परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठका अवसरमा आयोजित साफजुआ अन्तर्राष्ट्रिय सम्मेलन २०२६’ को उद्घाटन गरेका छन्।
ललितपुरमा आयोजित सम्मेलनमा दक्षिण एसिया र जापानका शिक्षाविद्, पूर्वविद्यार्थी तथा नीतिनिर्माताहरू सहभागी छन्।
‘दक्षिण एसिया र जापान : शिक्षाको मार्गमा सहयात्री’ नारासहित आयोजित सम्मेलनमा शिक्षा, विज्ञान, प्रविधि र अनुसन्धानमार्फत दुई क्षेत्रबीचको सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भइरहेको छ।
उद्घाटन गर्दै मन्त्री खनालले शिक्षाका माध्यमबाट स्थापित सम्बन्ध स्थायी हुने बताए।
जापानी छात्रवृत्तिले नेपाली विद्यार्थी तथा सरकारी अधिकारीलाई अध्ययनको अवसर दिएको र त्यसबाट सुरु भएको सम्बन्ध सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा विस्तार भएको उनको भनाइ थियो।
उनले भोटेकोशी विपद्को प्रसंग उल्लेख गर्दै विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन र आर्थिक वृद्धिका लागि विज्ञान, प्रविधि तथा नवप्रवर्तनको महत्त्व औँल्याए।
नेपालका लागि जापानी राजदूत तोरु माएदाले नेपाल र जापानबीचको सम्बन्ध विश्वास र मित्रतामा आधारित रहेको बताउँदै यसलाई थप सुदृढ बनाउन जापान प्रतिबद्ध रहेको उल्लेख गरे।
JUAAN का अध्यक्ष डा. पवन के. भट्टराईले जापानमा अध्ययन गरेर फर्किएका विद्यार्थी दुई देशबीचको सम्बन्धका जीवन्त पुल भएको बताए।
JUAAN र SAFJUAA को सहकार्यमा आयोजित सम्मेलनमा बंगलादेश, भुटान, भारत, नेपाल, पाकिस्तान, श्रीलंका र जापानका प्रतिनिधि सहभागी छन्। सम्मेलनका तीन प्राविधिक सत्रमा १४ वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत भएका छन्।
आयोजकका अनुसार कार्यपत्रहरूको पियर रिभ्यु गरी छनोट भएकालाई ISBN नम्बरसहित पुस्तकका रूपमा प्रकाशन गर्ने र SAFJUAA बोर्डको बैठक शुक्रबार बस्छ।