भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकाले पक्राउ गरी न्युयोर्क ल्याएको छ।
राजधानी कराकसस्थित मदुरोको निवासबाटै उनीहरूलाई अमेरिकी विशेष सेनाले पक्राउ गरेको थियो।
मदुरो पक्राउपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार स्थानीय समयअनुसार बिहान ११ बजे फ्लोरिडास्थित उनको निजी क्लब मार-ए-लागोमा पत्रकार सम्मेलन गरेका थिए।
पत्रकार सम्मेलनमा ट्रम्प, विदेशमन्त्री मार्की रूबिओ, रक्षामन्त्री पिट हेगसेथ र अमेरिकी सेना प्रमुख ड्यान केन लगायतले अमेरिकाको उक्त अपरेसनको विवरण सार्वजनिक गरेका थिए।
राष्ट्रपति डोनाल्ड ट्रम्पले सेनाको उक्त अपरेसनलाई अभुतपूर्व भनेका छन्। अमेरिकी सेना कराकस पुग्दा आफू मार-ए-लागोमा मन्त्री र सैन्य अधिकारीसहित बसेर त्यहाँको प्रत्यक्ष प्रसारण हेरिरहेको उनले बताएका छन्।
रक्षामन्त्री पिट हेगसेथले मदुरोलाई देश छाडेर भाग्नका लागि धेरै अवसरहरू दिइएको तर उनले वास्ता नगर्दा अमेरिकाले पक्राउ गर्नुपरेको बताए।
'उनका लागि धेरै अवसरहरू थिए। तर मदुरोले त्यसो गरेनन्। त्यसकारण राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार पक्राउ गर्यौं र यहाँ ल्यायौं,' हेगसेथले पत्रकार सम्मेलनमा भने।
ट्रम्पले लगातार धम्की दिएपछि मदुरोले रूस र बेलारूससँग सम्भावित शरणबारे कुराकानीसमेत गरेका थिए। त्यसबेला दुवै देशले मदुरोप्रति सद्भाव देखाएका थिए।
मदुरोले पछिल्लो समय अमेरिकासँग वार्ता गर्न आफू तयार रहेको बताएका थिए। उनले त्यसो भनेको दुई दिनमै अमेरिकी सेना उनको घरभित्रै छिरेर पक्राउ गरेको हो।
ट्रम्पको व्यापक धम्की र क्यारेबियन क्षेत्रमा अमेरिकी सेनाको बढ्दो उपस्थितिबीच मदुरोले आफ्नो सुरक्षा बढाएका थिए। त्यसका बाबजुद सजिलैगरी उनलाई अमेरिकी सेनाले कसरी नियन्त्रणमा लियो भन्ने चासोको विषय हुन सक्छ।
अमेरिकी सेनाप्रमुख ड्यान केनले शनिबारको पत्रकार सम्मेलनमा सैन्य अपरेसनबारे विस्तृत बताएका छन्।
मदुरोलाई पक्राउ गर्ने अपरेसनलाई 'अपरेसन एब्सोल्युट रिजल्भ' नाम दिइएको थियो। यो अपरेसन शनिबार बिहान भए पनि त्यसको तयारी भने महिनौं अघिदेखि गरिएको थियो।
गत अगस्टमा गुप्तचर संस्था सिआइएका अधिकारीहरूको एक टोली कराकस छिरेर मदुरोको गतिविधिबारे सूचना संकलन गरेको थियो। उनीहरू कुटनीतिक आवरणविनै कराकसमा महिनौं लुकेर मदुरोको गतिविधिको निगरानी राखेका थिए। उनीहरूले मदुरो कहाँ जान्छन् भन्नेदेखि के खान्छन् र उनको घरमा कुन घरपालुवा जनावर छ भन्नेसम्मका विवरण संकलन गरेका थिए।
मदुरोको निवास आसपास 'स्टिल्थ ड्रोन'समेत उडाइएको थियो। यसले पनि मदुरोको गतिविधि, दिनचर्या र उनको सुरक्षाबारे सुक्ष्म रूपले निगरानी गरिएको थियो।
यो ड्रोन सामान्य आँखाले, रडारले र सामान्य सेन्सरले सजिलै पहिचान गर्न नसकिने गरी बनाइएको हुन्छ भनेर अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले लेखेको छ।
त्यसले मदुरो घरको कुन कोठामा बस्छन् भनेर निगरानी गरिएको थियो।
सेनाप्रमुख ड्यान केनले यो अपरेसनलाई सन् २०११ मा पाकिस्तानमा ओसामा बिन लादेन मारिएको कारबाहीपछिकै सबैभन्दा जोखिमपूर्ण अपरेसन भनेका छन्।
मदुरोको घरमा छापा मार्नुअघि अमेरिकी विशेष सेना डेल्टा फोर्सले केन्टकीमा मदुरोको आवासको पूर्ण आकारको नमुना बनाएर अभ्यास समेत गरेका थिए। त्यसपछि मौसम अनुकूल हुने र सर्वसाधारणको क्षति न्यून हुने समय कुर्दै सेनाले दिनौँ तयारी गरेको थियो।
सम्पूर्ण तयारी पूरा भएपछि शुक्रबार राति १०:४६ बजे ट्रम्पले अपरेसनका लागि अनुमति दिएका थिए। त्यसपछि १५० भन्दा बढी लडाकू विमान परिचालन गरिएको भनेर जनरल ड्यान केनले बताएका छन्।
अपरेशन अघि विशेष विमान, इलेक्ट्रोनिक युद्धका जहाज, रिइपर ड्रोन, खोज तथा उद्धार हेलिकप्टर र लडाकु विमानहरू क्षेत्रमा तैनाथ गरिएको थियो।
साइबर अपरेशनमार्फत कराकसमा विद्युत् आपूर्ति काटिएको थियो। यसले लडाकू विमान र ड्रोनलाई नदेखिने गरी प्रवेश गर्न सहयोग पुर्याएको अमेरिकाको दाबी छ।
शनिबार बिहान कराकस वरिपरि ठूलो विस्फोट सुनिएका थिए। त्यतिबेला अमेरिकी लडाकु विमानले रडार र हवाई सुरक्षा प्रणालीलाई लक्ष्य बनाएको जनरल ड्यान केनले बताएका छन्।
भेनेजुएलाका एक वरिष्ठ अधिकारीले अमेरिकी हमलामा कम्तीमा ४० जनाको मृत्यु भएको बताएका छन्।
हवाई प्रतिरक्षा प्रणालीले एउटा अमेरिकी लडाकू विमानमा क्षति पुर्याएको छ। यद्यपि त्यो चल्ने अवस्थामा रहेको पनि जनरल केनले बताएका छन्। रडार र हवाई सुरक्षा प्रणालीलाई ध्वस्त पारेपछि अमेरिकी लडाकू विमान सजिलै कराकस प्रवेश गरेका थिए।
अमेरिकी डेल्टा फोर्स बिहान २ बजेर १ मिनेट जाँदा मदुरोको आवासको कम्पाउन्डमा ओर्लिएको थियो। त्यहाँ छिरेको केही मिनेटमै डेल्टा फोर्सले मदुरो र उनकी श्रीमती फ्लोरेसलाई नियन्त्रणमा लिएका थिए।
डेल्टा फोर्सका कमान्डोले विस्फोटक वस्तु प्रयोग गरी मदुरोको निवासको ढोका फुटाएका थिए। त्यहाँबाट तीन मिनेटमै मदुरो र उनकी श्रीमती भएको कोठामा पुगेका थिए।
सेना पुगेपछि मदुरो र उनकी श्रीमती निवासभित्रै बनाइएको सुरक्षित स्थानतर्फ भाग्ने प्रयत्न गरेका थिए। निवासभित्र अत्यधिक बलियो स्टिल ढोका बनाइएको सुरक्षित कोठातर्फ भाग्न लाग्दा सेनाले उनीहरूलाई रोकेको थियो। त्यसपछि आत्मसमर्पण गरेपछि दुवैलाई हेलिकप्टरमा राखेर युएसएस इभो जिमा नाम गरिएको युद्धपोतमा ल्याइएको थियो। उक्त स्थान भेनेजुएलाको तटदेखि करिब १०० माइल टाढा रहेको भनिएको छ।
डेल्टा फोर्सले अवतरण भएको पाँच मिनेटमै मदुरो र उनकी श्रीमतीलाई नियन्त्रणमा लिएर त्यहाँबाट फर्किएको थियो।
युद्धपोतमा राखेर उनीहरूलाई ग्वान्टानमो बे हुँदै न्युयोर्क नजिकैको सैन्य हवाई अड्डामा ल्याइएको थियो।
न्युयोर्कमा मदुरो पतिपत्नी विरूद्ध लागुऔषध र हतियार ओसारपसारको मुद्दा चलाइने अमेरिकी अधिकारीहरूले बताएका छन्।
अमेरिकी महान्यायाधिवक्ता पाम बन्डीले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपति मदुरो र उनकी पत्नीमाथि न्यूयोर्कको साउदर्न डिस्ट्रिक्ट अदालतमा संघीय मुद्दा दायर गरिएको छ। मदुरोमाथि सन् २०२० मार्चमा लागुऔषध तस्करी र आतंकवाद सम्बन्धी अभियोग लगाइएको छ।
ट्रम्पले भेनेजुएलाका राष्ट्रपति मदुरो र उनकी पत्नी पक्राउ परेपछि भेनेजुएलाको शासन अस्थायी रूपमा अमेरिकाले सम्हाल्ने घोषणा गरेका छन्।
ट्रम्पका अनुसार, सुरक्षित रूपले सत्ता हस्तान्तरण नहुन्जेल भेनेजुएला अमेरिकाको नियन्त्रणमा रहनेछ।
'हामी यसलाई व्यवस्थित रूपमा चलाउने छौं। व्यावसायिक ढंगले सञ्चालन गर्ने छौं। तर त्यो त्यतिन्जेल मात्र हुनेछ, जबसम्म सुरक्षित, सही र विवेकपूर्ण रूपले सत्ता हस्तान्तरण हुँदैन,' ट्रम्पले आफ्नो सम्बोधनमा भने।
ट्रम्पको यो भनाइपछि भेनेजुएलाको सार्वभौमिकता, अन्तर्राष्ट्रिय कानुन र क्षेत्रीय स्थायित्वलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा गम्भीर प्रश्नहरू उठ्ने अपेक्षा गरिएको छ।
उनले भेनेजुएलामा विश्वका ठूला तेल कम्पनीहरू भित्र्याएर अर्बौं डलर लगानी गराउने पनि बताएका छन्। अमेरिकी सेनाको प्रत्यक्ष तैनाथीको सम्भावना पनि उनले अस्वीकार गरेका छैनन्।
'हामी आवश्यक परे जमिनमा सेना उतार्न डराउँदैनौं,' ट्रम्पले भने।
उनले भेनेजुएलामाथिको सैन्य कारबाहीलाई 'अभूतपूर्व' भनेका छन्। यसमा अमेरिकी सेनातर्फ कसैको ज्यान नगएको र कुनै पनि विमानमा क्षति नपुगेको दाबी गर्दै उनले भने, 'यो अभूतपूर्व कारबाही सफलतापूर्वक सम्पन्न भयो।'