मनको एक कुनामा
उधिनिएको एउटा भुङ्ग्रोबाट
निस्किएको रापले
वर्तमानमा हासिल गरेको
सबै शब्दहरू सेक्दै छ।
शब्दहरू
कतै भित्तामा क्रान्तिका त
कतै, भुइँमा लडेको लतपतिएको
महिलाको पछ्यौरीमा अनि
कतै वास्तविक राज्यविहीन ती दाजुभाइका
सपनामा धुवाँ बनी उड्दैछन्।
उडेका धुवाँलाई साक्षी राखी
घण्टाघरको घडीको सुई
समयदेखि अन्देखा गर्दै घुम्दो छ।
केही वर रहेको रानीपोखरी
आफूमै आफू रित्तो भएको
महसुस गरी राज्यलाई
तिरो तिर्दो छ।
सँगै टासिएको रत्नपार्क
उसको वक्षस्थलमा विराजमान
भीडभाडलाई गरिबीको जत्था मानी
फुङ्ग उडेको छ।
आजकल विचारहरू मृत छन्
यहाँ शब्द कोर्ने कोरुवाहरू
खोक्रो बनी नर्तकीको नृत्य
बन्द कोठामा बसि हेर्दैछन्।
लाचार जीवन नयाँ सडकको
पिपलबोट मुनि बसि
आफ्नो घुँडामा
कुचिएको चिउँडो अड्याई
आज पनि कखरा पढ्दो नै छ।
हो महोदय
कसैले सिकाएको
जिन्दावाद र मुर्दावादको वाद
आजकल कसैलाई मतलब छैन।
शब्दहरू नयाँ मानकबाट
उदाउँदो छन्।
समाजमा उजाडिएको बगैंचा
आज पनि फुङ्ग नै उडेको छ।
मलाई थाहा छ,
शहरको माहोल तातेको छ
कसैको मन जलेको छ
शब्दहरू बढेको सरगर्मी माझ
तापको रापमा सेकिएर
बन्द कोठामा थन्किएको नै छ।