भोजपुरमा कर्तव्य ज्यान कसुरमा फरार रहेका व्यक्ति १२ वर्षपछि पक्राउ परेका छन्।
अरूण गाउँपालिका वडा नम्बर ४ बस्ने सीताराम राईको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई १२ वर्षपछि पक्राउ गरेको डिएसपी सुदिपराज पाठकले जानकारी दिए।
२०६८ माघ ७ गते सीतारामको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३० वर्षीय सौरभ तामाङलाई पक्राउ गरेको हो।
सौरभलगायत तीन जनाले सीताराममाथि त्यतिबेला चामल चोरी गरेको आरोप लागाएका थिए। त्यसपछि गाउँमा यस विषयमा छलफल गर्न सीतारामलाई बोलाइएको थियो।
तर उनी आएनन्। त्यसैको रिसमा सीताराम घरमा बाँसको चोया काड्दै बसिरहेको बेलामा सौरभसहित तीन जनाले खुकुरी, लाठी, ढुंगा लगायतले हिर्काएर हत्या गरेका थिए।
घटनापछि उनीहरू तीनै जना फरार थिए। सौरभ तराईका विभिन्न स्थानमा केही वर्ष लुकेका थिए। केही वर्ष उनी भारतमा समेत पुगेर झापाको काँकडभिट्टा फर्किएका थिए। उनी त्यहाँको बजार आसपासमा लुकेर बसेका थिए।
यस मुद्दामा भोजपुर जिल्ला अदालतले २०७७ साल फागुन २३ गते उनीसहितलाई जन्म कैद (२० वर्ष) कैद सजाय तोकिएको थियो।
फरार रहेका सौरभलाई खोज्दा प्रहरीले बुधबार काँकडभिट्टाबाट पक्राउ गरेको हो। यसमा संलग्न अन्य दुई जना अझै फरार छन्। उनीहरूको पनि खोजी गरिरहेको प्रहरीले जनाएको छ।
सौरभलाई बिहीबार भोजपुर अदालतमा उपस्थित गराई कारागारमा पठाइसकेको छ।