दार्चुलामा प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
दार्चुला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार हवल्दार घर्तीको हत्या घटनामा संलग्नमध्ये ४१ वर्षीय राजेन्द्र डडाललाई मंगलबार राति नियन्त्रणमा लिइएको हो। त्यसपूर्व नै ४० वर्षीया मनमती आउजी, २६ वर्षीया दीपिका फर्सवान र एक नाबालकलाई घटना अनुसन्धानका लागि नियन्त्रणमा लिइएको थियो।
हवल्दार घर्ती हत्या घटनामा संलग्नमध्ये अन्य केही फरार रहेको हुँदा खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक भट्टले सेतोपाटीलाई बताए।
हत्या गरिएका हवल्दार सामुदायिक प्रहरी बंगाबगरमा कार्यरत थिए।
उनी मंगलबार बिहान तल्लो बंगाबगर बजारको होटलको पछाडि मृत अवस्थामा फेला परेका थिए।
महाकाली नगरपालिका–४ का स्थानीय हवल्दार घर्तीको टाउकोमा घाउ खत थियो।
प्रहरी निरीक्षक भट्टका अनुसार हवल्दार घर्तीमाथि धारिलो हतियार प्रहार हुनुका साथै कुटपिट पनि भएको थियो।
घर्ती हत्या घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भट्टले जानकारी दिए।