स्थानीयको घरबाट बरामद भएको टल्कने ढुंगा क्वार्ज क्रिष्टल गोरखा दरबारमा राखिने भएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाले गत असार १४ गते गोरखा नगरपालिका वडा नम्बर ७ सतिपिपलस्थित चन्द्रमान शाहीको घरबाट क्वार्ज क्रिष्टल बरामद गरेको थियो।
अहिलेसम्म क्वार्ज क्रिष्टल जिल्ला प्रहरी कार्यालयमै राखिएको छ।
गोरखा नगरपालिकाले सूचना निकालेर शुक्रबार क्वार्ज क्रिष्टल गोरखा दरबारमा प्रतिस्थापन गर्ने उल्लेख गरेको छ। उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सहभागी हुने नगरपालिकाले जनाएको छ।
यसअघि गत साउनमा खानी तथा भूगर्भ विभाग काठमाडौंबाट गएका भूगर्भविदहरूले दुई दिन लगाएर परीक्षणमा गर्दा पारदर्शी ढुंगा क्वार्ज क्रिष्टल भएको पुष्टि गर्दै विभागमा ल्याउनुपर्ने बताएका थिए।
तर गोरखा नगरपालिका र स्थानीय बासिन्दाले क्वार्ज क्रिष्टल गोरखामै राख्नुपर्ने अडान राखेपछि प्रधानमन्त्री दाहालले गोरखामै राख्न निर्देशन दिएका थिए।
क्वार्ज क्रिष्टल गोरखा संग्रहालय वा गोरखा दरबार कहाँ राख्ने भन्नेमा विवाद थियो। जिल्ला प्रशासन र गोरखा नगरपालिकासहित सरोकारवालाहरूको बैठकले दरबारमा क्वार्ज क्रिष्टल प्रतिस्थापन गर्ने निर्णय गरेका थिए।
क्वार्ज क्रिष्टल शाही परिवारले पुस्तौंदेखि देउताका रूपमा पुज्दै आएका थिए। बाजे-बराजुले कहाँबाट ल्याएका हुन् भन्ने शाही परिवारलाई यकिन थिएन। यो पारदर्शी ढुंगालाई कुलदेउताका रूपमा र विभिन्न तिथिहरूमा उनीहरूले पुज्ने गरेका थिए।
प्रहरीले बरामद गरिसकेपछि पनि चन्द्रमानकी श्रीमती राममायाले पटक-पटक प्रहरी कार्यालयमै पुगेर पत्थरलाई पूजा गर्दै आएकी थिइन्।