आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आफ्नो स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा ‘नेपाल आदिवासी ज्ञान सम्मेलन तथा महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ।
'ज्ञानको आदान-प्रदान, धरोहरको संरक्षण, भविष्यको निर्माण' भन्ने मूल नाराका साथ आगामी माघ २५ देखि २७ गतेसम्म काठमाडौंको राष्ट्रिय सभा गृहमा यो कार्यक्रम हुनेछ।
प्रतिष्ठानले सोमबार ललितपुरको सानेपामा पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी पूरा भएको जानकारी दिएको हो।
आदिवासी जनजातिको पुर्ख्यौली ज्ञान, सीप र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले यो महोत्सव आयोजना गरिएको प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरूङले बताए।
महोत्सवको उद्घाटन माघ २५ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने कार्यक्रम तय भएको छ।
महोत्सवको मुख्य आकर्षणका रूपमा जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक डा. महेन्द्र पी. लामाको विशेष प्रवचन रहनेछ।
उनले विश्वभरका आदिवासीको अवस्था र भारतको अनुभवबाट नेपालले सिक्न सक्ने पाठका बारेमा प्रस्तुति दिनेछन्।
महोत्सवका क्रममा ८१ वटा अनुसन्धानात्मक कार्यपत्रहरूमाथि गहन छलफल हुने र विभिन्न १५ वटा विषयगत सत्रहरू सञ्चालन गरिने प्रतिष्ठानले जनाएको छ।
महोत्सवमा ६० वटा सूचीकृत आदिवासी जनजातिका मौलिक खानाका स्टलहरू र सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिनेछ। थारू, शेर्पा, थकाली, नेवारी र राई समुदायका मौलिक परिकारका साथै भोटे, छन्त्याल, मगर, गुरूङ र तामाङ लगायतका समुदायको सांस्कृतिक प्रस्तुति रहनेछ।
साथै, नेपालका गौरवका रूपमा रहेका शंखधर साख्वा, लखन थापा मगर, पासाङ ल्हामु शेर्पा जस्ता विभूतिहरूको जीवनीमा आधारित लघु वृत्तचित्रहरू समेत प्रदर्शन गरिने कार्यक्रम छ।
यो महोत्सवले नेपालको बहुजातीय र बहुसांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।