पर्सामा सशस्त्र र स्थानीय व्यापारीबीच झडप भएको छ।
वीरगन्ज महानगरपालिका-१० आदर्शनगरस्थित एउटा गोदाममा छापा मार्न गएको सशस्त्र प्रहरी र स्थानीय व्यापारीबीच झडप भएको हो।
सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार आदर्शनगरस्थित मदन प्रसाद गुप्ताको घरमा अवैध रूपले गोदाम गरेर राखिएको कपडा बरामद गर्नेका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोली खटिएको थियो।
कपडा बरामदपछि व्यवसायीहरू आक्रमणमा ओर्लिएका थिए।
तस्कर समूहको ढुंगामुढा प्रहारबाट सशस्त्र प्रहरी बल नेपालको एउटा वानटन र एउटा गाडीमा समेत क्षति पुगेको छ डिएसपी थापाले जानकारी दिए।
छाप मार्ने नाममा कागजपत्र भएको सामाग्री बरामद गरेर सशस्त्र प्रहरीले दुःख दिएको आरोप व्यापारीहरुको छ।
सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा बल, वीरगञ्ज भन्सार प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीका अनुसार विशेष सूचनाका आधारमा भन्सार सहितको टोली सोमबार बिहान आदर्शनगर स्थित बबिता इन्टरप्राईजेजमा छापा हान्न पुगेको थियो।
‘रुन्चे’ भनिने मदन प्रसाद गुप्ताको घरमा प्रमोद कुमार कानुले सो इन्टरप्राईजेज सञ्चालन गर्दै आएका थिए ।
‘फर्म मालिकसँग मुचुल्का गरेर सटर खोलेका थियौं, बिल अनुसारको सामान थियो। तर स्पेसिफिकेसन अर्कै भेटियो,’ उनले भने, ‘त्यसपछि हामीले सामान गाडीमा हाल्न लगायौं, अगाडि बढ्न खोज्दा व्यापारीका समर्थकहरुले आक्रमण गरे।’
उनका अनुसार सशस्त्रले आइतबार वीरगन्ज पिप्रा चोकबाट भिसिटिएस कागजात बिनाको ना ३ ख ५२५० नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो।
७१ लाख रुपैयाँ भन्दा बढीको हार्डवेयर सामाग्री भएको ट्रक आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको उनले बताए।
पोखरा जाँदै गरेको उक्त गाडी जयमाँ दुर्गा ट्रान्सपोर्टबाट छुटेको थियो।
‘हिजो हामीले मदन जीको भिसिटिएस कागजात बिनाको ट्रक नियन्त्रणमा लिएर पथलैया पठाएका थियौं, आज घरमा भएको इन्टरप्राईजेजमा छापा हान्न गयौं । त्यसैको आक्रोशमा मानिसहरू जम्मा पारेर आक्रमण गर्ने कार्य भयो,’ उनले भने।