भिजिट भिसा प्रकरणमा सहसचिव तीर्थराज भट्टराईसहित सात जना र दुई वटा कम्पनीविरूद्ध मुद्दा विशेष अदालतमा पुगेको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार सात जना र दुई वटा कम्पनीविरूद्ध मुद्दा दायर गर्न लागेको हो।
उक्त आरोपपत्र दर्ताको क्रममा रहेको विशेष अदालतका प्रवक्ता एवं प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए।
‘घुस रिसवत र सम्पत्ति शुद्धीकरणका दुई वटा छुट्टाछुट्टै मुद्दा पेस भएका छन्,’ उनले भने।
उनका अनुसार घुस रिसवतमा भट्टराईसहित सात जना र दुई वटा कम्पनीविरूद्ध मुद्दा पेस भएको हो। त्यस्तै सम्पत्ति शुद्धीकरण मुद्दामा तीन जनाविरूद्ध मुद्दा पेस भएको हो।
शुद्धीकरणतर्फ सहसचिव भट्टराई, कविता पौडेल र खेमराज सुवेदीविरूद्ध मुद्दा छ। यसमा तीन जनामाथि एक करोड ३ लाख ७९ हजार ६ सय बिगो कायम गरिएको छ।
त्यस्तै, घुस रिसवतको मुद्दामा भट्टराईसँगै अर्का अध्यागमन अधिकृत यज्ञराज अर्याल, ग्रिन लाइन होलिडेजका सञ्चालक बालकृष्ण खड्का, राम खड्का, फ्यामिली होलिडेज एन्ड टुरका दीपक भण्डारी, नयाँ बानेश्वरको सेन्ट्रल इन्स्च्टिट्युड अफ साइन्स एन्ड टेक्नोलोजी (सिआइएसटी) की ल्याब सहायक कविता पौडेल र जग्गा व्यवसायी खेमराज सुवेदीविरूद्ध मुद्दा दर्ता हुने प्रक्रियामा छ।
कम्पनीतर्फ ग्रिनलाइन होलिडेज र फ्यामिली होलिडेज एन्ड टुरलाई प्रतिवादी बनाएको छ।
उनीहरूविरूद्ध छुट्टाछुट्टै बिगो कायम गरिएको छ।
भट्टराईको हकमा ७९ लाख ८० हजार रुपैयाँ बिगो कायम गरिएको छ। यज्ञराज अर्यालको हकमा आठ लाख रुपैयाँ, बालकृष्ण खड्काको हकमा ३० लाख २० हजार रुपैयाँ, दीपक भण्डारीको १० लाख ६० हजार रुपैयाँ, राम खड्काको हकमा ३० लाख २० हजार, कविता पौडेलको हकमा ७९ लाख ८० हजार र खेम सुवेदीको हकमा ७९ लाख ८० रुपैयाँ बिगो कायम भएको छ।
प्रवक्ता लामिछानेका अनुसार उनीहरूले भिजिट भिसामा २५७ जनालाई विदेश पठाउने भनेर सेटिङमा घुस रिसवत लिएको आरोप पत्रमा उल्लेख छ।
‘२५७ जनालाई विदेश पठाएबापत बदनियतपूर्वक घुस रिसवत लिएर भ्रष्टाचारजन्य कसुर गरेको अख्तियारको आरोपपत्र छ,’ उनले भने।