उदयपुरको बेलका नगरपालिका–३ स्थित किरात चोकमा आइतबार बिहान घरेलु विवाद हिंसात्मक बनेपछि एक महिलाको मृत्यु भएको छ।
बिहान करिब ८ बजे भएको झगडाका क्रममा ३० वर्षीय खगेन्द्र राईले आफ्नी २७ वर्षीया श्रीमती गंगा राई (भावना) माथि छुरा प्रहार गर्दा उनी गम्भीर घाइते भएकी थिइन्।
गम्भीर अवस्थामा उपचारका लागि धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकी गंगाको बिहान ९:५० बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि खगेन्द्र राईले आफ्नी श्रीमतीलाई छुरा प्रहार गरेपछि आफैंमाथि समेत छुरा हानी आत्महत्याको प्रयास गरेको प्रहरीको भनाइ छ।
स्थानीयले देखेपछि उनलाई तत्काल उपचारका लागि सोही अस्पताल पुर्याइएको थियो। हाल उनको उपचार भइरहेको छ र उनी प्रहरीको प्रत्यक्ष निगरानीमा रहेको जिल्ला प्रहरीले जनाएको छ।