बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरमा दुई वर्षीया बालिकालाई मोटरसाइकलले ठक्कर दिएपछि भएको विवादमा एक युवकमाथि चक्कु प्रहार भएको छ।
बुधबार बिहान करिब १० बजे बरियारपुर बजारबाट बरियारपुरतर्फ जाँदै गरेको मोटरसाइकलले बाटोमा खेलिरहेकी स्थानीय २ वर्षीया अनुष्का कुमारी लहेरालाई ठक्कर दिएको थियो।
१५ वर्षीय बालकले चलाएको प्रदेश ०८–००१ प ०३१९ नम्बरको मोटरसाइकलको ठक्करबाट बालिकाको दाहिने हातमा चोट लागेको थियो।
उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएकोमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।
बालिकालाई ठक्कर दिएको विषयलाई लिएर विवाद भएपछि स्थानीय ३५ वर्षीय भीम लहेरा र मोटरसाइकल चालक मिलेर १९ वर्षीय सुरज साह लहेरालाई चक्कु प्रहार गरेका थिए।
चक्कु प्रहारबाट पिठ्युँमा चोट लागेका सुरजको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ।
उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घटनापछि चक्कु प्रहारमा संलग्न दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।