मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ।
दुर्घटनामा ६ जना घाइते भएका छन्। दुर्घटनामा परेको गाडीमा चालकसहित २० जना सवार रहेको खुलेको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
बिहीबार बिहान करिब ६:१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको थियो।
दुर्घटनापछि सशस्त्र प्रहरीसहितका सुरक्षाकर्मीले उद्धार गरेका थिए।
दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये ११ जनाको शव हेटौंडा अस्पताल ल्याइएको थियो। थप तीन जनाको शव दुर्घटनास्थलमा केही बेरअघि फेला परेको डिएसपी थापाले बताए। उनीहरूको पहिचान खुल्न बाँकी रहेको छ।
मृत्यु हुनेमध्ये सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरटोलका २५/२६ वर्षीय सुवेक यादव, आठ वर्षीया शिक्षा यादव, चार वर्षीया दीपिका कुमारी यादव, २५ वर्षीय सुवोध यादव, ११ वर्षीया अनु राय यादव, १५ वर्षीय रोहन यादव, २७ वर्षीय राम दुलार राय यादव, ३० वर्षीय गुड्ड राय यादव, २७ वर्षीया गायत्री देवी यादव र २७ वर्षीया पुनम यादव रहेका छन्।
त्यस्तै, गाडी चालक सर्लाहीको कबिलासी नगरपालिका–८ का ३० वर्षीय रविशंकर कुमार मण्डल को पनि दुर्घटनामा मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि हेटौंडा अस्पतालबाट डिस्चार्ज भएका छन् भने तीन जनालाई थप उपचारका लागि चितवन पठाइएको छ।
डिस्चार्ज हुनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र यादव रहेका छन्।
त्यसैगरी, चितवन पठाइएकामा तीन वर्षीय सुजन यादव, ३१ वर्षीय देवेन्द्र राय यादव र १६ महिनाका सुदीप यादव रहेका छन्। उनीहरूमध्ये देवेन्द्र राय यादवको अवस्था गम्भीर छ भने अन्य दुई जनाको अवस्था मध्यम रहेको छ।