कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाको घरमा भएको तोडफोड र लुटपाटको घटनामा पाँच जनाविरूद्ध मुद्दा दर्ता भएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयले माघ २९ गते जिल्ला अदालत काठमाडौंमा पाँच जनाविरूद्ध आपराधिक उपद्रव तथा चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको हो।
जिल्ला सरकारी वकिलको कार्यलयले काठमाडौं महानगरपालिका-४ बासबारीका ३५ वर्षीय सुजन डंगोल, काठमाडौं महानगरपालिका-३ का ३५ वर्षीय विवेक थापा, धादिङको ज्वालामुखी गाउँपालिका-१ का ३३ वर्षीय गोपाल थापा, गोरखाको गोरखा नगरपालिका-६ का २५ वर्षीय रोजिस घिमिरे र धनकुटाको महालक्ष्मी नगरापालिका-३ का ३० वर्षीय प्रज्वल रोगूविरूद्ध मुद्दा दायर गरेको हो।
जेनजी आन्दोलन क्रममा भदौ २४ गते सम्भव सिरोहियाको काठमाडौं महानगरपालिका-४ मण्डिखाटारस्थित घरमा तोडफोड र लुटपाट भएको थियो।
सिरोहियाले धातु, गरगहना चोरी, घर तथा सवारी साधनमा तोडफोडबाट १४ करोडभन्दा बढी क्षति भएको र सो बराबरको क्षतिपूर्ति माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उनीहरूविरूद्ध जाहेरी दिएका थिए।
सिरोहियाको जाहेरीका आधारमा प्रहरीले पाँचै जनालाई माघ ४ गते काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको थियो।
उनीहरुको साथबाट लुटिएको चाँदीका सिक्का र अन्य गरगहना समेत प्रहरीले बरामद गरेको थियो। प्रहरीसँग बयानमा पनि उनीहरूले आरोप स्वीकार गरेका थिए।
बयानका क्रममा पाँचै जनाले भदौ २४ गते राति १० बजेतिर हिँडिरहेको अवस्थामा उक्त घर तोडफोड गरिएको अवस्थामा लथालिंग अवस्थामा देखिएपछि त्यहाँ प्रवेश गरेको बताएका छन्।
उनीहरूले त्यो घर सम्भव सिरोहियाको हो भन्ने कुरा पनि आफूहरूलाई पछि मात्रै थाहा भएको बताएका छन्।
उनीहरूले विवेक र प्रज्वल घरभित्र छिरेको, बाँकी बाहिरै बसेको र उनीहरूले घरबाट बोराभित्र रहेको टिनको बक्सा लिएर आएको बताएका छन्। टिनको बक्सालाई खाली जग्गामा लगेर खोलीहेर्दा कान्तिपुर लेखेको चाँदीको जस्तो देखिने सिक्काहरू, क्यामेरा र अन्य गरगहनाहरू भेटिएको पनि उनीहरूले बताएका छन्।
उनीहरूले उक्त बक्सालाई विवेककै डेरामा राख्न लगाएका थिए। पछि उक्त बक्सा प्रहरीलाई नै फिर्ता गर्ने भनेर चक्रपथ युवा क्लबका अध्यक्ष विकास गुरूङमार्फत १८ किलो चाँदीको सिक्का महाराजगन्ज प्रहरीलाई बुझाइएको पनि उनीहरूले बयानमा बताएका छन्।
त्यसपछि आ-आफ्नो काममा लागेको उनीहरूले बताएका छन्।
प्रहरीले माघ ४ गते सुरूमा काठमाडौं महानगरपालिका-४ स्थित सुजन डंगोलको कोठामा खानतलासी लिएको थियो। त्यहाँबाट कान्तिपुर लेखिएको चाँदीको सिक्का बरामद भएपछि उनलाई पक्राउ गरेको थियो। सुजनलाई पक्राउ गरेपछि उनीसँग सोधपुछ गरी प्रहरीले थप ४ जनालाई पक्राउ गरेको थियो।
जिल्ला सरकारी वकिल कार्यालयले आरोपीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा २५८ को उपदफा ३ को खण्ड घ बमोजिम सजाय माग गरेको छ।
साथै आरोपीहरूले फिर्ता गरेको १८ किलो चाँदीको मूल्य घटाएर हुन आउने १४ करोड २५ लाख ५८ हजार १५७ रूपैयाँ क्षतिपूर्ति पीडितलाई दिलाउन पनि मागदाबी गरेको छ।