शुक्रबारदेखि परेको अविरल वर्षापछि आएको लेदोसहितको बाढीले बिपी राजमार्गको अस्थायी डाइभर्सन बगाएको छ।
रोशी खोलाले गत वर्ष बनाएको अस्थायी डाइभर्सन बगाएपछि बिपी राजमार्ग पूर्णरूपमा बन्द छ।
सडक डिभिजन भक्तपुरका साइट इन्जिनियर दुर्गा प्रसादका अनुसार बिपी राजमार्ग कम्तीमा पाँच दिन सञ्चालनमा आउने छैन।
‘अहिले त रोशी खोलामा बहाव नै घटेको छैन। खोलाको बहाव घटेपछि बल्ल डाइभर्सन बनाउन सुरू गर्छौं। अस्थायी डाइभर्सन बनाउन पनि कम्तीमा पाँच–छ दिन लाग्ने देखिएको छ,’ उनले भने।
अहिले भकुण्डेबेँसीदेखि नेपालथोकसम्म पूर्णरूपमा अवरूद्ध छ। भकुण्डेयता धुलिखेलसम्म पनि केही स्थानमा सडक भासिएको छ भने पहिरो पनि खसेको छ।
दुर्गा प्रसादका अनुसार बिपी राजमार्गको भकुण्डेबेँसीदेखि नेपालथोकसम्म ३५०० मिटर बढी खण्ड रोशीले बगाएको छ।
गत वर्ष असोज १० देखि १३ गतेसम्म आएको भीषण वर्षाका कारण रोशी खोलामा आएको भेलबाढीले करिब १३ किलोमिटर सडक कटान गरेको थियो।
कटान गरिएकामध्ये सडक डिभिजन भक्तपुरले करिब ५ किलोमिटर खण्डमा अस्थायी ट्र्याक खोलेको थियो। उक्त सडक खण्डमध्ये कतिपय खोलाको किनारबाटै खोलिएको थियो।
गत असोजको बाढीपछि १३ दिनमै उक्त अस्थायी ट्र्याक तयार पारिएको थियो। सडक डिभिजनले वर्षाअगाडि पुनः त्यस ट्र्याकलाई उकासेर खोलाको सतहभन्दा माथि ल्याएको थियो। कतिपय स्थानमा खोला खारेर सडकलाई कटान हुन बाट जोगाइएको थियो।
त्यसरी बनाइएको अस्थायी डाइभर्सन पूरै बगाएको र बिपी राजमार्गलाई गत वर्षको बाढीपछिकै अवस्थामा पुर्याइदिएको साइट इन्जिनियर दुर्गा प्रसादले बताए। उनका अनुसार उक्त खण्डमा सडक डिभिजन भक्तपुर १० करोडभन्दा बढी रुपैयाँ खर्च गरेर अस्थायी डाइभर्सन तयार पारेको थियो।
‘हामीले बनाएको डाइभर्सन कतैकतैमात्र बाँकी छ। प्रायः बगाइसकेको छ। कतिपय ठाउँमा कटान जारी छ,’ उनले भने।
बिपी राजमार्ग पुनर्निर्माण गर्ने गरी चारवटा खण्डमा विभाजन गरी ठेक्का लगाइएको छ। ठेकेदार परिचालन भने भइसकेको छैन। चार खण्डमध्ये एक खण्ड जाइकाले बनाउने समझदारी भएको छ। बाँकी तीन खण्ड सडक विभागले बनाउने गरी ठेक्का लगाइएको छ।
काठमाडौं उपत्यकालाई देशको पूर्वी भेगसम्म जोड्ने उक्त बिपी राजमार्गमा दैनिक दस हजारमाथि सवारी गुड्छन्। यो बाटो अवरूद्ध भएपछि यात्रुहरूलाई पूर्व जान सकस भएको छ। यस बाटोको विकल्पका रूपमा यात्रुहरूले अरनिको राजमार्ग, दोलखाको चरिकोट हुँदै खुर्कोट निस्किने गरेका छन्।