आधुनिक अर्थव्यवस्थामा नवप्रवर्तन र सिर्जनात्मक विनाशको शक्तिले कसरी आर्थिक वृद्धि हासिल गर्न सक्छ भन्ने बारेमा गरेको कामको लागि जोएल मोकिर, फिलिप एगियन र पिटर होविटलाई अर्थशास्त्रमा सन् २०२५ को नोबेल पुरस्कार प्रदान गरिएको छ।
अमेरिकी-इसराइली मोकिरलाई आधा पुरस्कार दिइएको छ भने एगियन र होविटलाई अर्को आधा बाँड्ने भनेर रोयल स्वीडिस एकेडेमी अफ साइन्सेजले सोमबार घोषणा गरेको छ।
मोकिर अमेरिकाको इभान्स्टनस्थित नर्थवेसटर्न युनिभर्सिटीका प्राध्यापक हुन्। त्यस्तै, फ्रेन्च एगियन पेरिसको कलेज डे फ्रान्स र इनसिड तथा बेलायतको लन्डन स्कूल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्सका प्राध्यापक हुन्।
क्यानेडेली होविट भने अमेरिकाको ब्राउन युनिभर्सिटीका प्राध्यापक हुन्।
विजेताहरूको कामले कसरी प्रविधिले नयाँ उत्पादनहरू र उत्पादन विधिहरूलाई जन्म दिन्छ जसले पुरानालाई प्रतिस्थापन गर्छ, फलस्वरूप विश्वभरका मानिसहरूको लागि राम्रो जीवनस्तर, स्वास्थ्य र जीवनको गुणस्तर प्राप्त हुन्छ भन्ने कुरा बुझाउँछ भनेर एकेडेमीले बताएको छ।
'पछिल्ला दुई शताब्दीमा, इतिहासमै पहिलो पटक, संसारले दिगो आर्थिक वृद्धि देखेको छ। यसले ठूलो सङ्ख्यामा मानिसहरूलाई गरिबीबाट बाहिर निकालेको छ र हाम्रो समृद्धिको जग बसालेको छ,' एकेडेमीले विज्ञप्तिमा भनेको छ।
'आर्थिक गतिहीनता, न कि वृद्धि, अधिकांश मानव इतिहासको लागि सामान्य अवस्था थियो। उहाँहरूको कामले देखाउँछ कि हामीले निरन्तर वृद्धिका खतराहरू बारे सचेत रहनुपर्छ र त्यसलाई प्रतिकार गर्नुपर्छ,' एकेडेमीले थपेको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)