डोल्पाको सामुदायिक वनमा सल्किएको डढेलो निभाउन जाँदा घाइते भएका थप दुई जना सैनिकको मृत्यु भएको छ।
नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी कृष्णप्रसाद भण्डारीले उक्त कुराको पुष्टि गरेका हुन्।
‘मृतकहरूको पोस्टमर्टमका लागि टिचिङ ल्याइएको छ,’ उनले भने,‘भोलि पोस्टमर्टम सकिएपछि मृतकको घरमा पुर्याइने छ।’
सोमबार ठूलोभेरी नगरपालिका वडा नम्बर ३ मा सल्किएको डढेलो अनियन्त्रित बनेपछि नियन्त्रणका लागि नेपाली सेनाको टोली खटिएको थियो।
हुम्ला ज्यान गुमाउनेमा जवान २३ वर्षीय आशिष बुढा र काभ्रे घर भएका जमदार ३८ वर्षीय केशरबहादुर जर्गा मगर छन्। उनीहरूको पोष्टमर्टमको प्रक्रिया अघि बढाइएको छ।
उनीहरू दुबै जनाको मंगलबार दिउँसो काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा मृत्यु भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए।
‘हिजो एक जना र आज दुई जना सैनिकको दुखद् निधन भएको छ,’ उनले भने, ‘एक जना घाइतेको कीर्तिपुरमै उपचार भइरहेको छ।’
उनीहरूलाई सेनाकै हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो। सोमबार साँझ घाइते जुम्लाका हेमन्त रावतको मृत्यु भएको थियो। उनको शव पोष्टमर्टमपछि सेनाकै हेलिकप्टरमा जुम्लास्थित घर पुर्याइएको प्रजिअ दाहालले बताए।
सैनिक ब्यारेक र विद्यालयको बीचबाट आगो फैलिएकोले उग्ररूप लिएको थियो। फोहोर जलाउँदा र हुरी चल्दा आगो फैलिएको हुनसक्ने प्रारम्भिक बुझाइ प्रहरीको छ।
अक्करे भीरमा फैलिइरहेको डढेलो अहिले पनि नियन्त्रणमा आइसकेको छैन। आगो बस्तीतिर आउन भने रोकेको उनले बताए।
‘डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन। तीव्र गतिमा हावा चलिरहेको, पानीको मुहान पनि नभएकाले नियन्त्रणमा आउन सकेको छैन,’ उनले भने, ‘अहिलेसम्म बस्ती नजिक पुगिसकेको छैन यद्यपि जान सक्ने भएकाले सचेत गराइएको छ।’