सुनसरीमा दुईपक्षबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ।
सुनसरीको हरिनगर गाउँपालिकाको भवनमा ठूलो संख्यामा उपस्थित भएको दुई समूहबीच आपसमा झडप भएपछि प्रहरीले हवाई फायर गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी विपिन रेग्मीले भीडलाई तितरबितर पार्नका लागि हवाई फायर गरेको जानकारी दिए।
कति राउन्ड हवाई फायर गरिएको भन्ने यकिन नभएको उनले बताए।
‘भीड एकदम अनियन्त्रित छ, हामीले झगडा छुट्याउन खोज्दा प्रहरीमाथि नै ढुंगामुढा भयो,’ उनले भने।
उनका अनुसार गाउँपालिका भवन क्षेत्रमा २ हजार देखि २५ सय हाराहारीमा मानिसहरू जम्मा भएका छन्।
स्थिति अनियन्त्रित बन्ने खतरा देखेपछि सुनसरी प्रशासनले आज मध्याह्न १२ बजेदेखि लागु हुनेगरी हरिनगर गाउँपालिका र देवानगन्ज गाउँपालिकामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो।
निषेधाज्ञा जारी गरिएपनि स्थिति अशान्त बनेपछि सशस्त्र र नेपाल प्रहरी गरी पाँच सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले जानकारी दिए।
बुधबार एक युवकमाथि निर्घात कुटपीट भएपछि उनलाई प्रहरीले उद्धार गरी अस्पताल पठाएको थियो।
उक्त घटनाले ठूलो रूप लिएपछि दुई समूहबीच झडपको स्थिति सिर्जना भएको सहायक प्रजिअ भट्टराईले बताए।