वीर अस्पतालको युरोलोजी विभागको ओपिडीमा एक ६० वर्षीय पुरूष छटपटाउँदै आए।
ओपिडीमा अरू बिरामी हेरेपछि मिर्गौला रोग विशेषज्ञ डा. रबिन बस्नेतले उनलाई जाँचे।
मूत्रनलीमा सानो ढुंगा बसेको रहेछ। डा. बस्नेतले केही औषधि लेखिदिए र दैनिक ३–४ लिटर पानी पिउन भने।
सँगसँगै यो पनि भने, 'आत्तिनुपर्ने कुरा केही छैन।'
त्यही रात ९ बजेतिर तिनै पुरूष वीर अस्पतालको इमर्जेन्सीमा भर्ना भएछन्।
आफैले जाँचेको बिरामी एक दिन नबित्दै इमर्जेन्सीमा भर्ना हुन आएपछि डा. बस्नेत ती बिरामीलाई भेट्न गए र सोधखोज गरे।
बिरामीकी श्रीमतीको कुरा सुनेर उनी चित खाए।
भएको के रहेछ भने, बिहान डा. बस्नेतसँग उपचार गराएपछि उनीहरू औषधि किन्न पसलमा गएछन्। त्यहाँ पसलेले भनेछन्, 'तीन–चार लिटर पानी पिउनुभन्दा बियर खायो भने यति सानो पत्थरी त एकैदिनमा जान्छ।'
बिरामी पुरूष पुरेत्याइँ गर्दा रहेछन्। जीवनमा कहिल्यै रक्सी खाएका थिएनन्। औषधि पसलेको कुरा सुनेपछि उनकी श्रीमतीले घर पुगेर बियर खुवाइछन्।
'थोरै होइन, एकैचोटि ६ बोतल बियर खुवाइदिनुभएछ,' डा. बस्नेतले भने, 'जीवनमा पहिलो पटक, त्यो पनि एकैचोटि त्यति धेरै बियर खाँदा 'अल्कोहल पोइजनिङ' नै भएछ। सास फेर्न गाह्रो भएपछि रातारात अस्पताल ल्याउनुभएछ। उहाँलाई लामो समय अस्पताल भर्ना गरेर उपचार गरेपछि मात्र ठिक भयो।'
वीर अस्पतालका कन्सल्टेन्ट युरोसर्जन तथा युरोलोजी विभाग प्रमुख डा. बस्नेतले आफ्नो १५ वर्षको अनुभवका आधारमा बिरामीले मुख्यगरी १० वटा गल्ती गर्ने बताए र तिनको विस्तारपूर्वक वर्णन गरे।
त्योभन्दा अगाडि हामी मिर्गौलामा हुने पत्थरीबारे चर्चा गरौं।
मिर्गौलाका धेरै काममध्ये पिसाब बनाउने र रगत सफा गर्ने मुख्य हुन्। यसले शरीरमा रहेका फोहोर र बढी भएका तरल पदार्थलाई पिसाबका रूपमा बाहिर फाल्छ। मुटुले मिर्गौलालाई रगत पठाउँछ र मिर्गौलाले त्यसलाई सफा गरेर फेरि मुटुमै पठाउँछ। यस क्रममा मिर्गौलाले करिब ३० मिनेटमा शरीरका सबै रगत सफा गर्छ। यसरी सफाइ गरेपछि फोहोर पदार्थ पिसाबका रूपमा मूत्राशय हुँदै मूत्रथैलीमा जम्मा हुन्छ।
यसबाहेक मिर्गौलाले रातो रक्तकोषिका उत्पादन नियन्त्रण गर्नुका साथै रक्तचाप सन्तुलित राख्न मद्दत गर्ने हर्मोन निष्कासन र शरीरमा हुने पोषक तत्त्वहरू क्याल्सियम र पोटासियमको मात्रा नियन्त्रणको काम पनि गर्छ।
अब कुरा गरौं, मिर्गौलामा पत्थरी कसरी बन्छ?
त्यसो त पत्थरी शरीरका अन्य अंगमा पनि हुन्छ। तर यहाँ हामी मिर्गौलाको पत्थरीबारे मात्र चर्चा गर्नेछौं।
डा. बस्नेतका अनुसार पत्थरी भनेको ढुंगा नै हो। यो हामीले बाहिर देख्ने प्राकृतिक ढुंगाजस्तै हुन्छ, तर बनोट फरक हुन्छ। अस्वस्थ खानपिन र जीवनशैलीले पत्थरीको समस्या आउँछ। खासगरी शरीरमा नुनको मात्रा बढी हुँदा पत्थरीको सम्भावना बढ्ने बस्नेत बताउँछन्।
यसलाई सजिलोसँग यसरी बुझौं — एक गिलास पानीमा एक चम्चा नुन आरामले घुलिन्छ। तर त्यही एक गिलास पानीमा नुनको मात्रा थपिरह्यौं भने घुलिन गाह्रो हुन्छ र क्रमशः थिग्रिँदै जान्छ।
यो उदाहरण नेपाली भान्सामा ठ्याक्कै मिल्छ। हाम्रो भान्सामा पाक्ने खानेकुरामा नुनको मात्रा बढी हुन्छ। दालमा नुन, तरकारीमा नुन, अचारमा नुन, अझ तरकारी दुई–तीन थरीको छ भने त झन् बढी नुन; यी सबै परिकारमा हुने नुनको मात्रा जोड्दा हामी शरीरलाई चाहिनेभन्दा बढी नुन सेवन गरिरहेका हुन्छौं। यसबाहेक हामीले खाने विभिन्न 'जंक फुड' मा पनि नुनको मात्रा बढी हुन्छ।
यसरी हरेक दिन बढी नुन खाँदा त्यो शरीरमा घुलिँदैन, पिसाबका रूपमा बाहिर पनि जाँदैन; बरू ठोस वस्तुका रूपमा मिर्गौलमा जम्मा हुन थाल्छ। यो क्रम बढ्दै जाँदा ढुंगा कडा हुन्छ र मिर्गौलाका विभिन्न भागमा बस्छ।
'शरीरमा पानीको मात्रा कम भए पनि हामीले खाएका खानाबाट निस्किने विकार पदार्थहरू थिग्रिएर ढुंगा बन्छ,' डा. बस्नेतले भने, 'खुर्सानी, रामतोरिया, भन्टा, काँक्रो लगायत बियाँ धेरै भएका खानेकुरा अत्यधिक खाँदा पत्थरीको जोखिम बढ्छ। पालुंगो साग धेरै खायौं भने पनि पत्थरी हुन सक्छ।'
गेडागुडी, बदाम, ओखर, रायोको साग, डार्क चकलेट, कार्बोनेटेड ड्रिंक्स, अत्यधिक प्रोटिन भएका खानेकुरा बढी खाँदा पनि पत्थरीको सम्भावना बढी हुन्छ।
'यसको मतलब यी खानेकुरा खानै हुँदैन भन्ने होइन। साग, गेडागुडीका अनेक फाइदा छन्, तर धेरै खायो भने त अमृत पनि विष हुन्छ। त्यसैले जे पनि ठिक्क मात्रामा खानुपर्छ,' उनले भने।
लामो समय कुर्सीमा बसेर काम गर्नेहरू जसले शारीरिक व्यायाम गर्दैनन् र खानपान पनि अस्वस्थ छ भने पत्थरीको जोखिम बढ्ने डा. बस्नेत बताउँछन्।
अब हामी पत्थरीले कसरी मिर्गौला 'फेलियर' गर्छ भन्नेबारे चर्चा गरौं।
मिर्गौलाले जे काम गर्नुपर्ने हो, त्यो गर्न नसक्ने अवस्थालाई फेलियर भनिन्छ। बिकार पदार्थ छानेर पिसाबमार्फत् शरीरबाट बाहिर निकाल्न नसक्नु मिर्गौला फेलियर हो। यो त्यति बेला हुन्छ, जब मिर्गौलामा रहेका ढुंगा पिसाबबाट बाहिर निस्किने क्रममा मूत्रनलीमै अड्किन्छ। त्यसले मूत्रनली बन्द गराइदिन्छ र पिसाब बाहिर जान पाउँदैन।
यो समस्या समयमै पहिचान भए मिर्गौला बिग्रिन पाउँदैन। तर मूत्रनलीमा ढुंगा अड्केको छ भन्ने बिना उपचार थाहा नहुन सक्छ।
यसका दुई कारण छन् —
पहिलो, एउटा मिर्गौलाको मूत्रनलीमा ढुंगा अड्केर मुख थुनियो भने पनि अर्को मिर्गौलाले काम गरिरहेकै हुन्छ।
दोस्रो, क्याल्सियम अक्जालेट ढुंगा छ भने बिरामीले दुखाइ महसुस गर्छन्, तर फसफोरस ढुंगा छ भने दुखाइ महसुस पनि हुँदैन।
डा. बस्नेतका अनुसार पिसाबको मात्रा कम हुनु मिर्गौला बिग्रिएको पहिलो संकेत हो। पिसाबको रङ परिवर्तन हुने र गन्ध आउने समस्या पनि देखिन्छ। कहिलेकाहीँ पिसाबमा रगत देखिन सक्छ। त्यस्तै, रक्तचाप बढ्नु, सास फेर्दा स्याँस्याँ हुनु, शरीर सुन्निनु, छालामा चिड्चिडाहट हुनु, बान्ता हुनु लगायत मिर्गौला बिग्रिएका लक्षण हुन्।
सामान्यतया शरीरमा क्रेटिनिनको मात्रा १.२ देखि १.४ मिलिग्राम प्रतिडेसिलिटर हुन्छ। यो मात्रा थोरै बढ्यो भने पनि मिर्गौलामा समस्या देखिन थाल्यो भनेर बुझ्नुपर्छ। मिर्गौला जति बिग्रिँदै गयो क्रेटिनिनको मात्रा उति बढ्दै जान्छ। समस्या बढ्दै गएर मिर्गौलाले कामै गर्न नसक्ने अवस्था आयो भने डायलासिस र प्रत्यारोपण गराउनुपर्छ।
अब हामी मिर्गौलामा पत्थरी भएका बिरामीले गर्ने मुख्य १० वटा गल्ती के–के हुन्, त्यसबारे चर्चा गरौं।
-1721919811.jpg)
पहिलो गल्ती
डा. बस्नेतका अनुसार अधिकांशलाई शरीरको कुन भागमा मिर्गौला हुन्छ भन्ने नै थाहा हुँदैन। धेरैलाई यो पेटमा हुन्छ कि भन्ने लाग्छ।
'करङभन्दा मुनिको भाग दुख्न थाल्यो भने मिर्गौलाको दुखाइ हो कि भन्ने धेरैको बुझाइ छ,' डा. बस्नेतले भने, 'तर मिर्गौला पछाडि ढाडतिर बसेको हुन्छ र सामान्य अवस्थामा मिर्गौलाको दुखाइ हुँदैन।'
'मिर्गौला बाहिर एउटा झिल्ली हुन्छ, जसलाई रिनल क्याप्सुल भनिन्छ। दुखाइ त्यसमा हुने हो। मिर्गौलाको मासु फुलेपछि रिनल क्याप्सुल फैलिन्छ र त्यसले टनटन गरेर ढाड दुख्छ,' उनले अगाडि भने, 'ढाड दुखेर आएका बिरामीलाई हामी मिर्गौला जाँच्न पठाउँछौं। यसो गर्दा कति त रिसाउँछन् पनि। ढाड दुखेको मान्छेले मिर्गौला किन जाँच्नुपर्यो भनेर झोक्किन्छन्।'
मिर्गौलाको दुखाइ ढाडबाट सुरू भएर पेटको तल्लो भाग र खुट्टासम्म पुग्ने उनी बताउँछन्।
'ढाडको दुखाइ मिर्गौला समस्याको कारण हुनसक्छ। यस्तो अवस्थामा राम्रो उपचारबिना जथाभाबी औषधि खाइदिँदा मिर्गौलामा थप समस्या देखिन सक्छ,' उनले भने, 'त्यसैले मिर्गौला कहाँ छ भनेर थाहा नहुनु बिरामीको पहिलो गल्ती हो भन्ने मलाई लाग्छ।'
दोस्रो गल्ती
एउटा मिर्गौला बिग्रँदा पनि अर्कोले काम गरिरहने र फसफोरस ढुंगा जमेको अवस्थामा दुखाइ पनि नहुने हुँदा उपचार नगरी मिर्गौला समस्या पहिचान हुँदैन।
रक्तचाप, ढाडको दुखाइ, पिसाबको गन्ध र रङ, स्याँ स्याँ बढ्ने लगायत लक्षण त देखिन्छन्, तर धेरैले यस्ता लक्षण निच मारेर बस्छन्। यस्तो अवस्थामा रोग पहिचान हुँदासम्म ढिला भइसक्छ।
त्यसैले सामान्य अवस्थामा पनि वर्षको कम्तिमा तीनपटक मिर्गौला जाँच गर्नुपर्ने डा. बस्नेत बताउँछन्।
'मेरो विचारमा शरीरले मिर्गौला रोगका केही सामान्य लक्षणहरू देखाउँदा पनि बेवास्ता गर्नु र बेलाबेला मिर्गौला परीक्षण नगराउनु बिरामीले गर्ने दोस्रो गल्ती हो,' उनले भने, 'कति बिरामी अरू नै रोग लिएर आउनुभएको हुन्छ, अल्ट्रासाउन्ड गर्दा मिर्गौला बिग्रिएको देखिन्छ।'
नियमित मिर्गौला जाँच गर्ने हो भने साना–साना समस्या पनि बेलैमा पहिचान हुने र समयमै उपचार गर्न सकिने उनको भनाइ छ।
तेस्रो गल्ती
सन् २०१५ देखि २०१७ सम्म गरिएका मिर्गौला प्रत्यारोपणको अध्ययनबाट के थाहा भएको थियो भने, ८५ प्रतिशत बिरामी आफ्नै हेलचेक्र्याइँका कारण प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुग्छन्। उनीहरूको रोग त बेलैमा पहिचान भइसकेको हुन्छ, तर नियमित फलोअप नगर्दा र उपचारमा लापरबाही अपनाउँदा रोग थप बल्झिँदै गएर प्रत्यारोपण नै गर्नुपर्ने नौबत आउँछ।
'ती तीन वर्षमा जति पनि मिर्गौला प्रत्यारोपण गरियो, तीमध्ये ८५ प्रतिशतले समयमै राम्ररी उपचार गराएका भए प्रत्यारोपणबिनै निको हुन सक्थ्यो,' डा. बस्नेतले भने, 'त्यसैले समस्या थाहा पाएर पनि हेलचेक्र्याइँ गर्नु बिरामीको तेस्रो गल्ती हो।'
डा. बस्नेतले आफ्नो १४ वर्षको अनुभवमा हल न चल भएपछि मात्र अस्पताल ल्याइएका धेरै बिरामीको उपचार गरेका छन्।
तीमध्ये कोही टाढाको गाउँबाट आएका हुन्छन्। गाउँमा स्वास्थ्य उपचार राम्रो नहुन सक्छ। बारम्बार काठमाडौं धाउनुपर्ने बाध्यताले पनि बिरामीले रोग दबाएर राख्छन्। हलचल गर्नै नसक्ने भएपछि मात्र बाध्य भएर उपचार गर्न आउँछन्।
'बिरामीलाई कुन अवस्थामा उपचार गर्न ल्याइयो भन्नेले पनि रोग कति जटिल भइसक्यो र कुन उपचार विधि अपनाउने भन्ने तय हुन्छ,' उनले भने, 'पत्थरीले मिर्गौला बिगारिसकेको छैन भने औषधि खुवाएर र शल्यक्रिया गरेर पत्थरी झिक्नुपर्छ। मिर्गौला नै बिगारिसकेको छ भने प्रत्यारोपणको विकल्प हुँदैन।'
यस्तो अवस्थामा कसैको एउटा मात्र मिर्गौला फाल्नुपर्ने हुन सक्छ भने कसैको दुवै खराब भइसकेको हुन सक्छ। दुवै मिर्गौला बिग्रेका बिरामीका हकमा सकभर एउटालाई थोरै भए पनि काम गर्ने बनाएर नियमित फलोअपमा आउन भनिन्छ।
'कोही कोही बिरामी मिर्गौलाले काम नगरेको र डायलासिस गर्न पनि समस्या हुने अवस्थामा आउँछन्। त्यस्ता बिरामीमा प्रत्यारोपण गर्ने कुरै हुँदैन। मृत्युकै जोखिम हुन्छ,' डा. बस्नेतले भने।
-1721919860.jpg)
चौथो गल्ती
डा. बस्नेतका अनुसार मिर्गौलामा ढुंगा देखिएपछि पनि नियमित औषधि नखानु र नियमित फलोअपमा नआउनु बिरामीको चौथो गल्ती हो।
उनले वीर अस्पतालकै एक महिला बिरामीको घटना सुनाए —
ती बिरामी पिसाबमा समस्या भएपछि अस्पताल आएकी थिइन्। जँचाउँदा दुवै मूत्रनलीमा ढुंगा अड्केको देखियो। उनका दुइटै मिर्गौला फुल्न थालिसकेका थिए। डाक्टरहरूले ढुंगा फुटाउनुपर्ने र त्यसका लागि शल्यक्रिया गर्नुपर्ने सुझाव दिए। केही औषधि लेखेर एक–दुई दिनमै फलोअपमा आउनू भने।
तर ती बिरामी एकैपटक तीन सातापछि अस्पताल आइन्। त्यति बेला उनको शरीर फुल्न थालिसकेको थियो।
'हामीले तुरून्तै भर्ना हुन भन्यौं,' डा. बस्नेतले भने, 'उहाँ परिवारसँग सल्लाह गर्छु भनेर निस्कनुभयो, तर आउनुभएन।'
करिब ७ महिनापछि तिनै महिलाकी छोरी अर्को कुनै बिरामी आफन्त लिएर वीर अस्पताल आइन्। डा. बस्नेतले उनीसँग आमाबारे सोधखोज गरे।
जबाफमा उनले भनिन्, 'आमा त बित्नुभयो।'
बुझ्दै जाँदा के थाहा भयो भने, वीर अस्पतालमा भर्ना हुन भनेपछि उनी थप दुइटा अस्पताल गइछन्। सबैतिर एउटै जबाफ पाएपछि उनले हार मानिछन्। जीउ नै सुन्निन थालेपछि अब 'अन्तिम अवस्था' आयो, उपचार गरेर केही हुँदैन भनेर गाउँ फर्किछन्।
'उहाँले त्यसरी हार नमान्नुभएको भए र तुरून्तै उपचार गराउनुभएको भए बचाउन सकिन्थ्यो,' डा. बस्नेतले भने।
पाँचौं गल्ती
टाउको दुख्दा, दाँत दुख्दा, हातगोडा दुख्दा वा शरीरका कुनै पनि अंग दुख्दा अत्यधिक मात्रामा दुखाइ कम गर्ने औषधि (पेन–किलर) खायो भने त्यसले सिधा मिर्गौलालाई असर गर्ने डा. बस्नेत बताउँछन्।
'पेन–किलरले मिर्गौलाको फिल्टर गर्ने भाग नेफ्रोनलाई हानि पुर्याउँछ। पत्थरीले मिर्गौला बिग्रिरहेको छ र त्यसमाथि पेन–किलर धेरै खायो भने मिर्गौला थप बिग्रन सक्छ,' डा. बस्नेतले भने, 'त्यसैले अत्यधिक मात्रामा पेन–किलर खानु पाँचौं गल्ती हो।'
खासगरी यो समस्या ढाडको दुखाइका बिरामीमा बढी देखिन्छ।
ढाडको दुखाइ आफैमा मिर्गौला समस्याले उत्पन्न भएको हुन सक्छ। यस्तोमा डाक्टरलाई जचाउनुको साटो दुखाइ कम गर्न लगातार पेन–किलर खाइदिँदा मिर्गौलामा जटिल समस्या उत्पन्न हुन सक्छ।
छैटौं गल्ती
डाक्टरको परामर्शबिना जथाभाबी औषधि खानुलाई बस्नेत छैटौं गल्ती मान्छन्।
आज पनि पत्थरीका कतिपय बिरामी आयुर्वेदिक औषधिको भरमा बस्छन्। त्यस्ता औषधिमा स्टेरोइडको मात्रा बढी हुन्छ, जसले पत्थरी निको पार्नु त परै जाओस्, मिर्गौलालाई थप हानि पुर्याउँछ।
'औषधिको उपयोग भनेको मिर्गौलामा जमेको ढुंगा पगालेर बाहिर निकाल्ने हो। जथाभाबी औषधिले ढुंगा पगाल्दैन,' उनले भने, 'कतिपय आयुर्वेदिक औषधिमा हुने स्टेरोइडले मिर्गौलालाई थप असर गरेको पाइएको छ।'
पत्थरीले मिर्गौला खराब हुँदा पिसाब पोल्ने समस्या पनि आउँछ। कतिपय बिरामीले पिसाब नपोलोस् भनेर डाक्टरको परामर्शबिनै औषधि खाइदिन्छन्। यसले मिर्गौलामा थप समस्या ल्याउने डा. बस्नेत बताउँछन्।
-1721919895.jpg)
सातौं गल्ती
बियर खाएपछि बढी पिसाब लाग्छ र त्यसले मिर्गौलामा जमेको ढुंगा बाहिर निस्कन्छ भन्ने भ्रमलाई डा. बस्नेत सातौं गल्ती मान्छन्।
उनका अनुसार पिसाबबाटै बग्ने खालका ढुंगा छन् भने बियर खानैपर्दैन, पानी खाए पनि ढुंगा बगेर गइहाल्छ। जुन ढुंगा मूत्रनलीमा अड्केर बस्छ, त्यसले पिसाब नै रोक्छ। जति बियर खाए पनि मूत्रनली खुल्दैन।
अर्कातिर धूमपान, मद्यपान यसै पनि शरीरका लागि हानिकारक हुन्छन्। मद्यपानले पिसाब बढी लागे पनि त्यसले शरीरका अन्य भागमा असर गरिरहेको हुन्छ। सँगसँगै, अत्यधिक पिसाब लागेपछि शरीरमा पानीको मात्रा कम हुन्छ। त्यसैले मद्यपान गर्नुस् भनेर कुनै पनि डाक्टरले सल्लाह दिँदैन।
'बियर धेरै खाएर ढुंगा जाने होइन, बरू शरीरमा पानीको मात्रा घटेर थप ढुंगा चाहिँ बन्न सक्छ,' डा. बस्नेतले भने।
आठौं गल्ती
डा. बस्नेतका अनुसार सामान्य काम गर्ने ६० देखि ७० किलोका व्यक्तिले दिनको कम्तिमा तीन लिटर पानी खानुपर्छ। पसिना आउने गर्मीको मौसममा पानीको मात्रा अझ बढाउनुपर्छ। शारीरिक श्रम जति धेरै गर्यो, उति बढी पानी खानुपर्छ।
त्यसैले मिर्गौलामा पत्थरी भएका बिरामीलाई डाक्टरहरूले बढी पानी पिउनू भनेर सल्लाह दिन्छन्। तर यहाँ बिरामीले अर्को गल्ती गर्छन्।
डाक्टरले तीन लिटर पानी पिउनू भने पनि त्यो पानी कसरी पिउने बिरामीलाई थाहा हुँदैन। कतिपय बिरामीले एकैचोटि डेढ–दुई लिटर पानी पिइदिन्छन्। यसले थप समस्या निम्त्याउँछ।
'तीन लिटर पानी पिउने नाममा दिनभरि एक थोपा मुखमा नहाल्ने, अनि एकैचोटि डेढ–दुई लिटर खाइदिनु पनि गल्ती हो,' डा. बस्नेतले भने, 'एकचोटिमा १५० देखि ३०० मिलिलिटर पनी पिउनुपर्छ र यही मात्रा मिलाउँदै दिनमा १० देखि १२ पटक पिउनुपर्छ।'
एकैचोटि धेरै पानी पिउँदा एकैचोटि धेरै पिसाब बन्छ। मिर्गौलाले धेरै काम गर्नुपर्छ। अरू बेला चाहिँ शरीरमा पानीको मात्रा कम हुन्छ। यसले ढुंगा बनाउन मद्दत गर्छ।
सामान्यतया एकचोटि पिसाब फेरेपछि त्यसको दुई घन्टापछि मात्र पिसाब आउने हुनुपर्छ। छिनछिनमा पिसाब फेर्नुपर्ने अवस्था पनि सामान्य होइन। दिनको आठचोटि र रातमा एकदेखि दुईचोटि पिसाब फेर्नु सामान्य हो। त्योभन्दा बढी वा त्योभन्दा कम पिसाब फेर्नुपरेको छ भने शरीरमा पानीको मात्रा सन्तुलित छैन वा पानी खाएको मिलेको छैन भन्ने बुझ्नुपर्छ,' उनले भने।
पत्थरी भएका बेला ढुंगा बगेर जाओस् भनेर आवश्यकताभन्दा बढी पानी पिउन नहुने डा. बस्नेत सल्लाह दिन्छन्।
'शारीरिक परिश्रम नगरेका बेला वा अत्यधिक गर्मी नभएका बेला दिनकै ७–८ लिटर पानी खाइदियो भने मिर्गौलाले एकैपटक छान्न सक्दैन। बढी भएको पानी खुट्टामा गएर जम्न थाल्छ। यसले खुट्टा सुन्निन सक्छ। फोक्सोमा पानी जमेर स्याँ स्याँ पनि हुन सक्छ,' उनले भने।
दाल, दूध, दही, मोही जस्ता झोलिलो पदार्थबाट पनि शरीरलाई चाहिने पानीको आपूर्ति भइरहेको हुन्छ। चिसो पेय पदार्थ र इनर्जी ड्रिंक्सहरू भने झोलिलो पदार्थमा पर्दैनन्। किनभने, यिनमा हाम्रो शरीरलाई चाहिनेभन्दा बढी नुन वा चिनी हुन्छ, जसले उल्टै हानि गर्छ।
नवौं गल्ती
मिर्गौलामा जमेका साना–साना ढुंगा औषधिले नै पगाल्छ। तर केही बिरामीले शल्यक्रिया गर्ने इच्छा देखाउँछन् र यसको निम्ति डाक्टरलाई दबाब नै दिन्छन्। यसरी आवश्यकताबिना शल्यक्रिया गर्न खोज्नुलाई डा. बस्नेत नवौं गल्ती मान्छन्।
उनका अनुसार मिर्गौलालाई असर नगर्ने साना ढुंगाहरू पर्याप्त पानी पिउँदा पिसाबबाटै बगेर जान्छन्। अलि ठूला ढुंगा छन् भने मूत्रनली खुल्ने औषधि खानुपर्छ। शल्यक्रिया भने त्योभन्दा ठूलो ढुंगा जमेको अवस्थामा मात्र गर्ने हो।
अहिले पत्थरीको शल्यक्रियामा पहिलेजस्तो चिरफार गर्नुपर्दैन। पिसाब फेर्ने बाटोबाट लेजर रे प्रयोग गरेर ढुंगालाई धुलो बनाइन्छ। फस्फेटजस्ता फोस्रा ढुंगा छन् भने तिनलाई साउन्ड वेभले फुटाएर धूलो पारिन्छ। त्यस्तो धुलो पिसाबबाट सजिलै बाहिर निस्कन्छ।
'चार–पाँच सेन्टिमिटरसम्मको ठूलो ढुंगा छ भने चाहिँ ढाडमा प्वाल पारेर लेजर रे पठाउनुपर्छ,' उनले भने, 'ढुंगाको आकार र त्यो कहाँ बसेको छ हेरेर उपचार पद्धति तय हुन्छ।'
औषधि खाएर निस्कने ढुंगालाई पनि शल्यक्रिया गरियो भने नबिग्रिएको मिर्गौला झन् बिग्रन सक्ने डा. बस्नेत बताउँछन्।
-1721919935.jpg)
दसौं गल्ती
एउटा मिर्गौलाले काम गर्न छाड्यो भने पनि अर्को मिर्गौलाले सामान्य ढंगले काम गरिरहेको हुन्छ भनेर हामीले यसअघि नै चर्चा गरिसक्यौं। तर एउटा मिर्गौला कामै नलाग्ने गरी बिग्रेको छ भने त्यसलाई निकाल्नुपर्छ। निकालिएन भने त्यसले अर्को सद्दे मिर्गौला पनि बिगार्न सक्छ।
यहाँनिर अर्को भ्रम र गल्ती देख्छन् डा. बस्नेत। यो गल्ती मिर्गौला दिने र लिने दुवैबाट हुन्छ।
'दुइटा मिर्गौलामध्ये एउटा दिँदा शारीरिक रूपले कमजोर भइन्छ भन्ने भ्रम धेरैमा छ। तर त्यस्तो होइन,' उनले भने, 'एउटै मात्र मिर्गौलाले पनि दुवै मिर्गौलाको काम गर्छ। यसको बलियो प्रमाण भनेको कतिपय व्यक्तिको जन्मजातै एउटा मात्र मिर्गौला हुन्छ। शल्यक्रिया गर्नुपरेको अवस्थामा मात्र दोस्रो मिर्गौला नभएको थाहा हुन्छ। त्यस्ता व्यक्तिले पनि सामान्य व्यक्तिझैं जीवन बिताइरहेका हुन्छन्।'
आफ्नो स्वस्थ मिर्गौला झिकेर अरूलाई दिने व्यक्ति अस्वस्थ र कमजोर हुन्छ भन्ने मनोविज्ञान पनि गलत रहेको डा. बस्नेत बताउँछन्।
'उसको मिर्गौला पाएर बिरामी स्वस्थ हुन्छ भने ऊ चाहिँ कसरी अस्वस्थ हुन सक्छ?' उनले भने, 'मिर्गौला प्रत्यारोपण गरिएको व्यक्तिमा सुरू–सुरूमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ, तर केही दिनमै सामान्य मानिस सरह क्रियाकलाप गर्न सक्छ।'
कतिपय बिरामीमा मिर्गौला झिकेपछि बर्बाद भइन्छ भन्ने भ्रम छ। त्यो पनि गलत भएको बस्नेत बताउँछन्।
'अस्वस्थ मिर्गौला झिक्दा शरीरलाई हानि हुँदैन, उल्टै फाइदा हुन्छ,' उनले भने, 'प्रत्यारोपण गर्ने भनेको रोग निकाल्ने हो। बरू अस्वस्थ मिर्गौला शरीरमै राख्दा त्यसले अर्को सद्दे मिर्गौला पनि बिगार्न सक्छ।'
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी