प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले एआई तथा एड्भान्स एनालेटिक सेल गठन गर्न लागेको बताएका छन्।
सूचना प्रविधिको दुरूपयोग गरेर झुटा सामग्री प्रसारण गर्ने कामले बढावा पाएकाले त्यस्ता गतिविधिलाई निगरानी गर्न र कानूनी उपचारका लागि पनि नेपाल प्रहरीले सो सेवा गठन गर्न लागेको उनको भनाइ थियो।
सोमबार काठमाडौंमा आयोजित अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक एक दिवसीय अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले छिटो सूचना दिने प्रतिष्पर्धा र होडबाजीका कारण मुलुकमा झुटा र गलत समाचारले बढावा पाइरहनु चिन्ताको विषय भएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्दै लैजाने काममा नेपाल प्रहरी र सञ्चारकर्मीहरूले बलियो सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।
प्रहरी महानिरीक्षक कार्कीले राष्ट्रिय सुरक्षाको मर्मलाई सञ्चारकर्मीहरूले आफ्नो धर्मको रूपमा आत्मसात गर्न जरूरी रहेको पनि बताए।
उनले भने, ‘आजको डिजिटल युगमा सबभन्दा छिटो सूचना दिने प्रतिष्पर्धा र होडबाजीका कारण मिस इन्फरमेसन हुने, इरादा फरक भएर डिसइन्फरमेसन हुने, हेट स्पिच एआईको दुरूपयोग तथा डिजिटल म्यानुपुलेसनबाट सृर्जित झुटा सामग्रीले बढवा पाइरहनु हामी सबैका लागि साझा चिन्ताको विषय हो।’
उनले अगाडि भने, ‘कानून कार्यान्वयन नै कानूनी शासनको आधार हुने हुँदा कटपेष्ट, कपीपेष्ट को यान्त्रिकतामा सृजनशीलताको शून्यता हुन्छ। राष्ट्रिय सुरक्षाको मर्मलाई सञ्चारकर्मीहरूको धर्मको रूपमा आत्मसात हुनका लागि पनि यो आजको अन्तर्क्रियात्मक कार्यक्रमले एउटा मार्गदर्शन तयार गर्नेछ भन्ने हाम्रो स्वाभाविक अपेक्षा छ। यस किसिमका गतिविधि, निगरानी र कानूनी उपचारका लागि नेपाल प्रहरीले पनि अव एउटा एआई र एड्भान्स एनालेटिक सेल बनाएर काम गर्नुपर्छ भन्ने तर्फको निचोडमा हामी पुग्ने अवस्थामा छौं।’
प्रहरी महानिरीक्षक कार्कीले अपराध अनुसन्धानमा नकारात्मक प्रभाव पर्ने खालको समाचार सम्प्रेषण हुन नदिने कुरामा पनि सञ्चार माध्यमहरूले सचेत भएर काम गर्नुपर्ने बताए। –न्युज एजेन्सी नेपाल