मस्तिष्कमा यादहरू भूकम्प जस्तै एक्कासि आउँछन् र मस्त मथिंगल हल्लाउँछन्। काश मानिसको मस्तिष्कमा पनि एउटा यस्तो ढोका हुन्थ्यो जहाँ पुगेर आगन्तुकहरूले भित्र छिर्नु अघि त्यो ढोका ढकढकाउन परोस्, अनुमति बिना प्रवेश निषेध होस्। त्यसो हुन्थ्यो भने मानिसले यतिविधि दुख पाउने थिएनन् भन्ने मलाई लाग्छ। सुनिन्छ कठोर ध्यान तपस्या गर्ने मानिसहरूले त्यस्तो खाले प्रवेशद्वार खडा गरेका हुन्छन् अरे तर म त फगत एउटा मामुली कद, मामुली दिनचर्या, मामुली रुप, मामुली रङ, मामुली दिमाग भएको एक आम चानचुने मानिस न परेँ।
बितेका केही दिनदेखि हरेक बिहान मेरो मस्तिष्कमा एक कोष परैबाट नमिठो गन्ध आउने अपरिचित मदिरा प्रेमीको यादले डेरा जमाएको छ। हरेक दिन कार्यालय जान मैले पछ्याउने बाटोमा भेटिने अनेकन मामुली, चानचुने, गैरमामुली र विशेष मान्छेमध्ये ऊ मलाई विशेष लाग्थ्यो। प्रायजसो मदिराको मातले झुल भएर ऊ कतै गइरहेको हुन्थ्यो। म जतातिरबाट जाँदै हुन्थेँ, ऊ उतैतिर सुस्त गतिमा आउँदै हुन्थ्यो। ऊ लगभग मेरै उमेरको हुँदो हो, तर धमिराले भित्रभित्रै खाएर खोक्रो पारेको रुखजस्तो उसको रङ पनि फुङ्ग उडेको थियो। टाउको भुइँतिर झारेर, कुप्रो परेर हिँड्ने ऊ पानीको चरम अभावले खडेरीमा ओइलाएर लुथ्रुक्क परेको सूर्यमुखी फूलजस्तो देखिन्थ्यो। उसले आकाशको रङ नदेखेको युग भइसकेको हुँदो हो।
हरेक दिनजसो एकै समयमा लगभग निलमोहरको रुख आसपास भेटिने उसको हातमा सधैँ एउटा प्लास्टिकको झोला हुन्थ्यो— झोलाभित्र के हुन्थ्यो, उही जानोस्। उसले एक-दुई पल्ट बल्लतल्ल आफ्नो झोलिएको मुन्टो केही बङ्ग्याएर लोलाएका आँखा उठाई मलाई हेरेको थियो। उसको आँखा तेल सकिन लागेको दियोमा पिल्पिलाइरहेको बत्ती जस्तो बेचमक थियो। लाग्थ्यो, केही बेरमा तेल सकिनेवाला छ र उसको आँखाको चमक सधैँका लागि बिलाउनेवाला छ। उसको हिँडाइको सुस्तता देख्दा यस्तो लाग्थ्यो— उसलाई निकै ठुलो भारीले थिचेको छ।
हरेक दिन लगभग एकै समयमा मैले पछ्याउने बाटोमा एकै खाले मान्छेहरूसँग देखादेख हुन्छ। त्यसरी देखिने मानिसहरू एक-दुई दिन हराए भने पनि फेरि ठन्डी याममा लाग्ने बाक्लो हुस्सुलाई चिर्दै निस्कने घामझैँ झुल्किरहन्छन्। कुनै दिन १० मिनेट मात्रै ढिलो वा चाँडो निस्कँदा बाटोमा भेटिने मानिसहरू फरक पर्छन् र दृश्य केही अलग हुन्छ। जस्तो— कुनै विशाल हिमालको बेसक्याम्पबाट हिमाललाई केही मिनेटको अन्तरालमा हेर्दा बादल, घाम, छाया र बतासको तालमेलका कारण दृश्यमा विविधता पाइन्छ, ठिक उस्तै। तर मैले पछ्याउने बाटोको दृश्य जति फरक भए तापनि आजकल ऊ भने देखिएको छैन। जबसम्म म उसलाई खासै वास्ता गर्दैनथेँ, ऊ प्रायः देखिन्थ्यो। उजाड मरुभूमिजस्तो प्रतीत हुने उसको जीवन के कुनै बेला गुल्जार थियो होला? जीवनमा कुनै चिज हराएपछि मात्रै खोजिन्छ कि? वा साह्रै आवश्यक परेर खोज्दा त्यो चिज भेटिँदैन?
ऊ हराएको ताकातिरै केही समयदेखि बेपत्ता भएकी एक 'तुफानी' केटी फेरि देखा परेकी थिई। सलक्क परेको कपालमा खैरो रङ भरेकी उसको खुट्टा यति रफ्तारमा चल्छन् कि कुरै नगरौँ। यस्तो लाग्छ, जापानीहरूले उसको हिँडाइको गति देखेर नै बुलेट ट्रेनको परिकल्पना गरेका हुन्। आफ्नो हिँडाइ भने मामुली, कोइलाको इन्जिनमा निर्भर रेलजस्तो! ऊ प्रायः पछाडिबाट तुफानसरि आएर, आफ्नो घाँटी सफा गर्दै मलाई बाटो माग्छे र जितेर सररर अगाडि लाग्छे। यदि म घरबाट निस्कँदै नै ऊ अगाडि लागिसकेकी हुन्छे भने उसले मलाई त्यसरी जितेर जान पाउँदिन। कुनै दिन उसलाई— ‘हैन, यसरी रन्केर तपाईं कहाँ जानुहुन्छ?’ भनेर सोध्न मन छ।
आफ्नो दाहिने शरीर पक्षघात (प्यारालाइसिस) भएर एक उत्कृष्ट फिजियोथेरापिस्टको अथक प्रयासपछि बल्ल आफ्नै बलमा हिँड्न सक्ने भएका दाजुलाई सधैँजसो आफ्नो दाहिने भाग घिसार्दै मन्द गतिमा आउँदै वा जाँदै गरेको भेट्छु। उनी मलाई हेरेर मुस्कुराउने प्रयास त्यस दिनदेखि गर्छन्, जुन दिन उनलाई लड्नबाट मैले जोगाएको थिएँ। उनी मसित बोल्थे होलान्, तर पक्षघातले खोसेको उनको बोली अझै फर्किएको छैन। तैपनि मन्दिरसम्म आएर, जुत्ता खोली परिसरभित्र पसेर भगवानलाई नियमित पुकारेका नै हुन्छन्। उनलाई लाग्दो हो देउताले त मनकै कुरा पनि सुन्छन्।
एक भारी किताब-कापी बोकेर आफ्नो कोमल अनुहारमा उदासी पोतेर हिँड्ने सानी नानी हरेक दिन निलमोहरको रुख आसपास भेटिन्छिन्। म दाहिनेतिरबाट आएँ भने ऊ परैबाट देब्रेतिर लाग्छे, म देब्रेतिरबाट आएँ भने ऊ दाहिने लाग्छे। केही समय अघिसम्म उसका बाबु उसलाई स्कुल पुर्याउन जान्थे। म उनलाई ‘सेवारो है दाजु’ भन्थेँ, उनी ‘सेवारो भाइजी, लागियो दफ्तर’ भन्थे। आजकल पनि दाजुभाइसँग आक्कलझुक्कल जम्काभेट भइरहन्छ।
तरबारको धारझैँ तिखो क्रिज भएको सर्ट-पाइन्ट पहिरिएर, रेबनको कालो चस्मा टल्काएर बुलेट बाइकमा सवार हुने रणबीर सिंहजस्तो केटाले हरेक दिन टोल थर्काइरहेको हुन्छ। कानमा एयरबड झुन्ड्याई आफ्नो परदेशी प्रेमीसँग गफिँदै हिँड्ने गोरी केटी पनि उसकै अन्दाजमा ओरालो ओर्लँदै देखा पर्छे।
उकालो सकिएपछि भेटिने कलात्मक शैलीका कपडाहरू पहिरिने महिला भने केही समय बेपत्ता थिइन्। उनको अनुपस्थितिमा त्यो गल्लीको चमक अलि खल्लो भएको आभास हुन्थ्यो। उनी हराएको केही दिनपछि उनले औधी प्रेम गरेर डोरीले बाँधी डुलाउने गरेको जापानी स्पिज जातको ‘टोनी’ नामक सानो कुकुर आजाद भएको थियो। राजाको मूल कुकुर फुकेझैँ ऊ बडो आनन्दका साथ यताउता भागिरहेको हुन्थ्यो। डोरीको बन्धन हुँदासम्म ऊ निकै सुकिलो देखिन्थ्यो; उसको दिसा-पिसाब गर्ने ठाउँ र कार्यविधि स्पष्ट थियो। तर अहिले जतापायो उतै सुत्ने र फोहोर गर्ने हुनाले ऊ निकै फोहोरी भएको थियो।
टोनीकी मालिक्नीको मायाको डोरीले बाँधिँदासम्म ऊ मतिर खुबै रिसले भुक्थ्यो। टोकी हाल्छु झैँ गर्दै मेरो छेउ आउँथ्यो। ‘बाबु नो, टोनी माई गुड बोइ’ भनेर मालिक्नीले सम्झाएपछि ऊ केही शान्त हुन्थ्यो। तर मालिक्नी हराएपछि भने टोनी मप्रति अपनत्वको आश गर्थ्यो। त्यो सुनसान गल्लीमा म तलबाट उक्लँदै गरेको देख्नासाथ ऊ खुरुरु कुदेर आउँथ्यो र मेरो खुट्टामा ओत लाग्थ्यो। ‘ओइ टोनी, कहाँ गई तेरी अङ्ग्रेजीमा मात्रै कुरा गर्ने मालिक्नी?’ म उसलाई सोध्थेँ। मेरो नेपाली नबुझेर होला, चुपचाप लुते पुच्छर हल्लाउँदै ऊ मेरो अघिपछि गर्दै चोकको पसलसम्म पुग्थ्यो। त्यति गरेबापत उसले एक पुरिया पार्ले-जी बिस्कुट पाउँथ्यो। ऊ पुच्छर हल्लाउँदै बिस्कुट खाइरहन्थ्यो र म उसलाई त्यहीँ छोडेर अघि बढ्थेँ।
प्रायजसो एक भारी पेटी र पर्स बोकेर व्यापारमा निस्कने कोसीपारिका फुर्तिला दाजुसँग मेरो भेट हुन्थ्यो। ‘के छ? कसो छ?’ भन्दै हामी कुरा गर्थ्यौँ। उनी आफ्नो बाटो लाग्थे, म आफ्नो। आजकल थकाली भान्साघरको पेटीमा पल्टिरहने त्यो झुत्रे मानिस पनि गायब थियो। सायद ऊ बसाइँ गयो। बाटोमा भेटिने यी सबै मानिसहरू एकै दिन क्रमशः भेटिनु एउटा संयोग थियो।
त्यस्तै संयोग जुरेको एक दिन कोसीपारिका दाजुलाई बिदा मागेर अगाडि बढ्दा, हावामा अमिलो गन्ध छर्दै ऊ अगाडि देखा पर्यो। उसको हातमा सदाझैँ प्लास्टिकको पोको थियो। म रफ्तार बढाएर अगाडि लागेँ। रिङरोडको छेउमा करिब आठ-दश वर्षका दुई नानीहरू गाडीको चाप कम हुने प्रतीक्षामा व्यग्रताका साथ उभिएका थिए। मैले उनीहरूको व्यग्रता बुझेर आफूतिर आउने इसारा गरेँ। गाडीहरूको अटुट ताँती धुलाम्य सडकमा हानथाप गर्दै हुइँकिरहेको थियो।
मेरो हात समाउँदै सानीले ‘थ्याङ्क्यु अङ्कल’ भनी। मैले मुसुक्क मुस्कुराउँदै भनेँ, ‘अहिले नै तिम्रो थ्याङ्क्यु लिन्न ल!’ पुलुक्क मतिर हेर्दै ठुलीले प्रश्न गरी, ‘किन?’ ‘पख न, पारि त जान देऊ,’ मैले भनेँ। उनीहरू मस्त हाँसे। गाडीका ताँती केही कम भएपछि जेब्रा क्रसिङबाट हामीले बाटो काट्यौँ। पारि पुगेपछि उनीहरू दुवैले एकैस्वरमा ‘थ्याङ्क्यु अङ्कल’ भने। म धन्यवाद दिएर गाडी पर्खनको लागि सडकतर्फ फर्किएँ।
गाडीहरूको भागाभागका बिच ऊ सडकको मध्य भागमा उभिएको थियो। उसले दाहिने हातको बूढीऔँला आकाशतर्फ ठड्याएर मलाई हेरिरहेको थियो। ऊ आफ्नो शरीर घिसार्दै मेरो अगाडि आइपुग्यो र ‘गुड जब’ भन्दै पहिलोपटक मुस्कुरायो। उसको मुस्कानको जवाफमा म पनि मुस्कुराएँ। ऊ रोडको छेवैछेउ लत्रिँदै अगाडि बढ्यो। उसको मुस्कान सहितको कृतज्ञताले मेरो अस्तित्वको कण-कणमा आनन्दको वर्षा भयो।
त्यसको भोलिपल्ट रफ्तारवाली ‘म इन्स्टाग्राममा खासै एक्टिभ छैन’ भन्दै फोनमा कुरा गर्दै मलाई जितेर अगाडि लागी। 'पख, आज म पनि यससँगै जान्छु' भन्दै मैले आफ्नो रफ्तार बढाएँ तर उसलाई भेट्नु असम्भव थियो। उकालो गल्लीको छेउमा पुगेपछि टोनीकी मालिक्नीको अङ्ग्रेजी तलैबाट सुनियो। टोनीले मलाई देख्नासाथ दगुर्दै म भएको ठाउँमा आयो र मसँगै उकालो उक्लिन थाल्यो। मेरो अघिअघि हिँडिरहेको टोनी उकालोको शिरमा पुगेपछि मालिक्नीतिर हेर्दै जोडजोडले भुक्न थाल्यो। जिमखानाको पोसाकमा उनी अर्कै कुकुरलाई डोर्याउँदै थिइन्।
केही समयअघिसम्म टोनी बाँधिने डोरीको फन्दा अहिले एउटा नयाँ कालो ल्याब्रडोर कुकुरको गलामा बाँधिएको थियो। टोनी दगुर्दै गएर त्यो नयाँ कुकुरलाई झम्टन खोज्यो, तर ऊभन्दा निकै ठुलो कालो कुकुरले उल्टो ऊमाथि झम्टियो। फुच्चे टोनीको सत्तो गयो। तर्सिएर ऊ टाढा भाग्यो। त्यो देखेर फोनमा कुरा गर्दै गरेकी उसकी भूतपूर्व मालिक्नी मरीमरी हाँस्न थाली। टोनी पर कुनामा बसेर हेरिरह्यो। मैले बोलाउँदा पनि ऊ मेरो पछि आएन।
त्यस दिनदेखि उसको कुदाइ बन्द भयो। ऊ मलाई देखेर उत्साहित हुन छोड्यो। मैले बोलाउँदा पनि ऊ मेरो पछि आउन छोड्यो। बिस्कुट उसको अगाडि राखिदिँदा पनि मन लगाएर खान छोड्यो। गल्लीको छेउ, जहाँबाट उसकी भूतपूर्व मालिक्नीको घरको बार्दली देखिन्थ्यो, ऊ त्यहीँ चुपचाप आफ्नो मुख जमिनतर्फ निहुराएर बसिरहन थाल्यो।
हरेक दिन त्यही अवस्थामा भेटिने टोनी एक बिहान देखिएन। जिमखानाको पोसाकमा यताउता गरिरहेकी ‘अङ्ग्रेजी म्याडम’— ‘जोनी नट देयर, यू नटी बोइ’ भन्दै नयाँ कुकुरलाई सम्झाइरहेकी थिइन्। मैले पसले दाजुलाई गएर टोनीको बारेमा सोधेँ। ‘ए, टोनीले त नयाँ साथी पाएको छ, उता हेर्नुस् त’ भन्दै उनले रिङरोडतर्फ इसारा गरे। दुई ठूला निलमोहरका रुखको बिचबाट अगाडि बढेर टोनी र त्यो मदिरा प्रेमी सँगसँगै बाटो काटेर पारि जाँदै थिए।
त्यस घटनाको धेरै दिनसम्म मैले उनीहरूलाई देखिनँ। कहिले छिटो निस्किएँ, कहिले ढिलो गरेँ; कहिले त्यही बाटो हिँडेँ त कहिले बाटो फरक गरेँ, तर न टोनी भेटियो न मदिरा प्रेमी। निलमोहरका रुखहरू ढकमक्क फुलेर मौसम गुल्जार भएको एक बिहान कार्यालय निस्कँदा हल्का वर्षा भइरहेको थियो। वर्षा यस्तो थियो कि छाता ओढे पनि हुने, नओढे पनि खासै फरक नपर्ने। करिब पाँच मिनेटको रुझाइका लागि मैले छाता बोक्ने झन्झट गरिनँ। मन्द बतासमा झुलिरहेका निलमोहरका हाँगाहरूबाट फुरुफुरु बैजनी फूलहरू झरिरहेका थिए। बाटोमा बैजनी रङ पोतिएको थियो। सानी नानी झोलाको भारी बोकेर सुस्तरी आउँदै थिई।
रफ्तारवालीले मलाई जितेर अगाडि लागी; त्यस दिन उसको पहिरनबाट थाहा भयो ऊ हतारिँदै कहाँ जान्छे। उसले नर्सहरूले लगाउने हरियो रङको स्क्रब लगाएकी थिई। उकालो गल्ली सुनसान थियो। हरेक दिन जस्तै सायद टोनी भेटिन्छ कि भन्ने मेरो आशा वास्तविकतामा परिणत भएन। गल्लीको अगाडिबाट सप्तरी रङ्गी छाता ओढेर, जोनीलाई कुकुरहरूले लगाउने पहेँलो रङको रेनकोट लगाइदिएर उनी आउँदै थिइन्। जोनीले परैबाट मलाई हेरेर भुक्यो। उनले जोनीलाई रोकिन्। ऊ झन्-झन् ठुलो स्वरमा भुक्दै थियो। म चुपचाप हिँडिरहेँ। पसले दाजु गाउँ गएकाले उनको पसल दुई दिनदेखि बन्द थियो।
बैजनी रङ पोतिएको बाटो हुँदै सडक पार गर्ने ठाउँमा पुग्दा मेरो नजर बैजनी फूलहरूले ढाकिएको नालातर्फ पर्यो। नालाको डिलमा आकाशतर्फ खुट्टा ठड्याएको टोनी निथ्रुक्क भिजेर पल्टिरहेको थियो। म त्यो दृश्यले चिसो भएँ। उसको शरीर निष्प्राण थियो। गाडीका ताँतीहरू सदाझैँ अटुट थिए। म सडकको डिलमा उभिएर भावशून्य टोनीलाई हेरिरहेँ। उसका विगतका क्रियाकलाप एकपछि अर्को गर्दै मेरो मस्तिष्कमा नाचिरहेका थिए। उसको लासमाथि निलमोहरको रुखबाट बैजनी फूलको हल्का वर्षा भइरहेको थियो। आकाशबाट भइरहेको पानीको वर्षाको रफ्तार केही बढेको थियो।
अब भने वर्षाबाट जोगिन छाता वा ओतको जरुरी थियो। एकाएक हावामा परिचित अमिलो गन्ध व्याप्त भयो। मैले मुन्टो मोडेर पछाडि हेरेँ। मदिरा प्रेमी सुस्त गतिमा बाटो काटेर मेरो छेवैबाट टोनीको लास भएकोतिर जाँदै थियो। पानी दर्कन थाल्यो। म बाटो काटेर पारि बस बिसौनीको फल्चामा ओत लागेर टोनीको निष्प्राण शरीर भएतिर फर्किएँ। पानी र फूलको वर्षामा रुझ्दै एउटा लट्ठीको मद्दतले मदिरा प्रेमी टोनीको छेउमा खाडल खन्दै थियो। त्यो नै हो मैले उसलाई अन्तिमपटक देखेको, त्यस दिनदेखि ऊ बेपत्ता छ। हिजोआज टोनीलाई गाडिएको ठाउँमा रोपिएको निलमोहरको बिरुवा निकै हरियो भएर हुर्कँदै छ।