भक्तपुरमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका दुई जनामाथि छुरा प्रहार भएको छ।
मध्यपुर थिमि नगरपालिका-१ मनोहरा बस्तीमा २० वर्षीया वेलिना राई र १९ वर्षीय काशी तामाङमाथि एक समूहले छुरा प्रहार गरेको हो।
सोमबार साँझ उनीहरूमाथि एक समूहले छुरा प्रहार गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी प्रकाश जबेगुले जानकारी दिए।
उनका अनुसार वेलिनालाई छुरा प्रहार गरिएको हो भने काशी घाइते भएकी छन्।
अहिले उनीहरूको भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको छ।
'उनीहरूमाथि कुटपिट गर्नेविरूद्ध मायाको पहिचान नेपालले तीन जनाविरूद्ध कर्तव्य ज्यान उद्योगमा उजुरी दिएका छन्,' उनले भने, 'हामीले उक्त उजुरीका आधारमा तीन जनलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएका छौं।'
मायाको पहिचान नेपालले मंगलबार जिल्ला प्रहरी परिसरमा उजुरी दिएको हो। सोही उजुरीको आधारमा तीन जनलाई पक्राउ गरिएको डिएसपी जबेगुले जानकारी दिए।
कैलाली लम्कीचुहा नगरपालिका-६ घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली बस्ने ३० वर्षीय दिपेन्द्र बिष्ट, शिवन थापामगर, अरवाज वक्सलाई पक्राउ गरिएको हो।
वेलिना सोमबार साँझ ६ बजेतिर पैदल हिँडेर घर जाँदै थिइन्। उनलाई एक्कासि शिवनले निधारमा हातले हानेर छिटो-छिटो हिँड्दै थिए। १०/१५ पाइला हिँडेपछि फुटपाथमा लडेको जाहेरीमा उल्लेख गरिएको छ।
'शिवन लडेपछि उठाउन गएको थिएँ। तर रक्सीले मातेको भएकाले उठाउन सकिनँ,' वेलिनाले जाहेरीमा भनेकी छन्, 'त्यसपछि प्रहरीलाई खबर गरिदिएको हो।'
प्रहरी घटनास्थलमा आइपुगेपछि उठाएर उनलाई सम्झाइ-बुझाइ गरी पठाएको थियो।
सोही साँझ ९ बजेतिर वेलिना ६/७ जना साथीहरूसँग मनोहरा बस्तीको एक क्याफेमा बसिरहेको बेलामा शिवन समूह लिएर आई एक्कासि गालीगलौज गर्न थालेको जाहेरीमा उल्लेख गरिएको छ।
'गालीगलौज मात्र गरेनन्। शिवनले इँटा ढुंगा टिपेर प्रहार गर्न थालेपछि हामी घाइते भयौं,' जाहेरीमा उल्लेख छ, 'त्यही झडपमा छुरा प्रहार भयो।'
वेलिना र काशी तामाङसँगै उनका साथीहरू भने सामान्य घाइते भएको डिएसपी जगेबुले जानकारी दिए।
उक्त घटनालाई व्यक्तिगत हिंसाको रूपमा मात्र नभई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमाथि लक्षित घृणाजन्य अपराध (हेट क्राइम) को रूपमा लिएको मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले जानकारी दिए।
कुटपिट गर्नेहरू धेरै जना भएकाले घटनामा संलग्न थप व्यक्तिहरूलाई पनि पक्राउ गर्नुपर्ने उनले बताए।