिरहेको छ।
यसअघि यसरी विभिन्न उपकरणहरू राखेर चिनियाँ नागरिकहरू कल सेन्टर सञ्चालन गर्ने गर्थे। नेपालमा बसेर भारतीय नागरिकलाई छोटो समयका लागि ऋण उपलब्ध गराउने र पछि समयमा फिर्ता नगरे मानसिक यातना दिने गरेको खुलेको थियो। अनलाइनमार्फत ठगी गरेको आरोपमा चिनियाँहरू पटकपटक पक्राउ पर्ने गरेका छन्।