अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि रूस र युक्रेनको युद्धको बारेमा आफ्नो बोली फेरेका छन्।
युद्ध अन्त्य गर्नका लागि रूसले कब्जा नगरेको भूमि समेत त्याग्नु पर्ने बताउँदै आएका ट्रम्पले मंगलबार भने युक्रेनले आफ्नो सबै भूमि फिर्ता लिन सक्ने टिप्पणी गरेका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटेको केही समयपछि सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले 'आफ्नो मूल स्वरूपमा सबै युक्रेन फिर्ता लिन र जित्न सक्ने स्थितिमा युक्रेन रहेको' घोषणा गरेका छन्।
सन् २०१४ मा रूसले कब्जा गरेको क्राइमिया समेत युक्रेनले फिर्ता लिन सक्ने हो कि २०२२ मा आक्रमण गरेपछि गुमाएको भूमि मात्रै फिर्ता लिन सक्ने भनेर चाहिँ उनले खुलाएनन्।
करिब डेढ महिनाअघि अलस्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तीन घण्टा कुरा गरेपछि उनले जेलेन्स्कीलाई वास्तविकताको सामना गर्न सम्झाएका थिए।
आफ्नो ठूलो र बलियो छिमेकीलाई भूमि दिएर भए पनि सम्झौता गर्नुपर्ने भनेका थिए। तर अहिले उनले युक्रेनले आफ्नो भूमि फिर्ता लिन सक्ने मात्रै नभनेर युक्रेनले युद्ध नै जित्न सक्ने भनेका छन्। रूसकै भूमि समेत कब्जा गर्न सक्ने टिप्पणी ट्रम्पले गरेको भनेर द न्यू योर्क टाइम्सले लेखेको छ।
आफूले लामो समयदेखि रूस-युक्रेन युद्ध रोक्न प्रयास गरे पनि पुटिनले ध्यान नदिएकाले ट्रम्पले अहिले बोली फेरेको मानिन्छ।
युद्ध अन्त्यका लागि आफ्नो कब्जामा रहेको क्राइमिया र डोनबास क्षेत्र लगायत युक्रेनी भूभाग रूसी भूमि भएको मान्यता दिनुपर्ने माग अलस्कामा पुटिनले ट्रम्पसँग राखेका थिए।
अहिलेसम्म रूसले कब्जा गरेको युक्रेनी भूभाग मात्र नभएर आफ्नो नियन्त्रणमा नभएका डोनबास क्षेत्रको केही भागको पनि स्वामित्व दिनुपर्ने पुटिनले माग गरेका थिए। त्यतिबेला पुटिनको त्यस्तो मागमा युक्रेनलाई सहमत गराउन खोजेका ट्रम्पले अहिले फेरि कुरा फेरेका हुन्।
जेलेन्सकीले पुटिनको त्यस्तो माग अमान्य हुने बताइसकेका छन्। त्यस्तै युक्रेनमा फेरि रूसले आक्रमण नगरोस् भनेर अमेरिकी सुरक्षा प्रत्याभूति पनि खोजेका छन्।
युक्रेनमा फेरि रूसले आक्रमण नगरोस् भनेर आफ्ना ३० हजार सैनिक राख्न बेलायत र फ्रान्स पहिलेदेखि नै तयार छन्।
शान्ति सम्झौतालाई दिगो बनाउनका लागि युक्रेनमा पश्चिमी सेनाको उपस्थिति आवश्यक हुने कुरा पुटिनले आफूसँगको छलफलमा स्वीकारेको ट्रम्पले जेलेन्स्की र युरोपेली नेताहरूलाई बताएका थिए। अमेरिकाले त्यस्तो सुरक्षा प्रत्याभूति दिने कुरामा त्यसअघि ट्रम्प तयार थिएनन्।
बेलायत, फ्रान्स लगायत युरोपेली देशका सेना युक्रेनमा राखेर दिने प्रत्याभूतिमा अमेरिकाको पनि सहभागिता हुनुपर्ने जेलेन्सकीले माग गर्दै आएका छन्।
ट्रम्प भने त्यसका लागि तयार थिएनन्।
तर अलस्कामा पुटिनसँग कुरा गरेपछि युरोपेली देशका सेनालाई अमेरिकाले प्राविधिक र बन्दोबस्तीमा सहयोग गर्न ट्रम्प तयार भएका थिए।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)