२०६६ असोजको कुरा हो। विराटनगरस्थित कोइराला निवास अगाडि कांग्रेस कार्यकर्ताहरूले ठूलो प्रदर्शन गरे। सडकमा टायर बालियो।
कोशी अस्पताल मुख्य गेटभन्दा केही पश्चिमतिर रहेको कोइराला निवासको जमिन कोइराला परिवारका सन्तानहरूबीच अंशबन्डा भएको थियो। अंशबन्डा भएको जमिन कोइरालाका सन्ततिहरूले बिक्री गर्दै थिए।
त्यस बेला सडकमा ओर्लिएका कांग्रेस कार्यकर्ताहरूको माग थियो — पिताजी कृष्ण प्रसाद कोइरालाले जग बसाएको, बिपी कोइराला, मातृका प्रसाद र गिरिजा प्रसाद जस्ता नेताहरू हुर्के–बढेको ऐतिहासिकस्थल बिक्री गर्न पाइँदैन। निवासलाई बरू संग्रहालय बनाएर राख्नुपर्छ।
आफ्नो पुर्ख्यौली सम्पत्ति बिक्री गर्न खोज्दा कांग्रेस कार्यकर्ताहरूबाटै ठूलो विरोध झेलेको कोइराला परिवारको सबैभन्दा ठूलो विरासत मानिने कोइराला निवास यस पटक जल्यो।
परिवारका सदस्यले बिक्री गर्न खोज्दा पनि सडकमा ओर्लिने विराटनगरका हजारौं कांग्रेस कार्यकर्ताका आँखैअघि भदौ २४ मा कोइराला निवास जलाइँदा सुरक्षाका लागि कोही अघि सर्ने अवस्था रहेन।
'निवासमा आगो झोसिएको हल्ला सुन्नेबित्तिकै म दौडेर यहाँ आएको थिएँ,' शुक्रबार दिउँसो कोइराला निवासको गेटैमा भेटिएका कांग्रेस कार्यकर्ता जीवन यादवले भने, 'म आइपुग्दा आगो दनदनी भइसकेको थियो। मान्छेहरू गेटबाहिर बसेर रमिता हेरिरहेका थिए।'
२०७६ जेठमा तत्कालीन सरकारले कोइराला निवासको सुरक्षार्थ खटिएका सशस्त्र र नेपाल प्रहरीको टोली फिर्ता बोलाउने निर्णय लिएको थियो।

नेकपाको शक्तिशाली सरकारले सुरक्षाकर्मी फिर्ता बोलाए लगत्तै विराटनगर महानगरपालिकाका तत्कालीन मेयर भीम पराजुलीले कोइराला निवासमा महानगर प्रहरी परिचालन गरेका थिए।
'नेपाली लोकतान्त्रिक आन्दोलनको एउटा जीवित धरोहरबाट सुरक्षाकर्मी फिर्ता बोलाउने सरकारी निर्णय आलोच्य छ,' त्यस बेला मेयरले भनेका थिए, 'त्यसैले कोइराला निवासको सुरक्षाका लागि महानगर प्रहरी परिचालन गरिएको छ।'
संघीय सरकारले यसरी सुरक्षाकर्मी फिर्ता बोलाउनासाथ नगर प्रहरी खटाउने महानगरले यस पटक कोइराला निवास आगोको लप्कामा लपेटिँदा दमकलसम्म पठाउन सकेन।
'महानगरसहित धेरैजसो वडा कार्यालयहरू, अरू सरकारी कार्यालयहरू जलिरहेका थिए, दमकल निकालेर हिँड्ने अवस्था पनि थिएन। बाटोभरि आगैआगो थियो,' महानगर वारूणयन्त्रका एक कर्मचारीले भने, 'दमकलमै आगो लगाइदेलान् भन्ने त्रासले हामी यसैको सुरक्षाको चिन्तामा थियौं।'
भदौ २४ गते मंगलबार सधैंझैं महानगर प्रहरीका सुरक्षाकर्मी मोहनध्वज कार्की कोइराला निवासमै थिए। दिउँसो साढे १ बजेतिर एउटा हुल आएर ढुंगामुढा गरेर फर्किएको थियो।
'त्यसको केहीबेरमा पश्चिमतिरको पर्खाल भत्काएर ठूलो संख्यामा मानिसहरू निवासभित्र छिरे अनि लुटपाट मच्चाउन थाले,' कार्कीले भने, 'लुटपाट मच्चाउँदै उनीहरूले निवासमा आगो झोसे। म ज्यान जोगाउन भाग्न बाध्य भएँ।'
त्यस दिन विराटनगरमा प्रदेशसभादेखि मुख्यमन्त्री कार्यालयसम्म, जिल्ला प्रशासनदेखि अदालत, भाटभटेनी लगायतका संरचनामा आगजनी भएको थियो। महानगर र वडा कार्यालयहरूमा पनि आगो झोसिएको थियो।
'धेरैतिर आगजनी भइरहँदा लोकतान्त्रिक आन्दोलनको बिगुल फुक्ने कोइराला निवासमा पनि त्यस्तो ध्वंश होला भन्ने कल्पना थिएन,' कांग्रेस महानगर सभापति दीपक चापागाईंले भने, 'तर आन्दोलनका नाममा नेपालको राजनीतिक इतिहासको एउटा धरोहर खरानी बनाइयो। यो ज्यादै दुःखद घटना भयो।'
शुक्रबार दिउँसो कोइराला निवासमा सेतोपाटी पुग्दा त्यहाँ केही सहयोगीहरू जलेका सामानहरूको टिपोट बनाउँदै थिए।


के के जलेछ त्यस दिन — सेतोपाटीको यो प्रश्नमा त्यहाँ रहेका कोही बोलेनन्।
'नहुनुपर्ने सबै भइसक्यो, अब भनेर के फाइदा,' महानगर प्रहरीका एक सुरक्षाकर्मीले भने, 'सत्यानाशै भयो। अब के के जल्यो भन्नु?'
उनको दिकदरीले कोइराला निवासमा अहिले छाएको सन्नाटा र त्रासको माहोल देखाउँथ्यो।
कोइराला निवास कृष्णप्रसाद कोइरालाले निर्माण गरेको सय वर्षभन्दा पुरानो घर थियो।
वि.सं १९७४ साउनमा सिरहाको चन्द्रगन्जमा झुत्रो र मैलो लुगा लगाएका व्यक्तिहरू देखेपछि कृष्णप्रसादले उनीहरूलाई नयाँ कपडा सिलाउन लगाइदिएर उनीहरूको झुत्रो कपडा आफैसित राखेका थिए।
घेरो मात्र जोगिएको टोपी र लगौंटी अनि पत्र चन्द्र शमशेरलाई पार्सल गरेर कृष्णप्रसादले श्री ३ हरूको शासनमा जनताको अवस्था कस्तो थियो भन्ने जानकारी गराएका थिए। त्यस प्रकरणले कृष्णप्रसाद निर्वासित हुन बाध्य भए।
चन्द्र शमशेरको मृत्यु भएपछि कृष्णप्रसाद विराटनगर फर्के। अनि १९८६ सालमा अहिलेको घर बनाएका थिए।
मातृका प्रसाद, बिपी र गिरिजा प्रसाद जस्ता मुलुकका तीन जना प्रधानमन्त्रीहरू हुर्केबढेको कोइराला निवास अंशबन्डाका क्रममा डा. शेखर कोइरालाको भागमा परेको थियो।
गिरिजा प्रसाद बस्ने घरमा उनको निधनपछि शेखर बस्दै आएका थिए। शेखरले पुर्खाको नासो कोइराला निवासलाई पुरानै स्वरूपमा सुरक्षित राखेका थिए।
पछिल्लो समय त निवासको तलको कोठामा सचिवालय स्थापना गरेर निवासलाई गुलजार बनाउने प्रयास गरेका थिए।
'त्यस दिन यहाँ भएको एउटा गाई चोरियो। गिरिजाबाबुले चढ्ने गाडी खरानी बनाइयो,' कोइराला निवासका एक जना सहयोगीले भने, 'बिपी बुबाले कोशु बुबालाई लेखेको पत्र र केही थोरै सामान चाहिँ कार्यकर्ताहरूले जोगाइदिएको पाइएको छ।'
त्यस दिन कोइराला निवासकै सामुन्नेमा रहेको सुजाता कोइरालाको घर भने जोगिएको छ। केही समय अघिसम्म त्यहाँ गिरिजा प्रसाद कोइराला (जिपी) फाउन्डेसनको पोस्टर थियो।
'त्यो पोस्टर उक्किएका कारण सुजाता दिदीको घर जोगियो। नत्र त्यसमा पनि आगो झोस्थे होला,' ती कर्मचारीले भने।
कृष्ण प्रसादको नाममा रहेको यहाँको सम्पत्ति बिपी, केशव, तारिणी र गिरिजा प्रसादका लागि २०२५ सालमै मौखिक अंशबन्डा गरिएको कांग्रेस नेताहरू बताउँछन्।
पहिले जम्मा एक बिघा १६ कट्ठा जग्गामा फैलिएको कोइराला निवास अंशबन्डापछि केही कट्ठामा खुम्चिएको छ।
निवासको दक्षिणपट्टीको ८ कट्ठा जमिन बिपीपुत्र प्रकाश, शशांक, श्रीहर्ष र छोरी चेतनाले बिक्री गरिसकेका छन्। उत्तरपट्टिको जमिन तारिणीको भागमा परेको थियो। त्योमध्ये धेरै जग्गा छोरा ज्योतिले बिक्री गरिसकेको कांग्रेस कार्यकर्ता बताउँछन्।
पूर्वपट्टिको जमिन गिरिजा प्रसादकी छोरी सुजाताको भागमा छ। उनले चार कट्ठा जमिन जिपी फाउन्डेसनलाई दिएर त्यहीँ भवन बनाएकी छिन्।

निवासभन्दा केही उत्तरतिर पूर्वप्रधानमन्त्री मातृका प्रसाद कोइरालाको निवास छ। यहाँ निधनअघिसम्म उनका छोरा कमल कोइराला बस्थे।
राजनीतिमा रूचि भएकाहरूका लागि विराटनगरको कोइराला निवास 'तीर्थस्थल' जत्तिकै थियो। नेपालका धेरै राजनीतिज्ञहरू विराटनगर आउँदा कोइराला निवास पुगेकै हुन्थे। कांग्रेस नेता–कार्यकर्ताका लागि त कोइराला निवास नपुगी नहुने ठाउँमा पर्थ्यो।
'कोइराला निवास पुग्ने कसैले भोकै फर्किनु पर्दैन थियो। चिया, खाजा, खाना खाएर आउँथे,' निवासमा खटिएका महानगर प्रहरी कार्कीले भने, 'केही नभए फलफूल मात्रै भए पनि खुवाएरै पठाइन्थ्यो। घुम्न, हेर्न आउने सबैका लागि हरेक कोठा सधैं खुला थियो। खै केको रिसले यस्तो विध्वंश गरिदिए!'
नेपालको प्रजातान्त्रिक आन्दोलनका सहयोगी मित्र भनेर चिनिने भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखर धेरै पटक बसेको घर थियो यो। प्रसिद्ध भारतीय लेखक फणिश्वरनाथ रेणुले लामो समय आश्रय लिएको घर पनि थियो यो। आफ्नो समयमा नेपालको स्वतन्त्रता आन्दोलनको नेतृत्व गर्दै मुलुकलाई पनि नेतृत्व दिएका बिपी, मातृका र गिरिजा प्रसाद कोइरालाहरू हुर्केबढेको घर पनि थियो यो।
२०३६ को जनमत संग्रहमा बहुदलका पक्षमा चुनावी प्रचारको मुख्य केन्द्र रहेको, २०४६ को जनआन्दोलनदेखि २०६२–६३ को जनआन्दोलनसम्मको योजना बनेको त्यही ऐतिहासिक घर, त्यहाँभित्र रहेका धेरै ऐतिहासिक दस्तावेजहरू यस पटक जलेर खरानी बनेका छन्।
'नेपालका हरेक स्वतन्त्रता प्राप्तिको लडाइँमा नेतृत्व गर्ने निवास गणतन्त्रकालमा जल्यो भन्नुपर्दा ज्यादै पीडा भइरहेको छ,' कांग्रेस नेता भीम पराजुली भन्छन्, 'इतिहास मेटाउने यस्तो प्रयास ज्यादै दुःखद र अराजकतापूर्ण छ।'
