मध्यरात आफ्ना साथीहरूलाई कैलालीबाट बाँके बोलाएर एक युवकको हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
बाँकेको खजुरा गाउँपालिका–६ का २१ वर्षीय विशाल चन्द ठकुरीको मंगलबार बिहान ५ बजेतिर चक्कु, बियरका बोतल लगायतको आक्रमणबाट हत्या गरिएको प्रहरीले जनाएको छ।
उनलाई बिहान ६ बजे नेपालगन्जस्थित संजीवनी कलेज अफ मेडिकल साइन्सेसमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
हत्या गरिएका विशाल वैशाख २१ गते आफ्ना साथी नेपालगन्ज उपमहानगरपालिका–१२ बेलासपुरका २१ वर्षीय प्रितम अधिकारीको ब्रतबन्धमा भाग लिन गएका थिए।
अधिकारीको ब्रतबन्ध सकिएपछि उनको घरमा सुत्नलाई ठाउँ पुगेन। त्यसपछि अधिकारीले आफ्ना आफन्त पर्ने स्थानीय दीपेन्द्र रोकायाको घरमा सुत्ने व्यवस्था गर्दै विशाल लगायतका साथीहरूलाई त्यहाँ पठाएका थिए।
रोकायाको घरमा एउटै कोठामा बसेर रमाइलो गर्ने क्रममा २२ गते बिहान २ बजेतिर दीपेन्द्रराज गिरी र विशाल चन्द ठकुरीबीच आपसमा वादविवाद हुन्छ। दीपेन्द्र र विशाल दुवै प्रितमका साथी भए पनि उनीहरूबीच त्यो दिन मात्र चिनजान भएको थियो।
चिनजान भएको पहिलो दिनमै विशालसँग विवाद भएपछि दीपेन्द्र कोठाबाट बाहिर निस्केका थिए। उनले आफ्नो घर कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–१ का साथीहरूलाई फोन गरी नेपालगन्ज बोलाए। उनको फोनका आधारमा लम्कीचुहा–१ का उनका साथीहरू २० वर्षीय बिबिएस कुँवर, १८ वर्षीय सुशिल खत्री र २० वर्षीय खगेन्द्र देवकोटा दुईवटा मोटरसाइकल चढेर रातारात नेपालगन्ज आइगेका थिए।
बाँकेका प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार यी तीन जना 'नन्दु सरकार ग्याङ' मा आबद्ध व्यक्तिहरू हुन्। उनीहरूले कैलालीमा गुण्डागर्दी गर्दै आएको प्रहरीले जनाएको छ।
कैलालीबाट मोटरसाइकलमा रातारात हिँडेकाहरू बिहान ५ बजेतिर नेपालगन्ज आइपुगे। त्यसपछि उनीहरूलाई सहयोगका लागि बोलाउने दीपेन्द्र लगायत चारै जनाले विशाललाई सुतिरहेकै कोठामा गएर बियरका बोतल, चक्कु लगायतले आक्रमण गरेका थिए।
प्रहरीका अनुसार विशाल ज्यान जोगाउन कोठाबाट भाग्न खोजेका थिए। तर, उनीहरूले लखेट्दै आक्रमण गरे। झन्डै एक सय मिटर पर पुग्दासम्म त्यो क्रम जारी रह्यो। विशाल प्रहार सहन नसकी बाटोमै लडे। त्यसपछि पनि उनीहरूले आक्रमण गरिरहे। केही बेरपछि विशाल अचेत भएको ठानेर उनीहरू त्यहाँबाट भागे।
डिएसपी पातलीका अनुसार घटनापछि फरार भएका उनीहरूलाई प्रहरीले सिसिटिभी फुटेज लगायत विभिन्न कुराहरूको अनुसन्धान गर्दै पच्छ्याएका थिए। दीपेन्द्र सहित चार जनालाई बर्दियाको ठाकुर बाबा नगरपालिका–२ अम्रेनीबाट मंगलबार बेलुकी नियन्त्रणमा लिइएको हो।
विशाल ठकुरी हत्याकाण्डमा कालिकोटको पचाल झरना नगरपालिका–६ का १८ वर्षीय सन्तोष संज्याल र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का २० वर्षीय रूपेश थापा पनि पक्राउ परेका छन्। उनीहरू पनि प्रितमको ब्रतबन्धमा निम्त्याएका थिए। उनीहरू नेपालगन्जमै बसेर अध्ययरत विद्यार्थी हुन्। विशाल ठकुरीको हत्या घटनामा यी दुईको पनि भूमिका देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी पातलीले जानकारी दिए।
'संज्याल र थापाको भूमिका कुन प्रकारको थियो भन्ने थप अनुसन्धानबाट खुल्नेछ,' डिएसपी पातलीले भने, 'तर प्रारम्भिक अनुसन्धानबाट उनीहरूको पनि कुनै न कुनै प्रकारको संलग्नता हो भन्ने खुलेको छ।'
घटनामा परी जुम्लाको चन्दननाथ नगरपालिका– ४ का २० वर्षीय योगेन्द्र कामी घाइते भएका थिए। उनी मंगलबार उपचारपछि डिस्चार्ज भइसकेको डिएसपी पातलीले बताए। कामी पनि प्रितमले ब्रतबन्धमा निम्त्याएका साथी हुन्।
प्रहरीले घटनास्थलबाट एउटा सानो चक्कु, बियरका फुटेका टुक्राहरू बरामद गरेको छ। उनीहरूले प्रयोग गरेको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
विशाल हत्याकाण्डबारे पक्राउ परेकाहरूविरूद्ध म्याद थप भइसकेको प्रहरीले जानकारी दिएको छ।