काठमाडौंको तारकेश्वरमा आयोजित स्वास्थ्य शिविरमा पाँच सय जनाले नि:शुल्क परीक्षण गरेका छन्।
परिवर्तन अभियान नेपालले शनिबार तारकेश्वर नगरपालिका वडा नम्बर ४ स्थित पुरानो गुह्येश्वरी माविमा स्वास्थ्य शिविर गरेको थियो।
पाँच सय जनाले स्वास्थ्य शिविरमा परीक्षण गरेको अध्यक्ष सुशील भट्टले जानकारी दिए।
एसियन मेडिकल स्टुडेन्स एसोसिएसन–नेपालसँगको सहकार्यमा भएको शिविरमा स्थानीयलाई स्वास्थ्यसम्बन्धी परामर्शका साथै स्वास्थ्य परीक्षण र औषधि वितरण गरिएको थियो।
शिविर सुरू हुनुअघि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वास्थ्य मौलिक हकका रूपमा रहे पनि व्यवहारमा लागू हुन नसकेको बताए।
‘संविधानमा हामीले स्वास्थ्य मौलिक हक हो भनेर लेख्न त सक्यौँ। तर संविधानमा लेख्न जति सजिलो भयो त्यसलाई व्यवहारमा प्राप्त गर्ने कुरा त्यति नै कठिन भयो,’ उनले भने।

उनले स्वास्थ्य बिमा अवधारणा बुझाउन नसकिएको पनि बताएका थिए।
कांग्रेस काठमाडौं सभापति सबुज बानियाँले स्वास्थ्य क्षेत्रमा राज्य संवेदनशील बन्नुपर्ने बताएका थिए।