हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
बिहीबार बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको छ भने बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो रहने पूर्वानुमान छ।
त्यस्तै कोशी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र तराई भू-भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
दिउँसो कोशी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको थोरै स्थानहरुमा साथै बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
बिहीबार राति तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहने पूर्वानुमान छ।
त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।