बहुचर्चित ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेतीलाई जिल्ला अदालत मोरङले तोकेको सजाय उच्च अदालत विराटनगरबाट सदर भएको छ।
आइतबार न्यायाधीशहरू महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको इजलासले गोरेलाई जिल्ला अदालत मोरङले तोकेको सजायलाई नै सदर गरेको सूचना अधिकारी सन्तोष पोखरेलले जानकारी दिए।
मोरङ अदालतले गोरेलाई सनमको अपहरण तथा शरीर बन्धक मुद्दामा १० वर्ष कैद, एक लाख जरिवाना र सनमको परिवारलाई १३ लाख ११ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो। त्यस्तै, सनमको हत्या अभियोगमा जन्मकैद समेत सुनाएको थियो। अहिले त्यही कसुर सदर भएको हो।
प्रहरीले सुन तस्करी प्रकरणमा ७७ जनालाई प्रतिवादी बनाएको थियो।
त्यसमध्ये केही प्रतिवादीको हकमा भने सजाय थपघट भएको सूचना अधिकारी पोखरेलले बताए।
उनका अनुसार कृष्ण भन्ने नरेन्द्र कार्की, मोहन काफ्ले, भोजराज भण्डारीको हकमा सजायमा केही उल्टी भएको हो।
‘उहाँहरूको हकमा २० वर्ष कैद भएको थियो। अहिले उच्च अदालतले १० वर्षको कैद कायम गरेको हो। त्यो भनेको अब उहाँहरूले १० वर्ष कैद भुक्तान गरे पुग्यो,’ उनले भने।
त्यस्तै मदन प्रसाद घिमिरेको हकमा पनि केही उल्टी भएको हो।
उनको हकमा जिल्ला अदालत मोरङले ६ महिनाको कैद तोकेको थियो। अहिले उच्च अदालतले उनको हकमा ३ वर्ष कैद तोकेको हो।
‘उहाँको हकमा ३ वर्ष कैद तोकिएको हो। अरू सबैको सुरूकै अदालतले तोके अनुसारको सजाय र फैसला सदर भएको हो,’ उनले भने, ‘यस घटनाका मुख्य अभियुक्त गोरेको हकमा पनि पहिलेकै सदर भएको हो। कुनै परिवर्तन छैन।’
२०७४ माघ ९ गते आयात भएको साढे ३३ किलो सुन हराएपछि खोजी गर्ने क्रममा गोरेसहितको समूहले फागुन १८ गते सनम शाक्यको हत्या गरेको थियो। तर, तस्करी भएको सुन बरामद भएकोले सो मुद्दामा भने सबैले सफाइ पाएका छन्।