कैदी छुटाइदिन्छु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको एसपी नकुल पोखरेलले जानकारी दिए।
पक्राउ पर्नेमा धादिङ घर भई काठामडौं महानगरपालिका वडा नम्बर १३ कलंकी बस्ने ३७ वर्षीय शिशिरकुमार भट्ट छन्।
बैकिङ कसुर, वैदेशिक रोजगार जस्ता विभिन्न मुद्दामा उच्च अदालतको आदेशले डिल्लीबजार कारागार चलान भई थुनामा रहेका कैदीहरूलाई अदालतको सेटिङमा छुटाइदिन्छु भनेर ठगेको आरोप उनीमाथि छ।
उनले कारागारबाट छुटाई दिन्छु भनेर पिडितहरूबाट ९ लाख ८० हजार रुपैयाँ ठगेको आरोप छ। ठगी गरेको उजुरीपछि खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस घटनामा थप अनुसन्धान गर्न उनलाई जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ।