सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल बिदा बसेका छन्।
मंगलबारदेखि उनी केही दिनका लागि बिदामा बसेको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ।
उनले प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग कात्तिक १७ गतेदेखि २० गतेसम्मको बिदा स्वीकृत गराएका छन्। त्यसपछि तिहार बिदा सुरू हुन्छ।
‘उहाँले १७ देखि २० गतेसम्मको व्यक्तिगत बिदा लिनुभएको छ,’ स्रोतले भन्यो।
पछिल्लो समय न्यायाधीश फुयाल सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि हिरासतमा रहेका इनम सापकोटासँगको कुराकानीको स्क्रिनसट बाहिरिएको थियो। कुराकानीपछि न्यायाधीश फुयाल र सापकोटाबीच हिमालय होटलमा भेट समेत भएको थियो।
हिमालय होटलमा अन्य न्यायाधीशहरू समेत रहेको फुयालको भनाइ थियो। न्यायाधीश फुयालले भने भेट भए पनि आफूहरूले मुद्दा मामिलामा कुनै गलत कार्य नगरेको बताउँदै आएका छन्। साथै, त्यस भेटपछि नै शंकास्पद देखिएपछि इनमविरूद्ध सरकारलाई जानकारी गराएको उनको दाबी छ।
यसैबीच न्यायालयमाथि नै प्रश्न उठेपछि सोमबार फूलकोर्ट बैठक बसेको थियो। उक्त बैठकले सम्बद्ध निकायलाई छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन आग्रह समेत गरेको थियो।