सुनसरी जिल्लाका जनप्रतिनिधिहरूले हरिनगरमा भएको झडपको घटनाप्रति दुःख प्रकट गर्दै संयम अपनाउन आह्वान गरेका छन्।
शुक्रबार हरिनगरमा भएको झडपप्रति दुःख प्रकट गर्दै सोही क्षेत्रका प्रदेशसभा सदस्य इस्राइल मन्सुरीले झडप र तनावले समाजलाई फाइदा नगर्ने बताएका छन्।
‘हुँदै नहुनुपर्ने दुःखद् घटना भएको छ। म सबै क्षेत्रबासी र जिल्लाबासीहरूमा संयम अपनाउन अपिल गर्दछु,’ सुनसरी-४ प्रदेश सभा क्षेत्र नम्बर २ का सांसद मन्सुरीले भने, ‘घटनाको निष्पक्ष छानबिन गर्न अनि दोषीहरूमाथि कारबाही गर्न मेरो तर्फबाट हरप्रयास रहनेछ। अहिले झडप र तनावले कसैलाई फाइदा गर्दैन। म सबैलाई सद्भाव र संयम अपनाउन अपिल गर्दछु।’
घटनामा घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दै सांसद मन्सुरीले सामाजिक एकता र सद्भाव कायम राख्दै वार्ता र संवादमार्फत् समस्याको हल खोज्नु सबभन्दा सुझबुझपूर्ण कदम हुने पनि बताएका छन्।
‘देशमा कानुन छ, त्यो कार्यान्वयन गर्ने निकाय छ,’ उनले भने, ‘घटनामा के भएको हो छानबिन हुन्छ। दोषीमाथि कारबाही हुन्छ। हामी कोही पनि झडप र तनावतर्फ अग्रसर नबनौं।’
हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतले पनि गाउँबासीलाई संयम अपनाउन आग्रह गरेकी छन्।
‘झडपले तनाव सिवाय केही पनि हासिल हुँदैन,’ उनले भनिन्, ‘यस्तो अवस्थामा हामी सबैले संयम अपनाऔं। झडप र तनावबाट भन्दा संवादबाट समस्याको समाधान खोजौं। म गाउँपालिकाबासी सबैलाई यही अपिल गर्दछु।’
सुनसरीको हरिनगरमा आज दुई समूहबीचमा झडप भएको थियो। केहीबेरअघि कर्फ्यू सुरू भएपछि भीड तितरबितर भएको र झडप नियन्त्रणमा आइसकेको सुनसरी प्रहरीले जनाएको छ।
सुनसरी जिल्ला प्रशासनले हरिनगरसहित जिल्लाका पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेपछि झडप साम्य भएको सुनसरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए। झडपमा १९ प्रहरी र १० जना सर्वसाधारण घाइते भएका छन्।
जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा कर्फ्यू आदेश जारी गरेको छ।
हरिनगर-४ स्थित भुटाहामा दुई समूहबीच झडप भएपछि शुक्रबार हरिनगरको केन्द्र तनावपूर्ण बनेको थियो। घटनास्थलमा प्रहरीले ८० राउन्ड हवाई फायर र ४० सेल अश्रु ग्यास प्रहार गर्नुपरेको थियो।