अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका तत्कालीन योजना प्रमुख रहेका इन्जिनियर सरोज भट्टराईविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
उनले लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोप्राइटरसँग ८० लाख रूपैयाँ घुस लिएको भन्दै अख्तियारले उनीविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
भट्टराईले पदीय मर्यादा विपरीतका काम गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरी अख्तियारमा परेको थियो।
अख्तियारले अनुसन्धानको क्रममा इन्जिनियर भट्टराईले आफ्नी आमाको नाममा भक्तपुरको तत्कालीन गुण्डु गाविस वडा ३ हालको सूर्यविनायक नगरपालिका- ७ मा कित्ता नम्बर १३७४ को २ रोपनी ९ आना १ पैसा र कित्ता नम्बर १३७५ को २ आना १ दाम जग्गा खरिद गरेको भेटिएको थियो।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उक्त जग्गा खरिद गर्दा विक्रेताको बैंक खातामा कोषमै काम गर्ने निर्माण सेवाका प्रोपाइटरको खाताबाट पैसा गएको देखिएको छ। ती प्रोपाइटरले जग्गा बिक्रेता र जग्गा खोजिदिनेको खातामा ४०/४० लाख रूपैयाँ जम्मा गरिदिएको अख्तियारले जनाएको छ।
भट्टराई आफैंले प्रत्यक्ष रूपमा नलिई आमा जनकनन्दनी भट्टराईको नाममा जग्गा खरिद गर्दा घुसबापतको रकम प्रयोग गरेको पाइएको अख्तियारको दाबी छ। अख्तियारले दायर गरेको मुद्दामा उक्त जग्गा जफत गर्नुपर्ने भनिएको छ।
त्यस्तै अख्तियारले जनकनन्दनीलाई छोराको कसुरमा मतियार बनेको कारण उनीविरूद्ध पनि मुद्दा दायर गरेको छ। दुवैजना विरूद्ध ८० लाख रूपैयाँ बिगो र कसुरअनुसारको जेल सजाय मागदाबी गरिएको अख्तियारका प्रवक्ता घिमिरेले जानकारी दिए।