ओखलढुंगामा दम्पतीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
माघ १२ गते चिशंखुगढी गाउँपालिका-६ बोहोरेमा ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी ८० वर्षीया चन्द्रमाया राईको हत्या भएको थियो।
उक्त हत्या आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दुई जनालाई पक्राउ गरेको हो।
चन्द्रबिक्रमको घरको दोस्रो तलाको खाटमा सिरक ओडिरहेकै अवस्थामा र चन्द्रमायाको भुईमा शव फेला परेको थियो।
उनीहरूको हत्या गरेको आरोपमा प्रहरीले ओखलढुंगाकै ३४ वर्षीय धनबहादुर राना मगर र १७ वर्षीय नाबालक पक्राउ परेका हुन्।
दुबै जनालाई काठमाडौंको डल्लु लगतीर्थमार्गबाट शुक्रबार पक्राउ गरेको सिआइबी प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए।
हत्याका लागि उनीहरूले कोदालोको प्रयोग गरेको पनि प्रहरीको भनाइ छ।
प्रहरीले उनीहरूको डल्लुस्थित डेराबाट चन्द्रमायाको मोबाइल, १५९ वटा रिचार्ज कार्ड पनि बरामद गरेको छ। त्यस्तै मृतकको गहना पनि बरामद गरेको छ।
चन्द्र विक्रमले प्रयोग गर्ने मोबाइल काभ्रेको पशुपति टोलस्थित आफन्तको घरबाट बरामद भएको थियो।
सुरूमा कोशी प्रदेश र जिल्ला प्रहरी कार्यालयको टोलीले अनुसन्धान गरिरहेको थियो। माघ १९ गते विज्ञको माग भएपछि सिआइबीको टोली खटिएको थियो।
एसएसपी श्रेष्ठका अनुसार धनबहादुरले लुटपाट गर्ने योजना काठमाडौंबाट बनाएका थिए। उनले १७ वर्षीय नाबालकलाई काठमाडौंबाटै घटनास्थलसम्म लगेका थिए।
गाउँलेले उनीहरूलाई पहिचान गर्न सक्ने भएकाले रातको समयमा बोहोरेमा पुगेर राति नै हत्या तथा लुटपाट गरी फर्किएका थिए।
घटनापछि थाहा पाउनसक्ने भएकाले भाग्दा अर्कै बाटोको प्रयोग गरेका थिए। बसको टिकट काट्दा पनि आफ्नो वास्तविक नाम लुकाएको अनुसन्धानमा खुलेको छ।