नेपालजस्तो जैविक विविधताले सम्पन्न देशका लागि वनस्पति स्रोत अमूल्य निधि हो। प्रकृति, मानव जीवन र आर्थिक समृद्धिबिचको अन्तरसम्बन्ध अझ बढी परिष्कृत गराउन वनस्पतिले महत्त्वपूर्ण भूमिका खेल्दछन्। वनस्पतिलाई केवल हरियालीको प्रतीक मात्र नभई दिगो विकास, रोजगारी सिर्जना र गरिबी निवारणको प्रमुख आधारको रूपमा निर्देशित गर्दछ।
वनस्पतिको संवर्द्धन तथा प्रवर्द्धनबाट आर्थिक समृद्धि हासिल गर्नमा मद्दत पुर्याउँछ। नेपाल जस्तो भूबनोट र विविधतायुक्त मुलुकको लागि वानस्पतिक प्रवर्द्धन आर्थिक समृद्धिको प्रमुख संवाहक बन्न सक्छ। अधिक सम्भावना बोकेका विभिन्न विकल्पमध्ये वनस्पति स्रोतको विविध उपयोगमा जोड दिँदा नेपालको अर्थतन्त्र उकासिन सक्छ।
वनस्पतिको महत्त्व बहुआयामिक छ। वनस्पति जीवनको आधार हो। यसले अक्सिजन उत्पादन गर्छ, कार्बन डाइअक्साइड अवशोषण गर्छ र जलवायु सन्तुलन कायम राख्छ। माटो संरक्षण, जल चक्र सुचारु गर्न जैविक विविधता संरक्षणमा पनि वनस्पतिको महत्त्वपूर्ण भूमिका हुन्छ। खाद्य सुरक्षाको दृष्टिले पनि वनस्पति अपरिहार्य छ। मानिसले उपभोग गर्ने अधिकांश खाद्य पदार्थ वनस्पतिबाट नै प्राप्त हुन्छन्। औषधीय क्षेत्रमा वनस्पतिको योगदान झनै महत्त्वपूर्ण छ। बहुमूल्य जडीबुटीहरू वनस्पति स्रोत नै हुन्। जसको व्यावसायिक खेती विस्तार, प्रशोधन तथा उत्पादनबाट ठुलो धनराशि भित्राउन सकिन्छ।
वनस्पति स्रोतको अवस्था चुनौती र अवसर दुवै पक्षबाट हेरिन्छ। एकातिर वन विनाश, जलवायु परिवर्तन, अति चरिचरण, वन अतिक्रमण, मिचाहा प्रजातिको प्रकोप, मरुभूमीकरण र अत्यधिक दोहनका कारण धेरै वनस्पति प्रजातिहरू संकटमा परेका छन्। अर्कोतर्फ जैविक उत्पादन, वानस्पतिक प्रविधि, प्राकृतिक औषधि र हरित अर्थतन्त्रप्रति विश्वव्यापी चासो बढ्दो छ। धेरै देशहरूले वनस्पति स्रोतलाई दिगो रूपमा उपयोग गर्दै आर्थिक समृद्धि हासिल गर्ने प्रयास गरिरहेका छन्। यसले नेपालजस्ता देशलाई पनि सिकाइ र अवसर प्रदान गरेको छ।
उदाहरणका लागि भारतले आयुर्वेदिक औषधि र जडीबुटी क्षेत्रमा ठुलो प्रगति गरेको छ। त्यहाँ जडीबुटी खेती, अनुसन्धान, प्रशोधन र निर्यातलाई संगठित रूपमा विकास गरिएको छ। चीनले परम्परागत चिनियाँ चिकित्सा प्रणालीलाई आधुनिक विज्ञानसँग जोडेर विश्व बजारमा स्थापित गरेको छ। युरोपका केही देशहरूले जैविक खेती र औषधीय वनस्पतिमा आधारित उद्योगहरूलाई उच्च प्राथमिकता दिएका छन्। अफ्रिकाका केही राष्ट्रहरूले स्थानीय समुदायको सहभागितामा वनस्पति संरक्षण र उपयोगलाई जोड दिएका छन्।
नेपालमा पनि जडीबुटी उत्पादन, प्रशोधनका लागि केही नीतिगत तथा संस्थागत प्रयासहरू भने भएका छन् तर ती पर्याप्त भएनन्। जडीबुटी तथा गैरकाष्ठ वन पैदावार नीति २०६१ पुरानो भइसकेको छ, वनस्पति स्रोत सम्बन्धी विधेयक तर्जुमा हुन सकिरहेको छैन। समग्र वनस्पति स्रोतको अध्ययन अनुसन्धान तथा विकासको म्यान्डेट बोकेको वनस्पति विभागलाई यथेष्ट स्रोत साधन, जनशक्ति तथा संगठन संरचनासम्पन्न बनाउन सकिएको छैन। वानस्पतिक अनुसन्धान, प्रविधि विकास र बजार सहजीकरणमा वनस्पति विभागले अग्रणी भूमिका लिन सक्छ।
नेपाल भौगोलिक एवं प्राकृतिक हिसाबले वनस्पति स्रोतको अत्यन्त सम्भावना भएको मुलुक हो। जैविक विविधतामा पनि खास गरी वानस्पतिक विविधतामा अग्र स्थानमा पर्दछ। नेपालमा पाइने हिमाली जडीबुटीहरू विश्वमै दुर्लभ मानिन्छन्। यार्सागुम्बा, जटामसी, चिराइतो, सतुवा, पाषाणभेदजस्ता जडीबुटीहरू अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्यमा बिक्री हुन्छन्। तर यिनको उपयोग अझै व्यवस्थित रूपमा हुन सकेको छैन। अधिकांश जडीबुटी कच्चा रूपमा निर्यात हुने भएकाले देशले अपेक्षित लाभ लिन सकेको छैन। यदि प्रशोधन, ब्रान्डिङ र मूल्य अभिवृद्धिमा ध्यान दिइयो भने ठुलो आर्थिक फाइदा लिन सकिन्छ। जडीबुटीहरूको प्रवर्द्धनको लागि ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियान व्यवहारिक रूपमा नै लागु गरेर प्रभावकारी व्यवस्थापन गरी उचित लाभ लिन सक्छौँ।
वनस्पति स्रोतको लाभलाई विविधीकरण गर्न सकिन्छ। औषधीय उत्पादन विकास गरेर स्वास्थ्य क्षेत्रमा योगदान गर्न सकिन्छ। सुगन्धित तेल, जडीबुटी चिया, सौन्दर्य सामग्री र जैविक खाद्य उत्पादन गरी निर्यात बढाउन सकिन्छ। वनस्पति स्रोतमा आधारित उद्योगहरू स्थापना गरेर आर्थिक गतिविधि विस्तार गर्न सकिन्छ। यसै गरी वनस्पति पर्यटन विकास गरेर आयका नयाँ स्रोत सिर्जना गर्न सकिन्छ। यी सबै क्षेत्रले देशको अर्थतन्त्रलाई मजबुत बनाउन सक्छन् र वानस्पतिक उद्यम अभियान सञ्चालन गरी विकासमा शीघ्रता दिलाइ आयात प्रतिस्थापन गर्न र रोजगारी सिर्जनामा टेवा दिन सकिन्छ।
जडीबुटी प्रवर्द्धन नेपालको लागि अपार सम्भावना एवं गहन अवसर पनि हो। तर यसको लागि वैज्ञानिक खेती प्रविधिको विकास आवश्यक छ। प्राकृतिक रूपमा संकलन मात्र गर्ने प्रवृत्तिले दीर्घकालीन रूपमा वानस्पतिक स्रोत नष्ट हुन सक्छन्। त्यसैले जडीबुटी खेतीलाई प्रोत्साहन दिनु, प्रविधि विकास गर्नु र किसानलाई सीप विकास तालिम दिनु आवश्यक छ। स्थानीय समुदायलाई प्रत्यक्ष लाभ हुने व्यवस्था गर्न सकेमा उनीहरू संरक्षणमा पनि सक्रिय हुन्छन् र संरक्षण तथा विकासमा अपनत्व पनि बढ्दै जान्छ।
वनस्पतिको रासायनिक विश्लेषण अर्को महत्त्वपूर्ण पक्ष हो। कुनै पनि जडीबुटीको औषधीय मूल्य त्यसमा पाइने सक्रिय रासायनिक तत्त्वहरूमा निर्भर हुन्छ। यदि ती तत्त्वहरूको वैज्ञानिक रूपमा पहिचान र प्रमाणीकरण गरियो भने मात्र अन्तर्राष्ट्रिय बजारमा स्थान लिन सक्छ। व्यापार प्रवर्द्धनका लागि गुणस्तर र ब्रान्डिङमा विशेष ध्यान दिनुपर्छ। नेपालका जैविक जडीबुटी भन्ने पहिचान गराउन पनि सकिन्छ। प्याकेजिङ, प्रशोधन र प्रमाणीकरणमा सुधार गरेर निर्यात बढाउन अन्तर्राष्ट्रिय बजारसँग सीधा पहुँच विस्तार गर्न सकिन्छ। यसका लागि विभिन्न प्रयोगशालाहरू स्तरीकरण, अनुसन्धान संस्थाहरूको सबलीकरण र दक्ष जनशक्तिको विकासमा जोड दिनु आवश्यक छ। नेपालले यस क्षेत्रमा अझ धेरै काम गर्न सक्नुपर्छ। जसको लागि अध्ययन अनुसन्धानमा थप लगानी गर्नु आवश्यक छ।
वनस्पति क्षेत्रमा आधारित उद्योगहरूले रोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्। ग्रामीण क्षेत्रमा साना तथा मझौला उद्योगहरू स्थापना गरेर युवाहरूलाई रोजगार दिन सकिन्छ। यसले वैदेशिक रोजगारीमा निर्भरता घटाउन मद्दत गर्छ। स्थानीय स्तरमै उपलब्ध स्रोत साधनहरूको सदुपयोग गरेर आय आर्जनमा टेवा दिन सकिन्छ। सामुदायिक वन, जडीबुटी सहकारी संस्था र जडीबुटी कृषक समूहहरूमार्फत जडीबुटीहरूको व्यावसायिक उत्पादन गराउने सम्भव छ।
वनस्पतिको वैज्ञानिक व्यवस्थापन, अनुसन्धान र व्यापार प्रवर्द्धनलाई प्राथमिकता दिन सक्दा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा उल्लेखनीय योगदान दिन सक्छ। वनस्पति स्रोतको दिगो उपयोगका लागि एकीकृत र वैज्ञानिक दृष्टिकोण अपनाउनुपर्छ। अनुसन्धान संस्थाहरूलाई सुदृढ बनाउँदै वनस्पतिको रासायनिक विश्लेषण र गुणस्तर प्रमाणीकरणमा लगानी बढाउनुपर्छ। कच्चा पदार्थ नभई प्रशोधित तथा ब्रान्डेड उत्पादनमा जोड दिई निर्यात प्रवर्द्धन गर्ने नीति लिनुपर्छ। वनस्पति क्षेत्र नेपालका लागि अपार सम्भावना बोकेको क्षेत्र हो। अन्तर्राष्ट्रिय अनुभवबाट पाठ लिँदै जडीबुटी प्रवर्द्धन, रासायनिक विश्लेषण, व्यापार विस्तार र स्थानीय सहभागिता सुनिश्चित गर्न सकेमा यस क्षेत्रले रोजगारी सिर्जना, गरिबी निवारण र आर्थिक वृद्धि सबै पक्षमा योगदान दिन सक्छ।
हाम्रो सामर्थ्यको सही सदुपयोग गर्न सक्दा स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना हुन गई चरम वैदेशिक पलायनमा पनि कमी आउन सक्छ। वन वनस्पतिको दिगो संरक्षणबाट जलवायु परिवर्तनबाट सृजित प्रभावहरू पनि न्यूनीकरण गर्न सकिन्छ। यसका अलावा हामीले वन जोगाएर विश्व समुदायबाट कार्बन ट्रेडमार्फत ठुलो धनराशि भित्राउन सक्छौँ। जसतर्फ नेपाल अगाडि बढिरहेको पनि छ। यसको लागि सर्वसाधारण तथा सबै उपभोक्ताहरूमा सचेतना जगाउनु आवश्यक छ। जडीबुटी प्रवर्द्धन, पर्यापर्यटन विस्तार, जलवायु न्याय तथा जलवायु वित्तमा भरपुर योगदान दिन सक्ने स्रोत पनि वनस्पति नै हुन्। जसले नेपालको अर्थतन्त्रलाई उचाइ दिन सक्छन्।
(लेखक वनस्पति विभागका वरिष्ठ वैज्ञानिक अधिकृत हुन्।)