सर्लाही प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
मलंगवा बजारमा स्रोत नखुलेको नगद रकमसहित हुण्डी कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधी ज्ञवालीले दुई जनालाई स्रोत नखुलेको २७ लाख ७५ हजार ६ सय ७० नगदसहित पक्राउ गरेको बताए। एसपी ज्ञवालीका अनुसार पक्राउ पर्नेमा वर्ष २४ को कमर राजा र ४० वर्षका आरिफ अंसारी छन्।
प्रहरी टोलीले सूचनाको आधारमा कमरको साथबाट कालो रङको झोलामा नगद १ सयका एक हजार थान गरी १० लाख र लक्ष्मी सनराइज बैंकको ९ लाख ९० हजार जम्मा गरेको २ वटा भौचर समेत बरामद गरेको थियो।
प्रहरीले अनुसन्धानको क्रममा उक्त रकम आरिफ अन्सारीको रहेको र उक्त आरिफ अन्सारीले सञ्चालन गरेको फोन सिटी मोबाइल पसलमा छापा मार्दा खैरो रङको कपडाको झोलाभित्र कालो प्लाष्टिकमा लुकाइलुकाइ छिपाइ राखेको अवस्थामा १ सयको दरको नोट १ हजार ४ सय ५४ थान गरी १४ लाख ५४ हजार, ५ सयको नोट ६सय २२ थान ३ लाख ११ हजार १ सयको नोट १ सय ९ थानमा १० हजार९ सय गरी १७ लाख ७५ हजार ९ सय ७० गरी जम्मा २७ लाख हजार ९ सय बरामद गरेको छ।
प्रहरी स्रोत अनुसार आरिफ अंसारी मानव तस्करी र अवैध सुन कारोबारी समेत रहेको खुलेको छ।
उनीहरूमाथि प्रहरीले नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत कसुरमा अनुसन्धान अघि बढाएको छ। उनीहरूलाई हिरासतमा राख्न जिल्ला अदालत सर्लाहीमा प्रहरीलाई अनुमति दिएको छ।