मकै भनेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ३५० बोरा केराउ रूपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ।
बिहीबार दिउँसो २ बजेतिर रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ सुगरमिल क्षेत्रमा जाँच गर्ने क्रममा उक्त केराउ बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले मकै भनेर ट्रकमा हालेर भारतबाट नेपाल ल्याइएको गरेको केराउ नियन्त्रणमा लिइएको जानकारी दिइन्।
प्रहरी कार्यालयको टोलीले शंका लागि ट्रकमा रहेका बोरा जाँच गर्दा बाहिर वरिपरि ४५ वटा बोरामा मकै र भित्रतर्फ ३०५ वटा बोरामा केराउ भेटिएको प्रहरी नायब उपरीक्षक खनालले बताइन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरले भारतीय नम्बर युपी १५ सिटी ८१८९ को ट्रकमा भन्सार छली गरी ल्याइएको सामग्री आउँदै छ भन्ने सूचनाका आधारमा जाँच गर्दा १५ हजार २५० केजी केराउ र २ हजार ४ सय ७५ केजी मकै बरामद भएको बताए।
बरामद गरिएको मकै र केराउ कसको हो र कहाँ लगिँदै थियो भन्ने नखुलेको प्रहरी उपरीक्षक राठौरले बताए।
बुधबार कपिलवस्तुस्थित सुठौली भन्सार कार्यालयबाट केराउलाई मकै भनेर भन्सार गरी ल्याएको कागजात फेला परेको प्रहरी उनले जानकारी दिए।
बरामद गरिएको मकै र केराउको मूल्य १६ लाख रूपैयाँ छ।
भारतबाट नेपाल ल्याउँदा मकैको भन्दा केराउको भन्सार शुल्क धेरै हुने भएकाले तस्करहरूले केराउलाई पनि मकै भनेर भन्सार गरी ल्याउने गरेका छन्। बरामद गरिएको मकै, केराउ र ट्रकलाई समेत थप अनुसन्धान र कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।
सुठौली भन्सार कार्यालयका प्रमुख नारायण प्रसाद गैरेले भने रूपन्देही प्रहरीले नियन्त्रणमा लिएको भनिएको ट्रकमा बुधवार भन्सार गर्दा मकै लोड गरिएको र सोही अनुसार कार्यालय भन्सार पास गरिदिएको दाबी गरे।
'म दुई-तीन दिनदेखि बिदामा छु। यसबारे थाहा पाएपछि कार्यालयमा सम्पर्क गर्दा बुधबार ट्रकमा मकै नै रहेको र सोही अनुसार भन्सार पास गरिदिएको भन्ने बुझेको छु। भन्सार गरिसकेपछि नेपालबाटै ट्रकमा केराउ लोड गरिएको हुन सक्छ। तर वास्तविकता के हो भन्ने अनुसन्धानपछि नै थाहा होला,' गैरेले भने।
यसअघि जिल्ला प्रहरी कार्यालय रूपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका जाँच गर्ने क्रममा जिल्लाका विभिन्न स्थानहरूबाट भन्सार छलेर चोरीपैठारी गरिएको साढे ३ लाख मूल्य बराबरका विभिन्न सामान बरामद गरेको थियो।
बरामद गरिएका सामानमा माछा, कपडा, प्याज, साडी, बोइलर कुखुरा, चिनी, प्लास्टिकको कुर्ची, बाख्रा लगायत छन्।
प्रहरीले बुधबार र मंगलबार गरी १ सय ७३ बोरा प्याज, ८० किलो माछा, झन्डै ३ सय किलो ब्रोइलर कुखुरा, चिनी, लत्ताकपडा, प्लास्टिकका कुर्ची, बाख्रा लगायत नियन्त्रणमा लिएको हो।
बरामद गरिएका सामान, सवारी साधान तथा सामान ल्याउने व्यक्तिलाई समेत आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।