सशस्त्र प्रहरी बल, नेपालले सुनसरीबाट पेस्तोलसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
सशस्त्रका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार इटालीमा बनेको पेस्तोल र सोको तीन राउन्ड गोलीसहित ३६ वर्षीय राम थेलन पासवान पक्राउ परेका हुन्।
भारतको अररिया ग्राम पञ्चायत–४ निवासी रामलाई सुनसरी गाउँपालिका–३ जमुवा स्थित सीमा नाकाबाट निर्वाचन क्षेत्र सुरक्षा बेसले शुक्रबार साँझ नियन्त्रणमा लिएको हो।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका रामको साथबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ १०० ग्राम, ७००५ रूपैयाँ, ९३८० भारू र मोटरसाइकल बरामद गरिएको छ।
नियन्त्रणमा लिइएका रामलाई बरामद सामग्रीसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको डिएसपी थापाले जानकारी दिए।
त्यस्तै सीमा नाकामा कडाइ गर्न डिआइजी मनिष थापाले निर्देशन दिएका छन्।
निर्वाचनलाई लक्षित गर्दै सीमा नाकामा उच्च सतर्कता अपनाउन निर्देशन दिएसँगै सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी अन्तर्गत सीमानाकामा जाँचलाई तीव्रता दिइएको छ।
सोही क्रममा हतियारसहित व्यक्तिलाई नियन्त्रणमा लिन सफलता मिलेको डिएसपी थापाले बताए।
डिआइजी थापाले इलाम, झापा, मोरङ र सुनसरी जिल्लाका सीमानाकाको स्थलगत अनुगमन गर्दै सीमाबाट हुने अवैध क्रियाकलापमा निर्मम ढंगले लाग्न मातहतका सबै युनिटलाई निर्देशन दिएका छन्।