काठमाडौं महानगरपालिकाले भद्रकाली मन्दिर क्षेत्रका संरचनाहरूको पुनःनिर्माण गर्ने भएको छ।
मंगलबार महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले भद्रकाली मन्दिरको दक्षिण पश्चिम भागबाट पुनः निर्माणको काम सुरू गर्ने निर्णय गरेको हो।
‘लुमधि भद्रकाली मन्दिर परिसरका संरचनाको पुनःनिर्माण सम्बन्धमा’ बसेको बैठकले पुनः निर्माण हुने ठाउँका संरचनाहरू गुठी संस्थान र लुमधि भद्रकाली व्यवस्थापन समितिले खाली गराउने निर्णय समेत गरेको छ।
यस्तै, बैठकले सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतको संयोजकत्वमा सहजीकरण समिति गठन गरेको छ। सहजीकरण समितिले मन्दिर परिसरका संरचना पुनरूत्थान गर्ने क्रममा अभिलेखन, निर्माण सामग्रीको व्यवस्थापनसहित पुनः निर्माणको काममा सहजीकरण गर्ने महानगरले बताएको छ।
बैठकले, मन्दिर क्षेत्रमा भएका संरचना, शिल्प र शैलीको अभिलेखन (अवस्था तथा तथ्यको विवरण) तयार पार्न पुरातत्व विभागलाई अनुरोध गर्ने, अहिलेको संरचना भत्काएपछि संकलन हुने निर्माणजन्य सामग्रीलाई पुरातत्व विभाग, गुठी संस्थान, लुमधी भद्रकालीे व्यवस्थापन समितिसहितको सहजीकरण समितिले समन्वय र व्यवस्थापन गर्ने निर्णय गरेको छ।
मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी सत्तललगायत भवन संरचना छन्। यसको पुनः निर्माणकाको लागत अनुमान करिब ३६ करोड रुपैयाँ रहेको छ।
पुनः निर्माणका लागि बोलपत्रबाट निर्माण पक्ष छनोट गरेर सम्झौता भइसकेको छ। यसको गुरूयोजना र डिजाइन सहरी योजना आयोगले तयार पारेको हो ।