पर्वतमा दम्पतीको हत्या घटनामा मृतकले लगाएका सुनका गहना लुटिएको खुलेको छ।
मंगलबार बिहान जलजला गाउँपालिका वडा नम्बर २ स्थित दह भन्ने ठाउँमा रहेको एक घरमा श्रीमान र श्रीमती मृत फेला परेका थिए।
६९ सूर्यबहादुर घर्ती र उनकी ६७ श्रीमती गमला घर्तीको हत्या भएको अवस्थामा शव फेला परेको हो।
डिएसपी भुसालका अनुसार यो घटना लुटपाटका लागि भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिन्छ। उक्त घरमा श्रीमान-श्रीमतीमात्रै बस्थे। उनीहरूको घर नजिकै अन्य घरहरू पनि छैनन्।
घटनास्थलबाट मृतक सूर्यबहादुरले लगाउने गरेको सुनको औंठी गायब छ। प्रहरीका अनुसार गमलाले लगाउने गरेको सुनको सिक्री र कानमा रहेको मुन्द्रा भेटिएको छैन।
परिवारका सदस्यले ती सुनका गहना हराएको बताएका हुन्। त्यसकारण उनीहरूको हत्या कसैले लुटपाट गर्ने उद्देश्यले गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक विश्लेषण छ।
यो घटनामा एक जना व्यक्तिको मात्रै संलग्नता हो वा बढीको संलग्नता हो भन्नेबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
‘एक जना व्यक्तिले मात्रै यस्तो घटना गर्न सक्ने सम्भावना अलि कम नै हुन्छ। यसमा दुई/तीन जनाकै ग्रुप पनि हुनसक्छ,’ डिएसपी भुसालले भने, ‘प्रारम्भिक अनुसन्धानबाट लुटपाट गर्नको लागि गरिएको हो जस्तो देखिन्छ।’
प्रहरीले घटनामा प्रयोग भएको हतियार पनि बरामद गरेको छ। प्रहरीका अनुसार हत्या गर्न हँसियाले टाउको र घाँटीमा प्रहार गरेको देखिन्छ।
सूर्यबहादुर खाटमा मृत फेला परेका थिए। गमला भुइँमा घोप्टो परेको अवस्थामा फेला परेकी हुन्।
प्रहरीले मंगलबारदेखि घर परिवार, आफन्त, छिमेकीलगायत विभिन्न व्यक्तिहरूसँग सोधपुछ गरिरहेको छ। तर अहिलेसम्म यसबारे पत्ता लाग्न सकेको छैन।
अनुसन्धानकै लागि प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिमप्राप्त कुकुरसहितको टोली पनि खटाइएको छ। उनीहरूको हत्या सोमबार राति तिरै भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
मृतकका दुई जना छोरा वैदेशिक रोजगारीका लागि कोरियामा छन्। उनीहरूसँग कुराकानी गर्नका लागि घरमा वाइफाइ पनि जोडिएको छ। कोरियाबाट छोराहरूले दैनिकजसो आफ्ना आमा-बाबुलाई फोन गर्छन्।
‘छोरासँग दैनिक कुराकानी हुने रहेछ। माइलो छोराले सधैं फोन गर्ने रहेछन्। त्यो बिहान पनि फोन गर्दा उठेन,’ डिएसपी भुसालले भने, ‘नउठेपछि उताबाट श्रीमतीलाई फोन गर्नुभएछ। उहाँ पर्वतको बेनीमा बस्नुहुन्थ्यो। उहाँले फेरि म्याग्दी बेनी बस्ने जेठीलाई फोन गर्नुभयो।’
यसरी फोन गरेपछि जेठा छोरा र उनकी श्रीमती मंगलबार बिहान आमा-बाबुको घरमा पुगेका थिए।
घरमा ताल्चा लगाइएको थियो। आमालाई फोन गर्दा घरभित्रैबाट रिङ बजेको थियो। भित्रै बजेपछि पसलको ढोकाबाट उनीहरू पसेका थिए। त्यसपछि घटनास्थल देखेपछि प्रहरीलाई बोलाइएको हो।
घरमा लगाइएको ताल्चाको चाबी घरदेखि केही तल फालिएको अवस्थामा फेला परेको छ। प्रहरीले यसमा अनुसन्धान गरिरहेको छ। मृतकका दुबै मोबाइल पनि घटनास्थलमै फेला परेको छ।