माइती नेपालको वीरगञ्जस्थित कार्यालयले ५ वर्षमा मानव बेचबिखनमा परेका १६० जनाको उद्धार गरेको छ।
उनीहरूलाई भारतको विभिन्न स्थानबाट उद्धार गरेर ल्याइएको हो।
उद्धार गरिएकाहरू भारतको रक्सौल, छपरा, सिवान, मोतीहारी, छौडादानो लगायत क्षेत्रका छन्।
सन् २०२१ देखि २०२५ सम्म सीमा निगरानीका क्रममा बेचबिखनको जोखिममा परेका ७ सय ९९ जना महिला तथा बालबालिकालाई नाकामै रोकिएको माइती नेपाल वीरगञ्ज शाखाले जनाएको छ।
कार्यालयले आइतबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै पाँच वर्षमा मानव बेचबिखन सम्बन्धी १३ वटा मुद्दा दर्ता भएको जानकारी दिएको छ।
माइती नेपालको वीरगञ्ज शाखामा आवधिक गृह पनि छ। जसमा लैंगिक हिंसामा परेका, मानव बेचबिखन र जर्बजस्ती करणीमा परेका महिला तथा बालिकालाई आवश्यकता अनुसार तीन महिनासम्म राख्ने गरिएको छ।
वीरगञ्जस्थित आवधिक गृहबाट पाँच वर्षमा १ हजार ३ सय ३९ जनाले सेवा लिएको माइती नेपाल वीरगञ्ज शाखा सुपरभाइजर गोमा कुमारी पौडेलले जानकारी दिइन्।
उनका अनुसार सन् २०२५ मा सीमा निगरानीका क्रममा जोखिमपूर्ण अवस्थामा १६३ जनालाई उद्धार गरिएको छ। जसमध्ये १ सय ३० जनालाई आवधिक गृहको संरक्षणमा राखेर प्रहरीमार्फत् अभिभावकको जिम्मा लगाइएको थियो भने ३३ जनालाई नाकाबाटै घर फिर्ता पठाइएको थियो। उनीहरूमध्ये ४० जना १८ वर्षसम्मका छन् भने १ सय २३ जना १८ वर्षभन्दा माथिका छन्। भारतीय प्रहरीसँगको समन्वयमा उद्धार गरिएकाहरू बिहारको छपरा, सिवान, मोतिहारीका छन्।
माइती नेपालले भारतीय प्रहरी र अन्य निकायहरूसँगको समन्वयमा बेचबिखनको जोखिममा परेको बालबालिका तथा महिलाहरूको उद्धार तथा पुनर्स्थापना गर्ने, बेचबिखनको जोखिममा परेका बालबालिका तथा महिलालाई पहिचान गरी सीमा नाकामा नै रोक्ने, उद्धार गर्ने, आवधिक गृह मार्फत सुरक्षित आवसीय सेवा, मनोसामाजिक परामर्श, कानूनी सहायता र स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।
साथै, मानव बेचबिखन र अन्य लैंगिक हिंसाबाट प्रभावित महिला तथा बालबालिकालाई समेत पुनर्स्थापना गर्ने कार्य गर्दै आएको सुपरभाइजर गोमाले बताइन्।
सन् २०२४ मा सीमा निगरानीका क्रममा रोकिएका १ सय ३० जनामध्ये २ जना भारतीय थिए। १ सय २८ जना मध्ये कोशी प्रदेशका १६ जना, मधेश प्रदेशका ५० जना, बागमती प्रदेशका २९ जना, गण्डकी प्रदेशका १३ जना, लुम्बिनी प्रदेशका १३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशका क्रमशः ५ र २ जना छन्।
सुपरभाइजर गोमाले दिएको जानकारी अनुसार कोशी प्रदेशबाट अर्केष्टा नाचमा जानका लागि भनेर किशोरीहरू बढी आउने गरेका छन् भने मधेसबाट प्रेम विवाहको बहानामा भारतीय युवकले युवती लैजान्छन्। बाँकी प्रदेशबाट नेटवर्किङ कम्पनीमा काम गर्न जाने भनेर बढी आउने गरेका छन्।
‘पूर्वका जिल्लाबाट अर्केष्टामा जान भनेर बढी किशोरीहरू आउँछन्। उनीहरूलाई अर्केष्टाको बारेमा जानकारी नै नहुने गरेको पाएका छौं,’ उनले भनिन्, ‘केटाको नाम, थर र ठेगाना समेत थाहा नपाएकाहरू प्रेम विवाहका लागि भनेर भारत जान खोज्दा रोकेका छौं, अधिकांश १८ वर्षभन्दा कम उमेरका हुन्छन्।’
मधेसबाट पश्चिमतिरका जिल्लाबाट आउनेहरू नेटवर्किङ कम्पनीमा रोजगारीका लागि जाने गरेका छन्।
पुना, मुज्जफरपुर लगायत स्थानका नेटवर्किङ कम्पनीमा जान लागेको उनीहरूले बताउने गरेका छन्।
नारायणी अस्पतालमा एकद्वार संकट व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि स्वास्थ्य उपचार सेवामा सहयोग पुगेको बताउँदै सुपरभाइजर गोमाले जिल्लामा सेफ हाउस नहुँदा भने लैंगिक हिंसा प्रभावितलाई लामो समय राख्नुपर्दा समस्या हुने गरेको बताइन्।