नेपालको प्रजनन दर घट्दो क्रममा छ। यसमा धेरैलाई चासो छैन। यो विषयमा हामीले धेरै नियालेका छैनौं। यसमा हाम्रो नीति निर्माणको तहमा रहेकाहरूलाई समेत सोच्ने फर्सुद छैन। हामीले बिरामीसँग अन्तर्क्रिया गर्ने क्रममा तपाईंको बच्चा कति छन् भनेर सोध्छौं। धेरैको जबाफ एउटा छ भन्ने आउँछ। अनि बच्चा जन्माउने योजनामा रहेकाहरूले पनि एउटा मात्र जन्माउने भन्छन्।
दोस्रो पटक गर्भ रह्यो भने पनि त्यसलाई निरन्तरता दिने नचाहने धेरै हुन्छन्। हामी दुई अनि, हाम्रा दुई भन्ने भनाइ छ नि भनेर सोध्दा हामीमाथि नै प्रश्न हुन्छ, डाक्टर साब दुइटा बच्चा पाएर मात्र के गर्ने?
गर्भ राख्न सजिलो होला तर त्यसलाई जन्माउन, हुर्काउन, पढाउन अनि बिहे सोच्नुस् त? भनेर धेरैले भनेका हुन्छन्।
अहिलेको अवस्थामा बुढाबुढी पालिन त गाह्रो छ भने दुई/दुई बच्चा पाएर मात्र के गर्ने! भन्ने जबाफ आउँछ।
यस्तो जबाफ हामीलाई पनि जायज लाग्छ। हरेक ठाउँमा खर्च छ अनि खर्चको अनुपातमा आम्दानी निकै कम छ। यो विषय निकै गम्भीर पनि छ।पहिला/पहिला दुइटा चाहिन्छ भन्ने थियो। अहिले चाहे छोरा होस् चाहे छोरी एउटा भए पुग्छ भन्नेहरू बढेका छन्। धेरै दम्पतीहरू जे भए पनि एउटा सन्तान भए पुग्छ भन्छन्।
यसो भनिरहँदा उहाँहरूलाई त सहज होला तर देशका लागि घाटा हो। किनकि दुई जनाले एउटा बनाउँदा कालान्तारमा देशको जनशंख्या घट्छ।
यसो भन्नका लागि कुनै अनुसन्धान र तथ्यांक चाहिँदैन। यो निकै गम्भीर विषय भइसकेको छ।
यसको कारण निराकारण गर्नको लागि उच्च तहमा रहेकादेखि सर्वसाधारणले गम्भीर समीक्षा गर्न जरूरी छ।
यस्तो निर्णयमा पुग्नुको प्रमुख कारण आर्थिक नै हो। सरकारले एउटा बच्चा पाउने अनि त्योभन्दा धेरै जन्माउनेका लागि कुनै प्रोत्साहन गरेको छैन। जस्तो: एउटा बच्चा हुनेहरूलाई जति कर छ दुई वा दुईभन्दा धेरै जन्माउनेका लागि समेत करको प्रावधान एउटै छ। सरकारले यसका लागि कुनै योजना ल्याउँदा केही सहज हुन्थ्यो भन्ने हो।
पहिला/पहिला रोजगारीका लागि विदेश जाने चलन थियो। कम्तीमा उसले पैसा पठाएर नेपालमै लगानी गर्थ्यो तर अहिले स्थायी बसोबासका लागि विदेशिने क्रम बढेको छ। नेपालमा भएको घरजग्गा समेत बेचेर जाने क्रम सुरू हुन थालेको छ। जुन कुरा धेरै गम्भीर छ।
अहिले जनसंख्याको ट्रेन्ड परिवर्तन भइरहेको छ।
आर्थिक पाटोसँगै वैदेशिक रोजगारी पनि हो। विदेशमा रहेकाहरू बिहे गरेर १/२ महिनामै काममा फर्किन्छन्। देशमा रोजगारी छैन। परिवार पाल्नको लागि जानुपर्ने बाध्यता छ।
एकातिर विदेश जाने अनि अर्कोतिर आफ्नो करिअर बनाउनका लागि भनेर ढिलो बिहे गर्ने अवस्था आएको छ। जसले गर्दा बच्चा जन्माउने क्रम ढिलो हुन्छ। त्यसपछि प्रजनन क्षमता पनि कम हुँदै जान्छ।
यसको अर्को पाटो पनि छ। श्रीमान-श्रीमती छुट्टिएर बस्न पर्ने बाध्यताको कारणले गर्भ रहने सम्भावना पनि कम हुँदै गएको छ। जसले गर्दा प्राकृतिक रूपमा गर्भ रहँदैन। त्यस्तो अवस्था बच्चा जन्माउनकै लागि पनि धेरै ठूलो खर्च लाग्छ। एउटा बच्चाको लागि मान्छे आफूले सक्ने अनि ऋण गर्न समेत तयार हुन्छ तर दोस्रो बच्चाको लागि त्यस्तो गर्न तयार हुँदैन।
अहिलेको खानपिन, दुषित वातावरण, ढिलो बिहे, श्रीमान या श्रीमतीमध्ये एउटा विदेश भएका कारणले प्रजनन क्षमतामा समेत ह्रास आएको छ।तातो तापक्रममा काम गर्नुपर्ने कारणले गर्दा पुरूषको शुक्रकिटमा समेत समस्या आएको छ। जसले गर्दा प्रजननमा असर परेको छ।
योसँगै बच्चा जन्माएर हुर्काए पनि विदेश जाने भएपछि धेरै भएर के गर्ने भन्ने समेत सोच हाबी भएको छ। एउटा जन्माउने तर उसलाई क्षमतावान बनाउने भन्नेमा बा-आमाको ध्यान जान गएकाले पनि जनसंख्या वृद्धिमा असर हो। यस्तो समस्यामा सोच्ने फुर्सद हाम्रा नीति निर्मातालाई भएन।यसको नतिजा देखिएपछि मात्र सरकार तात्ने होला।
त्यसैले सरकारी तवरबाटै यस्ता विषयमा गम्भीर समीक्षा गरेर योजना ल्याउन जरूरी छ।
(स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.वसन्त शर्मा नारायणी सामुदायिक अस्पताल भरतपुरमा कार्यरत छन्।)