हामी कति जनालाई याद छ, हाम्रा बा-आमाले हामीलाई केटाकेटीहरू चले भनेर ‘थपक्क पन्थ मारेर बस’ अर्थात् थपक्क पलेटी कसेर बस भनेर सम्झाएको। त्यति बेला गुन्द्री र सुकुल हुन्थ्यो, घरमा नै बनाइन्थ्यो। बस्न, सजिलो, परालबाट बन्ने त्यही सुकुल घरको पिँडीमा राखेर त्यसमा बस्न पर्दथ्यो। साँझ परेपछि भित्र आइज लामखुट्टे, किरा फट्याङ्ग्राले टोक्छन् भनिन्थ्यो।
घरमा बत्ती थिएन। सिसाको चेलपार्क मसीको बट्टामा कपडाको बत्ती बनाएर मट्टितेल राखेर बालिन्थ्यो। कतै पित्तलका पानस पनि हुन्थे। आखिर उज्यालो दिने न थियो, घरको तलमाथि आइजाइ गर्न रात परेपछि त्यही बत्ती ढेब्री पनि भनिन्थ्यो। पानस बोकेर आउन जान पर्दथ्यो। यदाकदा पर्व बिहे आदिमा मेन्टोल देखिन्थ्यो, सामान्य बेलामा हुन्थेन।
तलामा राख्न धराप भएकाले आमाहरूले तलमाथि गर्न पर्दथ्यो। बाहरू घरको काम गर्दैनथे। आमाले गुन्द्री बुन्ने, मेला जाने, पर्म जाने, पानी बोक्ने, कपडा धुने, खाना पकाउने, तरकारी टिप्ने, तरकारी रोप्ने, खेत रोप्ने, बन जाने, खसी बाख्रा चराउने, पगाहा लगाउने सबै गर्न पर्दथ्यो मेसिन जस्तै।
घरभरि छोराछोरी, एकलास गाउँ, कम बस्ती, घरमूली राति मात्र आउने, दिनभर हराउने, सबै कुरा आमाहरूको कृपा थियो, धन्न भ्याउँथे बिचरा आमाहरूले। पँधेरो टाढा, एक गाग्रो पानी भर्न दिनै लाग्ने थियो, तैपनि सबै कुरा भ्याएकै थिए। मात्र फरक थियो त समाजमा गाउँमा माया, प्रेम, दया, नैतिक र धर्म थियो। सहायता गर्ने, सघाउने संस्कार थियो, सबैमा सद्भाव थियो। जातभात थियो नै तर काम जिम्मा थियो, आ-आफ्नै इज्जत र काम थियो एक अर्कामा आ-आफ्नै महत्त्व थियो।
स्कुलमा सर र म्याडम हुन्थे। एकाध म्याडम मिस बाँकी सर नै हुन्थे। सबै विद्यार्थी डराउँथे शिक्षकदेखि। बाटोमा स्कुल बिदामा भेट्दा पनि सर भनेपछि कति सम्मान, इज्जत, मर्यादा र सद्भाव थियो। यो सब कहाँ हरायो। प्रविधि आयो, आधुनिकता आयो तर माया, प्रेम, सद्भाव, इज्जत,मर्यादा, डर, त्रास, भय रहेन। कसैले कसैलाई नटेर्ने भए नमान्ने भए तैँ ठुलो, मै ठुलो, मै जान्ने, मै सुन्ने भन्ने जस्ता दिन आए।
आज बाआमाले कता पन्थ मारेर बस भन्नु! कहाँ थपक्क बस्नु! सोफा, कुर्ची, टेबुल भुईँ खाटको जमाना कता गुन्द्री, थर्कटो, सुकुल, दरी, काम्लो र राडी भेट्नु सबैतिर ब्ल्यान्केट आए। बा-आमा भनेपछि सबै डराउँथे र आज्ञा पालन गर्दथे।
‘सिट प्रपर्ली वेल नाइस्ली’, ‘बि सिटेड’ भन्ने मात्र बुझ्छन् बच्चाले। म्याट्रेसको चलन पायो कहाँ पाउनु गुन्द्री काम्लो? ‘आउँदा जाँदा पसे है गुन्द्री तानी बसे है’ भन्ने गीतको भाखा हरायो, सभ्यता हरायो। अहिलेका बच्चाले पलेटी भनेको रेस्टुरेन्टको नाम भनेर बुझ्छन्।
भतिजालाई बाले थपक्क पन्थ मारेर बस भन्नुभयो, भतिजोले बुझेन सायद। बुझोस् पनि कसरी, ऊ अर्कै वातावरणमा हुर्क्यो बढ्यो। मैले यसरी बस्ने देखाएँ, उसले मलाई गाह्रो हुन्छ भन्यो। पलेटी कसेर बस्न, कलकल गरेर अम्खोराले पानी पिउन, सुसेल्न, उकालो ओह्रालो गर्न, सिँढीमा चढ्न, हिँड्न, आली-कान्लामा हिँड्न सक्दैनन् अहिलेका बालखाहरू।
अहिलेका बच्चा अस्थिर छन्, मोबाइलको लत छ। एकै ठाउँमा घन्टौँ बस्छन् मोबाइल पाए, नत्र दश पन्ध्र मिनेट बस्न पनि धौधौ छ। हामी अहिलेका बच्चालाई त्यही बाले भने झैँ पन्थ मारेर बस, चुपचाप बस, नबोल, बोल्न हुन्न, भन्दछौँ कसरी मान्छन्! शिक्षकहरू ‘पिन ड्रप साइलेन्ट क्लास’ भन्दछौँ तर यो सम्भव छैन। बालख, विद्यार्थी, मानव मस्तिष्कबाट चल्छ, बस्तु होइन चलायमान छ, हामी रोबर्ट झैँ आदेशमा चलाउन चाहन्छौँ। यसैलाई अनुशासन, डिसिप्लेन भन्छौँ। यो भनेको मान्ने बच्चालाई महान् ठान्छौँ।
बच्चा नचले को चल्छ? बच्चा नखेले को खेल्छ? मात्र फरक यति हो कि केही समय खेल्ने, केही बेला पढ्ने र सिक्ने कुरामा सम्झाउनु र अर्थाउनुपर्छ। अभिभावक, शिक्षक सबैले बच्चाको उमेर ख्याल गर्नुपर्छ। हामीले सक्ने गर्न, मन पराउने काम बच्चाले गर्न सक्दैन र चाहँदैन। हामी बच्चालाई हाम्रै तवरबाट हेर्छौँ।
चस्मा बदल्यौँ, युग बदलियो, समय बदलियो, स्थान परिवेश, वातावरण, समाज, देश बदलियो, आज पनि हामी ‘थपक्क पन्थ मारेर बस नचल’ भन्न छाडेका छैनौँ। हामी फेरियौँ भने मात्र बच्चा फेरिन्छ। बच्चाले चल्ने, फिर्ने, खेल्ने, नाच्ने, हाँस्ने काम कि त मिडियाको नक्कल, युट्युबको अनुसार हुन्छ कि त साथीभाइको संगतमा हुन्छ। हामी अभिभावकको आदेशमा हुँदैन। यसैले बच्चाको पालन पोषणमा धनाढ्य, घरानियाँ, वरिष्ठ, इज्जतिलो बन्ने नाउँमा आफ्नो परम्परा, संस्कार, धर्म, रिवाज नभुलौँ।